६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

रसुवागढी नाकाबाट शुक्रबारदेखि आयात सुरु

रसुवागढी नाका । तस्बिरः हिमनाथ/नागरिक

रसुवागढी नाकाबाट शुक्रबारदेखि आयात सुरु भएको छ। रसुवागढी–केरुङ सडक खण्ड अन्तर्गत ठोङ्सा मुनि रहेको घुम्तीमा पहिरो गएपछि गत साउन ३२ गतेदेखि नाकामा आयात निर्यात रोकिएको थियो। पहिरो पन्छाउने काम सकिएसँगै शुक्रबार केरुङबाट सामग्री लिएर नाकासम्म आएका थिए।  

नाका सञ्चालनमा आएको भएपनि विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण चीनबाट सामग्री आयात र व्यवस्थापनमा समस्या हुँदै आएको छ। कोरोना संक्रमणको त्रासका कारण चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएको छन्। चिनियाँ पक्षले नेपालको खुला स्थानमा सामग्री ल्याएर झारिदिने बताए पनि शुक्रबार मितेरी पुलको बीचमा नै झारेका छन्।  

नेपालतर्फको खुला स्थानमा सामग्री झार्नका लागि चिनियाँ टोली सहमत भइसकेको छ। मितेरी पुलमा सामग्री झार्दा नेपाली पक्षलाई सामग्री लोड गरेर ल्याउन समस्या हुँदै आएको छ। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काका अनुसार ६ महिनादेखि सामग्री गोदाममा अड्किएको भएपनि सामग्रीको आयात न्यून भएको छ।  

नेपाली पक्षले आयातमा भएको समस्या र गोदाममा सामग्री अड्किएको बताएपछि चिनियाँ पक्षले सामग्री आयातमा सहज बनाउने बताएको उनले बताए। ‘नाका सञ्चालनमा आएपनि सामग्री आयातमा समस्या हुँदै आएको थियो’, उनले भने, ‘यसलाई सहज बनाउनका लागि हामीले आग्रह गरेका हौं ।’  

चिनियाँ पक्षले नेपालको खुला स्थानमा सामग्री झारिदिने र नेपाली कन्टेनरको संख्या पनि बढाउने सकिने बताएको छ। गत माघ भन्दा अघि नेपाली कन्टेनर पाङसाङसम्म पुगेर सामग्री लिएर आउने गरेका थिए।  

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।  

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

प्रकाशित: १२ भाद्र २०७७ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App