१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटन मन्त्रालयको प्रगति ६० प्रतिशत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष (आव) ०७६/७७ मा लक्ष्यको ६० प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सो वर्ष संस्कृति, पर्यटन र उड्डयनका क्षेत्रमा केही महत्वपूर्ण काम भएका छन् ।  

भर्चुअल बैठकमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले सबैभन्दा बढी पुँजीगत बजेट खर्च र वित्तीय एवं भौतिक प्रगति हुनुपर्ने बेला प्रतिकूल परिस्थिति सिर्जना भएकाले अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको बताए ।

आव ०७६/७७ मा मन्त्रालयले २१ अर्ब २१ करोड ६९ लाख बजेट पाएको थियो । अघिल्लो आव ०७५÷०७६ मा ८१ प्रतिशत रहेको औसत खर्च ०७६/७७ मा घटेर ४९ प्रतिशत मात्र रहेको मन्त्रालयले जनाएको छ । आव ०७५÷७६ मा मन्त्रालयको बजेट ३३ अर्ब १३ करोड ३७ लाख रूपैयाँ थियो ।

प्रतिवेदनमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि ठूलो रकम विनियोजन भएर पनि खर्च नभएको र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रकम भुत्तानी हुन नसकेका कारण खर्च कम हुन गई समग्र बजेट खर्च घटेको उल्लेख छ । कोभिड–१९ महामारीका कारण खर्च प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।  

मन्त्रालय र मातहतका निकायको मुख्य काम र खर्च हुने समयमा कोरोनाको प्रभावले पर्यटन क्षेत्रलाई नराम्रो धक्का दिएको र त्यसको प्रत्यक्ष असर मन्त्रालयको वार्षिक योजना र कार्यक्रम कार्यान्वयनमा परेको जनाइएको छ । ‘परिणामस्वरूप मन्त्रालयले अपेक्षित नतिजा हासिल गर्न सकेन,’ मन्त्री भट्टराईले भने ।

मन्त्रालय मातहतका राष्ट्रिय गौरव आयोजनामा उल्लेख्य प्रगति देखिएको उनले बताए । पशुपति क्षेत्र विकास कोषको ७० प्रतिशत, लुम्बिनी विकास कोषको ९५ प्रतिशत, भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको ८५ प्रतिशत र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६१ प्रतिशत प्रगति भएको मन्त्रालयले जनाएको छ । यीमध्ये पोखरा र गौतमबुद्ध विमानस्थलको काम महामारीबीच पनि जारी छ ।  

गौतमबुद्ध विमानस्थलमा बत्ती र केही उपकरण जडानको काम मात्रै बाँकी रहेको जनाइएको छ । अबको तीनदेखि ६ महिनाभित्र विमानस्थल व्यावसायिक सञ्चालनमा आउने मन्त्री भट्टराईले बताए । युरोप लगायत मुलुकबाट विदेशी प्राविधिक आउनुपर्ने भएकाले केही महिना काममा विलम्ब भएको र नियमित उडान सुरु हुने अवस्थामा रहेकाले संक्रमणको अवस्था हेरेर चाँडै उक्त विमानस्थल सञ्चालनमा आउने मन्त्री भट्टराईले बताए ।  

भूकम्पले भत्काएका सम्पदा पुनःनिर्माणतर्फ हालसम्म चार सय ५३ सम्पदाको काम सकिएको छ । सुन्धारास्थित २२ तले धरहराको काम तीव्र गतिमा भइरहेको र हालसम्म ११ तला बनिसकेको प्रतिवेदनमा उल्लेख छ । रानीपोखरी निर्माणको काम पनि अन्तिम चरणमा पुगेको मन्त्री भट्टराईले बताए । ग्रेट हिमालयन ट्रेलको ७७ किलोमिटर निर्माण सकिएको र एक सय २७ किलोमिटरको विस्तृत आयोजना प्रतिवेदन तयार भएको उनले जनाए ।

यसअघि मन्त्रालयद्वारा घोषित स्थापित तथा नयाँ विभिन्न एक सय ९२ गन्तव्यमध्ये एक सय २२ को पूरै र ७० गन्तव्यमा ५० प्रतिशत पर्यटकीय पूर्वाधारको काम सम्पन्न भएको छ ।

प्रतिवेदन अनुसार बहुप्रतीक्षित निजगढ विमानस्थल निर्माण क्षेत्रमा पर्ने १९ हेक्टर क्षेत्रफलको रुख कटानका ६० हजार रुख गणना भइसकेको छ ।  

निगमको सम्पत्ति ५४ अर्ब १७ करोड
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको कुल सम्पत्ति ५४ अर्ब १७ करोड रहेको र उसले तिर्नुपर्ने ऋण ४५ अर्ब ९४ करोड रूपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । निगमको खुद सम्पत्ति आठ अर्ब २३ करोड रूपैयाँ छ । लामो गन्तव्यमा उडान भर्न नसकेको जस्ता आरोप खेप्दै आएको निगमले कोभिड–१९ महामारी अन्त्यपछि रियाद, सिओल र ग्वाङ्जाओ उडान भर्ने अनुमति लिने प्रक्रिया चलिरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित: १० भाद्र २०७७ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App