२० भाद्र २०८३ शनिबार
image/svg+xml
खेल

ताप्लेजुङ गोल्डकपमा टिकटबाटै ३८ लाख २९ हजार संकलन

चौथो ताप्लेजुङ गोल्डकप आयोजना गरेको लाखेजात्रा सञ्चालन समितिले टिकट प्याकेजबाहेक प्रवेश शुल्कबाट मात्रै ३८ लाख २९ हजार ९ सय रुपैयाँ आम्दानी गरेको छ।

लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार प्रतियोगिताका क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलबाट उक्त रकम संकलन भएको हो।

उनका अनुसार क्वाटरफाइनलका चार खेलबाट ११ लाख ९१ हजार २ सय रुपैयाँ, सेमिफाइनलका दुई खेलबाट ६ लाख ५ हजार ७ सय रुपैयाँ र फाइनल खेलबाट मात्रै २० लाख ३३ हजार रुपैयाँ संकलन भएको छ।

यसअनुसार प्रतियोगिताका खेल हेर्न टिकट बिक्रीबाट आयोजकले कुल ३८ लाख २९ हजार ९ सय रुपैयाँ संकलन गरेको हो।

क्वाटरफाइनलतर्फ पहिलो खेलबाट ३ लाख ५५ हजार ८ सय, दोस्रो खेलबाट १ लाख ८८ हजार २ सय, तेस्रो खेलबाट २ लाख ६१ हजार ४ सय र चौथो खेलबाट ३ लाख ८५ हजार ८ सय रुपैयाँ संकलन भएको कोषाध्यक्ष शेर्पाले जानकारी दिए।

त्यस्तै, सेमिफाइनलका दुई खेलमध्ये पहिलोबाट १ लाख ३३ हजार ५ सय र दोस्रोबाट ७ लाख ७२ हजार २ सय रुपैयाँ टिकट बिक्री भएको थियो।

दर्शकको उल्लेख्य उपस्थिति रहेको फाइनल खेलबाट मात्रै आयोजकले २० लाख ३३ हजार रुपैयाँ संकलन गरेको हो।

आयोजकले क्वाटरफाइनलका चार खेलका लागि प्रतिटिकट २ सय रुपैयाँ, सेमिफाइनलका दुई खेलका लागि ३ सय रुपैयाँ र फाइनलका लागि ५ सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरेको थियो।

त्यसैगरी, टिकट प्याकेजअन्तर्गत सहयोगसहित प्रतियोगिताका सबै खेल अवलोकन गर्न प्रतिव्यक्ति ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको थियो।

तर टिकट प्याकेजतर्फ कति टिकट बिक्री भयो भन्ने विवरण भने यकिन भइनसकेको आयोजकले जनाएको छ। त्यसैले समितिको कुल टिकट आम्दानी ३८ लाख २९ हजार ९ सय रुपैयाँभन्दा बढी हुने देखिन्छ।

चौथो ताप्लेजुङ गोल्डकपको विजेताले ७ लाख २ हजार ८३ रुपैयाँ र उपविजेताले ३ लाख ५२ हजार ८२ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगिताका प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने म्यान अफ द म्याचलाई ७ हजार रुपैयाँ मूल्य बराबरको अलैंची प्रदान गरिएको थियो। यस्तै, सात विधामा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

चौथो ताप्लेजुङ गोल्डकपको उपाधि भने गत वर्षको विजेता सलहेस युवा क्लब सिराहाले लगातार दोस्रोपटक जितेको छ। फिदिम स्पोर्टिङ क्लब पाँचथर उपविजेतामा सीमित भएको छ।

प्रतियोगितामा खेलाडीको प्रतिस्पर्धासँगै दर्शकको उल्लेख्य सहभागिताले ताप्लेजुङमा फुटबलप्रतिको आकर्षण र स्थानीयस्तरमा खेलकुद गतिविधिको व्यावसायिक सम्भावनासमेत देखाएको छ।

प्रकाशित: २० भाद्र २०८३ १८:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App