८ वैशाख २०८१ शनिबार
अर्थ

मनास्लुमा बृहत् स्याउ फार्म

अर्गानिक खेती

मनास्लुमा फलेको स्याउ।

काठमाडौं–उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पर्यटन व्यवसायीहरूको समूहले बृहत स्याउ खेती गरेको छ। गोरखाका चर्चित पर्यटनकर्मी लाक्पाढुण्डुप लामाको समूहले ‘इन गोरखा प्रोडक्ट कम्पनी’का नाउँमा चुमनुब्री गाउँपालिका–४ पोरमा स्याउका  चार हजार ३ सय ७० बिरुवा रोपेको हो।  

तीन सय रोपनी जमिनमा इटालीबाट ल्याइएका फुजी, गोल्डेन डेलिसियस, गाला र गोल्डेन जातका विरुवा रोपिएको लामाले बताए। गत वैशाख–जेठमा रोपिएका  बिरुवामा फल लागिसकेको छ।  

स्याउका बिरुवाका लागि गण्डकी प्रदेश सरकारले ७० प्रतिशत अनुदान दिएको र बाँकी सबै खर्च कम्पनीले गरेको लामाले बताए। ‘हामीले करिब डेढ करोड रुपैयाँ खर्च गरिसक्यौं’, उनले भने।

तीन सय रोपनी जमिनमा चार हजार तीन सय ७० विरुवा रोपिएको छ। अर्गानिक स्याउ, जुस, जाम र वाइन उत्पादन गर्ने योजना।

वर्ष दिनमै फल दिने बिरुवा रोपिएको उनले बताए। लकडाउनका कारण इटालीबाट झिकाइएको बिरुवा तीन महिना भारतको कलकत्तामा रोकिएको थियो। ‘रोप्नै ढिला भयो। तैपनि स्याउ फलिसक्यो’, उनले भने।  

आउँदो वर्षदेखि एउटा बोटले करिब १५ किलोका हिसाबले फल दिन सुरु गर्ने कम्पनीको आशा छ। यी विरुवाले रोपेको ३५ वर्षसम्म फल दिन्छन्। कम्पनीले २६ वर्षका लागि गाउँलेसँग जमिन भाडामा लिएको छ।  

स्याउ बगैंचालाई नमुना अर्गानिक गन्तव्यका रुपमा विकास गर्ने योजना छ। फार्ममा जडीबुटी पनि खेती गरिएको छ जहाँ सतुवा, वन लसुन, अलैंची आदि रोपिएको लामाले जनाए।  

छब्बीस सय पचास मिटर उचाईमा स्याउ खेती गरिएको हो। त्यहाँ उत्पादित स्याउ  काठमाडौं ल्याउने योजना छ। ‘सोचे जति उत्पादन गर्न सक्यौं भने गोरखा, पोखरा र काठमाडौंमा मात्र होइन, विदेशमा पनि पठाउनेछौं’, लामाले भने, ‘हामी स्याउबाट जुस, जाम र वाइन पनि उत्पादन गर्नेछौं।’  

स्याउ फार्म मनास्लु पदमार्गमा पर्दछ। त्यसैले पदयात्रामा आउने पर्यटकले समेत  रसिलो स्याउ चाख्ने उनीहरूको आशा छ।  

फार्मसम्म सडक सञ्जाल जोडिएको छैन। अहिले माछेखोलासम्म सडक पुगेको छ। त्यहाँबाट तीन दिन हिँडेमा मात्र स्याउ फार्ममा पुगिन्छ।  

‘केही वर्ष हामी हेलिकोप्टरमा स्याउ काठमाडौंमा ओर्सानेछौं’, उनले भने, ‘हाम्रो भेकमा धमाधम सडक बन्दैछ। अबका दुईचार वर्षमा त गाउँसम्म सडक पुग्छ होला। त्यतिबेला सजिलो हुनेछ।’  

फार्ममा २५ जनाले रोजगारी पाएको लामाले बताए।

प्रकाशित: ११ भाद्र २०७७ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App