१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लकडाउनको विकल्प खोज्न व्यवसायीको माग

लामो समयदेखि लकडाउन कामय राख्दा अर्थतन्त्र पूरै ठप्प भएको भन्दै रूपन्देहीका व्यावसायिक संस्थाहरूले यसको विकल्प खोज्न सरकारको ध्यानार्कषण गराएका छन् । कोरोना महामारी नियन्त्रणका लागि लकडाउनलाई महत्वपूर्ण मानिएको बेला उद्योगी, व्यवसायीले यो दिगो समाधान नभएकाले सावधानी अपनाएर व्यापार, व्यवसाय गर्ने वातावरण मिलाउन आग्रह गरेका हुन् ।  

रूपन्देहीका विभिन्न ६ वटा संस्थाले बिहीबार संयुक्त र छुट्टाछुट्टै विज्ञप्ति जारी गरी आर्थिक गतिविधि चलायमान बनाउन व्यापार–व्यवसाय सञ्चालनको व्यवस्था गर्न माग गरेका छन् । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी निर्वाध रूपमा व्यापार–व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेका छन् ।  

बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, सैनामैना उद्योग वाणिज्य संघ र देवदह उद्योग वाणिज्य संघले संयुक्त विज्ञप्ति जारी गरी रूपन्देहीमा प्रशासनले भदौ २० सम्म लकडाउन कायम गरेको र त्यसपछि व्यापार, व्यवसाय सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन सहित १६ वटै स्थानीय तहलाई आग्रह गरेका छन् ।  

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री र देवदह उद्योग वाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा छोटो समय मात्रै पसल सञ्चालन गर्ने अभ्यासले झनै भीडभाड बढ्ने र संक्रमणको जोखिम समेत बढेकाले स्वास्थ्य मापदण्ड पालना गरेर व्यापार व्यबसाय सञ्चालन गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

कोरोना निश्चित समयाभित्र नियन्त्रणमा आउँछ भन्ने कहीँ कतै प्रमाणित तथ्य नआएको उल्लेख गर्दै विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पालना गर्ने गरी निर्वाध रूपमा व्यापार, व्यवसाय, बैंक तथा वित्तीय संस्थाहरू सावधानीपूर्वक सञ्चालन गर्न पाउनुपर्ने विज्ञप्तिमा छ ।  

यसैबीच, रूपन्देही उद्योग संघले पनि शुक्रबारै विज्ञप्ति जारी गरी लकडाउनको विकल्प खोजी जनजीवन सहज बनाउन आग्रह गरेको छ । संघका अध्यक्ष बाबुराम बोहोराले विज्ञप्ति जारी गरेर स्वास्थ्य सावधानी अपनाएर उद्योग, व्यवसाय र प्रतिष्ठान सञ्चालन गर्ने वातावरण बनाउन भनिएको छ ।  

१० बुँदे सुझाव पेस गर्दै संघले सावधानी अपनाएर उद्योग सञ्चालन गर्ने, परिचयपत्रका आधारमा कर्मचारीलाई आवातजावत गर्न दिनुपर्ने, बजार क्षेत्र आलोपालो गरी सञ्चालन गर्न सकिने लगायत सुझाव दिएको छ । आर्थिक क्षेत्र ठप्प हुँदा कोरोनासँगै भोक र गरिबीले थप समस्या सिर्जना गर्ने भएकाले व्यापार, व्यवसाय सावधानीका साथ सञ्चालनको वातावरण मिलाउन संघको अपिल छ । लकडाउन वा निषेधाज्ञा कोरोनाको उपचार नभएकाले यससँगै परीक्षणको दायारा बढाउन समेत सरकारलाई भनिएको छ । रूपन्देहीमा भने समुदाय तहमा कोरोनाको संक्रमण दर बढ्दै गएको छ । मुख्य बजार क्षेत्रमा समुदायस्तरमा दैनिक संक्रमणको दर बढिरहेको बेला उद्योगी, व्यवसायीको संस्थाले विज्ञप्ति निकालेर लकडाउनको विकल्प खोजी गर्न आग्रह गरेकोमा सरकारी अधिकारीहरूले भने आश्चर्य मानेका छन् ।

प्रकाशित: १९ भाद्र २०७७ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App