१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जगदम्बाको रड उत्पादनमा रोक

डन्डी गुणस्तरहीन भेटिएपछि सरकारले जगदम्बा स्टिललाई रड उत्पादनमा रोक लगाएको छ। गुणस्तरहीन भेटिएको १६ एमएमको ‘टिएमटी बार फी ५००’ रड उत्पादनमा रोक लागेको हो। जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरहीन रड उत्पादन गरेको भेटिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ।

जगदम्बाको १६ एमएम डन्डीको उत्पादन रोक्न निर्देशन दिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए। ‘डन्डीको गुणस्तर कमजोर पाइएपछि उत्पादनमा रोक लगाएका हौं,’ पुडासैनीले भने, ‘गुणस्तरको सुनिश्चितता नहुँदासम्म उत्पादन गर्न पाउँदैन।’ जगदम्बा शंकर ग्रुपअन्तर्गतको उद्योग हो।  

उद्योगले भने कोभिडका कारण प्राविधिक जनशक्ति नहुँदा कमजोरी भएको स्वीकारोक्तिसहितको प्रस्टीकरण विभागमा पेस गरेको छ। ‘उद्योगले आफ्नो कमजोरी स्वीकार गरेको छ,’ पुडासैनीले भने, ‘थप छानबिन भइरहेको छ।’

विभागले यसअघि उक्त लटको रड बिक्रीमा रोक लगाउँदै बजारबाट फिर्ता लिन निर्देशन दिएको थियो। बजारमा करिब ७० टनमात्र रहेको र तीन सय टन रड उद्योगको गोदाममा रहेको उद्योगले जनाएको छ। उद्योगमा रहेको उक्त लटको १६ एमएमको रड स्क्र्याब गर्ने महानिर्देशक पुडासैनीले बताए। ‘उक्त लटको रड अब प्रयोगमा ल्याउन मिल्दैन,’ उनले भने, ‘रडबाट काँटीलगायत अरू सामग्री बनाउन सक्छन्।’

उद्योगले गल्ती भएको स्वीकार गर्दै कोभिडका कारण प्राविधिक जनशक्ति नहुँदा कमजोरी भएको बहाना उल्लेख गरेर प्रस्टीकरण पेस गरेको छ।

गुणस्तरका विषयमा उपभोक्ताको गुनासो आएपछि प्रयोगशालामा परीक्षण गर्दा जगदम्बाको १६ एमएमको टिएमटी बार फीमा न्यून गुणस्तर पाइएको थियो। काठमाडौं महानगरपालिका–१६, खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा डन्डी भाँच्चिएपछि विभागमा उजुरी परेको थियो।

रडमा कार्बनको मान ०.३ प्रतिशत (म्याम्स) हुनुपर्नेमा ०.३५ प्रतिशत, सल्फरको मान ०.०५५ प्रतिशत हुनुपर्नेमा ०.०६ प्रतिशत र बेन्ड टेस्टमा क्र्याक देखिएको थियो। परीक्षण नतिजा नेपाल गुणस्तर १९१ बमोजिम नभएपछि विभागले कारबाही प्रक्रिया अघि बढाएको हो। ‘नेपाल गुणस्तर प्रमाण चिह्न ऐन तथा नियमावली २०४० को नियम (१६) अनुसार कारबाही किन नगर्ने भन्दै विभागले यसअघि उक्त उद्योगले प्रस्टीकरण सोधेको थियो। सल्फर, कार्बनको मात्रा बढी हुँदा रड कडा बन्छ। रडमा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) कम हुँदा बंग्याउँदा भाँचिन्छ।  

गुणस्तरमा हेलचक्र्याइँ गर्ने उद्योगलाई कडा कारबाही गर्नुपर्ने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए। ‘गुणस्तरहीन रड प्रयोग गर्दा दुर्घटनाको जोखिम हुन्छ,’ उनले भने, ‘कमसल रड उत्पादन गर्ने कम्पनीलाई कडा कारबाही गर्नुपर्छ।’

फलामको डन्डी उत्पादन गर्न उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा जगदम्बाले कवाडीमार्फत संकलन गरेका फलामका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको पाइएको छ। जगदम्बा स्टिलको उद्योग बाराको सिमरामा छ। नम्बर वान फलामे छड भनेर दाबी गर्दै आएको जगदम्बाले गुणस्तरमा भने लापरबाही गरेको छ।

जगदम्बा स्टिलका गुणस्तरको विषयमा यसअघि पनि पटकपटक प्रश्न उठेको थियो। जगदम्बालगायत केही उद्योगले टुक्रादेखि, खिया लागेर काम नलाग्ने कवाडी फलाम संकलन र प्रशोधन गरी रड बनाउने गरेका छन्। कवाडी फलाम पगालेर बनाइने रडभन्दा प्राइमरी ब्लेडबाट बनाएको रड गुणस्तरीय हुन्छ। उद्योगले प्रयोग गर्ने कच्चा पदार्थमा पनि ध्यान दिनुपर्ने अधिकारकर्मी तिमिल्सिना बताउँछन्।

प्राइमरी ब्लेडभन्दा सेकेन्डरी ब्लेड प्रयोग गर्दा लागत कम पर्छ। प्राइमरी ब्लेडमा खानीबाट ल्याएको कच्चा पदार्थलाई पहिलोपटक प्रयोगमा ल्याइएको हुन्छ। सेकेन्डरी ब्लेडमा वेस्टेज कवाडी फलाम रिसाइकल गरेर ब्लेड बनाई प्रयोग गरिन्छ। नेपालका अधिकांश स्टिल उद्योगले सेकेन्डरी ब्लेड प्रयोग गर्दै आएका छन्। अधिकांश उद्योगले विदेशका उच्च प्रविधियुक्त कम्पनीले रिसाइकल गरेका ब्लेड ल्याएर प्रयोग गर्छन्। केही स्टिल उद्योगले भने नेपालभित्रै कवाडी फलाम संकलन र प्रशोधन गरी प्रयोग गर्दै आएका छन्। तीमध्ये जगदम्बा पनि एक हो। जगदम्बाले आफैं प्रशोधन गरी ब्लेड बनाएर प्रयोग गर्दै आएको छ। प्राइमरी ब्लेडभन्दा प्रशोधन गरेको ब्लेड किलोमा तीन रूपैयाँ सस्तो पर्छ।

प्रकाशित: २८ भाद्र २०७७ ०१:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App