२० भाद्र २०८३ शनिबार
image/svg+xml
अर्थ

भक्तपुर पर्यटनको ३२ वर्ष: भित्रिए ५२ लाख विदेशी

भक्तपुर नगरपालिकाले नगर प्रवेश गर्ने विदेशी पर्यटकसँग शुल्क उठाउन थालेको ३२ वर्ष पूरा भएको छ।

आर्थिक वर्ष २०५०/५१ देखि सुरु भएको यो तीन दशक लामो अवधिमा ५२ लाख ६५ हजारभन्दा बढी विदेशी पर्यटकले सम्पदा नगरी भक्तपुरको भ्रमण गरेका छन्।

नगरपालिकाको आन्तरिक आयको मुख्य स्रोत बनेको यही पर्यटन शुल्कबाट नगरले आफ्नै लगानीमा अस्पताल, इन्जिनियरिङलगायतका कलेज र सम्पदा संरक्षणका कार्यहरू सञ्चालन गर्दै आएको छ।

नगरपालिकाको पछिल्लो अद्यावधिक तथ्याङ्क (आर्थिक वर्ष २०८२/८३ अर्थात् २०८३ असार मसान्तसम्म) अनुसार हालसम्म कुल ५२ लाख ६५ हजार २६४ जना विदेशी पर्यटक भक्तपुर भित्रिएका छन्।

जसमध्ये गैरसार्क मुलुकबाट ३४ लाख २८ हजार ४६ र चीनसहित सार्क मुलुकबाट १८ लाख ३७ हजार २१८ जना पर्यटक रहेका छन्।

विदेशी पर्यटकसँग प्रवेश शुल्क उठाउने अभ्यास नेपालमै पहिलोपटक भक्तपुरले सुरु गरेको थियो। पछि काठमाडौं र ललितपुर लगायतका नगरपालिकाहरूले पनि पछ्याएका थिए।

भक्तपुरको पर्यटन इतिहासमा सबैभन्दा धेरै पर्यटक भित्रिएको वर्ष आर्थिक वर्ष २०७०/७१ हो, जुन वर्ष एकै वर्षमा २ लाख ९० हजार ८९१ जना विदेशी पर्यटकले भक्तपुर टेकेका थिए।

यसको ठीक विपरीत, कोरोना महामारीका कारण आव २०७७/७८ भक्तपुरको पर्यटन इतिहासकै सबैभन्दा कमजोर वर्ष बन्यो। सो वर्ष गैरसार्कका १ हजार ३८३ र सार्क तथा चीनका १ हजार ७२९ गरी जम्मा ३ हजार ११२ जना पर्यटक मात्र नगर प्रवेश गरेका थिए।

कोरोना महामारीपछि भने भक्तपुरको पर्यटन पुरानै लयमा फर्किँदै गएको तथ्याङ्कले देखाउँछ। आव २०७८/७९ मा ५३ हजार ५६० पर्यटक आएकामा आव २०७९/८० मा १ लाख ६७ हजार ६५२, आव २०८०/८१ मा २ लाख ४५ हजार ५९३, आव २०८१/८२ मा २ लाख ४४ हजार ८६८ र पछिल्लो आर्थिक वर्ष २०८२/८३ मा २ लाख २१ हजार ९७६ जना विदेशी पर्यटक भक्तपुर भित्रिएका थिए।

नगरपालिकाले गैरसार्क पर्यटकसँग २०५० साउन ६ गते प्रतिव्यक्ति ५० रुपैयाँबाट प्रवेश शुल्क उठाउन थालेको थियो। समयक्रमसँगै परिमार्जन गर्दै २०५३ मा ३००, २०५७ साउनमा ३७५, सोही वर्ष पुसमा ७५०, २०६७ मा १,१००, २०७० मा १,५०० र २०७९ पुसमा १,८०० रुपैयाँ पुर्‍याइएको थियो। हाल २०८२ साउनदेखि गैरसार्क पर्यटकका लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ शुल्क कायम गरिएको छ।

यता, चीनसहित सार्क राष्ट्रका पर्यटकसँग भने २०५४ पुस १७ देखि प्रतिव्यक्ति ३ रुपैयाँबाट शुल्क लिन थालिएको थियो। पछि २०५७ मा ५०, २०६७ मा १०० हुँदै २०७१ साउन १ गतेदेखि प्रतिव्यक्ति ५०० रुपैयाँ प्रवेश शुल्क लिइँदै आएको छ।

हाल नगरका १४ वटा नाकाहरू खौमा, सानो व्यासी, ठूलो व्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाति, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल र भार्वाचोबाट शुल्क सङ्कलन भइरहेको छ भने थप एउटा काउन्टर निर्माणको अन्तिम चरणमा छ।

नगरपालिकाको आन्तरिक स्रोतको मेरुदण्ड मानिने यस बजेटको सदुपयोगबारे पर्यटन सूचना तथा सेवा केन्द्रका प्रमुख एवं कर्मचारी एसोसिएसनका अध्यक्ष गौतमप्रसाद लासिवाले भक्तपुरको विकासको आधार नै पर्यटन शुल्क भएको बताएका छन्।

उनका अनुसार यही शुल्कबाट नगरपालिकाले इन्जिनियरिङलगायत आधा दर्जनभन्दा बढी कलेज र आफ्नै अस्पताल सञ्चालन गरिरहेको छ। साथै, नगरको सरसफाइ र भूकम्पपछिको सम्पदा पुनः निर्माणमा पनि यही रकम परिचालन हुँदै आएको छ।

पर्यटकलाई आकर्षित र सहज बनाउन नगरपालिकाले आधुनिक सुविधाहरू पनि थपेको छ। सुविधासम्पन्न पर्यटक बसपार्क, पर्यटक शौचालय, निःशुल्क इन्टरनेट, कम्प्युटर, ह्विलचेयर, लगेज कक्ष र विश्रामस्थलको व्यवस्था गरिएको छ।

विभिन्न सम्पदा स्थलहरूमा मेटलका ‘क्युआर कोड’ राखिएका छन् भने अंग्रेजी, चिनियाँ, जर्मन, जापानी, फ्रेन्च र स्पेनिस गरी ६ भाषामा नक्सासहितको ब्रोसर उपलब्ध गराउने गरिएको छ।

हालसम्म विश्वका ४० भन्दा बढी मुलुकका पर्यटक भक्तपुर पुगेका छन्, जसमा सबैभन्दा ठूलो हिस्सा भारतीय र त्यसपछि चिनियाँ पर्यटकको रहेको छ।

गत एक वर्षको तथ्याङ्क हेर्दा भारतबाट ७० हजार ७११ र चीनबाट ३६ हजार ७८३ पर्यटक आएका थिए। त्यसैगरी अमेरिकाबाट १३ हजार २११, जर्मनीबाट १० हजार ८००, फ्रान्सबाट ९ हजार ९८०, इटालीबाट ७ हजार ७३, जापानबाट ६ हजार ७९६, इङ्ल्यान्डबाट ६ हजार, स्पेनबाट ५ हजार ३६२, ताइवानबाट ४ हजार ९५०, अस्ट्रेलियाबाट ४ हजार ९४६ र हल्यान्डबाट ३ हजार ७४२ नागरिकले भक्तपुरको अवलोकन गरेका छन्।

विदेशीको तुलनामा भक्तपुरमा आन्तरिक पर्यटकको चाप झन्डै पाँच गुणा बढी हुने गरेको छ। नगरको मुख्य प्रवेशद्वार खौमा काउन्टरका कर्मचारी मुरज दिदीयाका अनुसार दैनिक औसत ५ हजारभन्दा बढी नेपाली नागरिक भक्तपुर घुम्न आउँछन्।

शनिबार, सार्वजनिक बिदा, गाईजात्रा तथा मुख्य चाडपर्व र उपत्यका तथा बाहिरका विद्यालयहरूको शैक्षिक भ्रमणका बेला आन्तरिक पर्यटकको सङ्ख्या तेब्बर-चौबरसम्म पुग्ने गरेको छ।

प्रकाशित: २० भाद्र २०८३ १८:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App