८ वैशाख २०८१ शनिबार
अर्थ

अर्थमन्त्री खतिवडाकाे विदाइ: अपेक्षा धेरै, औषत नतिजा

फाइल तस्बिर।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘सुखि नेपाली, समृद्ध नेपाल’ सहित आर्थिक समृद्धिको नारालाई सार्थक तुल्याउन अर्थमन्त्री बनाइएका टेक्नोक्र्याट’ युवराज खतिवडा औषत अर्थमन्त्रीका रुपमा विदा भएका छन् ।  

दुई पटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, नेपाल राष्ट्र बैंकको गर्भनर हुँदै अर्थमन्त्री बनेका खतिवडाप्रति राजनीतिक नेतृत्व, निजी क्षेत्र, आम सर्वसाधारणको अपेक्षा पूरा गर्न सकेनन् । खतिवडासँग अपेक्षा धेरै भए पनि औषतमात्र काम गरेको अर्थक्षेत्रका जानकार बताउँछन् ।

प्रधानमन्त्री ओलीले खतिवडा अर्थमन्त्री बनाउँदा ‘सही व्यक्ति सही ठाउँमा’ (राइट म्यान राइट प्लेस) नियुक्ति गरिएको भन्दै जति स्यावासी पाएका थिए । जनता, सत्ताधारीमात्र नभएर विपक्षी दल र निजी क्षेत्रबाट त्यति प्रशंसा नपाई बर्हिगमन भएका छन् ।  

कार्यभार सम्हालेको केही समयमा स्वेतपत्र जारी गरेर पूर्ववत सरकारले ‘अर्थतन्त्र भद्रगोल’ बनाएको ‘फेक तथ्यांक’ प्रस्तुत गरेर झुटको साहरा लिने प्रयास गरेपछि उनको आलोचना सुरु भएको थियो । आफूले उत्कृष्ट कार्यसम्पादन गरेर ‘इमेज’ बनाउनु पर्नेमा दोषारोपण गर्ने प्रयास गरेको आरोप लागेको छ ।

स्वेत्रपत्र जारी गर्दा गल्ती भयो । राष्ट्रिय ऋण बढाउने काम राम्रो भएन । – डा.रामशरण महत, पूर्व अर्थमन्त्री

पूर्व अर्थमन्त्री रामशरण महतले व्यक्तिगत रुपमा खतिवडाको आलोचना गर्नु भन्दा पनि समग्र सरकारले राम्रो गर्न नसकेको बताए । महतले घुमाउरो रुपमा खतिवडाले स्वेतपत्र जारी गर्दा गल्ती गरेको र त्यही बेला आँफूले टिप्पणी गरेको बताए । ‘स्वतेपत्र जारी गर्दा होस् या बजेट बनाउँदा कमजोरीको बारेमा बोलेको छु,’ महतले भने ‘उहाँको पालामा राष्ट्रिय ऋण बढाउने काम राम्रो भएन ।’

व्यक्तिभन्दा पनि सरकारको नीति ठिक नभएको उनले टिप्पणी छ । ‘व्यक्तिको भन्दा सरकारको समस्या हो,’ महतले भने, ‘नेतृत्वमा धेरै कमजोरी देखिएको छ ।’ तर सरकारले आर्थिक विषयमा ज्ञान भएको व्यक्तिलाई नै अर्थमन्त्री बनाउन उचित हुने बताए ।  

खतिवडा अर्थमन्त्रीले अपेक्षा अनुसार काम गर्न नसकेको अर्थविद् डा.विश्व पौडेल टिप्पणी गर्छन् । राजस्व बढाउन ध्यान दिए पनि खर्च बढाउन नसकेको उनले बताए । ‘राजस्व उठाउन केन्द्रित भए पनि सार्वजनिक खर्चलाई बढाउनु सक्नु भएन,’ उनले भने,‘ नयाँ योजना आशा गरिएको थियो ।तर, आएनन् ।’

अपेक्षा अनुसार काम गर्न सक्नु भएन । राजस्व बढाउन ध्यान दिए पनि खर्च बढेन । निजी क्षेत्रलाई उत्साहित गर्न सक्नु भएन ।
– डा.विश्व पौडेल, अर्थविद्

निजी क्षेत्रप्रति अनुदार भएका पौडेलले टिप्पणी गरे । दातृ निकायसँग राम्रो सम्बन्ध राख्न सफल भए पनि वैदेशिक ऋण बा सरकारका अनावश्यक खर्चहरु कम गर्न नसकेको उनले बताए । ‘वित्तीय संघीयता कार्यान्वनयमा पनि सफल हुन सक्नु भएन,’ पौडेलले भने, ‘वित्त आयोगको भूमिका कमजोर बनाइयो ।’ आर्थिक वृद्धि बढाउन नसकेको उनले बताए । महामारीलाई अर्थशास्त्रीय ढंगबाट व्यवस्थापन गर्न सफल नभएको उनले बताए ।

अर्थमन्त्री खवितडाले निजी क्षेत्रलाई विश्वासमा लिएर नीति परिवर्तन गरी लगानीको वातावरण सृजना गर्न नसकेको उद्योगी, उद्योगी, व्यवसायी बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले दुई तिहाई नजिकको सरकारबाट धेरै अपेक्षा रहे पनि कोभिडलगायत कठिन परिस्थितिले पूरा हुन नसकेको बताए । ‘निजी क्षेत्रका समस्या बुझ्ने सकरात्मक धारणा थियो,’ गोल्छाले भने, ‘प्रयास गरे पनि अपेक्षित परिणाम आउन सकेन ।’  

निजी क्षेत्रका समस्या बुझ्ने सकरात्मक धारणा थियो । प्रयास गरे पनि अपेक्षित परिणाम आउन सकेन ।
–शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

गोल्छाले खुलेर खतिवडाको विषयमा बोल्न सकेनन् । विज्ञ अर्थमन्त्रीबाट निजी क्षेत्रले धेरै अपेक्षा गरेको भए पनि कुनै उत्साह नभरिकन बिदा भएको नेपाल उद्योग वाणिज्य महासंघका एक पूर्व अध्यक्षले बताए । ‘अर्थमन्त्र बुझेको विज्ञ अर्थमन्त्री आउँदा धेरै अपेक्षा रोका थियौं,’ ती पूर्व अध्यक्षले भने, ‘निजी क्षेत्रका लागि केही नगरी जानु भयो ।’  

निजी क्षेत्रलाई बिगार्ने काम नगरेको भए पनि राम्रो गर्न नसकेको उनले टिप्पणी गरे । ‘मुलुकलाई आत्मनिर्भर बनाउन नीतिगत तहमा फड्को मार्छ भन्ने अपेक्षा गरेका थियौं,’ ती अध्यक्षले भने, ‘राजस्व उठाउन मात्र ध्यान दिनुभयो ।’ नेपालका राजस्व संकलनलाई लिएर अर्थमन्त्रीको सफलता र असफलता हेर्ने प्रचलन नै गलत भएको उनले बताए । ‘स्वदेशी तथा विदेशी लगानीकर्ता आकर्षण गरेर औद्योगिक वातावरण तयार गर्नुपथ्र्यो,’ उनले भने । खतिवडाले आशा बाँडेर उत्साह थप्न नसकेको बताए । ‘राज्यले नीजि क्षेत्रलाई दिने केही होइन,’ उनले भने, ‘नीतिगत सुधार गरेर आशाको सञ्चार गराउन सक्नुपर्छ ।’

प्रकाशित: २० भाद्र २०७७ ००:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App