७ वैशाख २०८१ शुक्रबार
अर्थ

साउनमा आयात घट्यो, निर्यात बढ्यो

चालु आर्थिक वर्षको पहिलो महिनामा गत वर्षको तुलनामा आयात १९.६० प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकमा साउनमा ८५ अर्ब ८० करोड ८० लाख रूपैयाँ बराबरको आयात देखिएको छ । गत वर्ष साउनमा एक खर्ब ६ अर्ब ७२ करोड ५३ लाख रूपैयाँको वस्तु आयात भएको थियो ।

चालु आर्थिक वर्षका पहिलो महिनामा निर्यात ८.८६ प्रतिशतले बढेको छ । साउनमा नौ अर्ब ६२ करोड ४९ लाख रूपैयाँ बराबरको वस्तु निर्यात भएको तथ्यांक छ । गत साउनको निर्यात आठ अर्ब ८३ करोड ७० लाख ८६ हजार रूपैयाँ बराबर थियो ।

साउनमा सबैभन्दा बढी टेलिफोन नेटवर्कको सामान आयात भएको छ । यसको मूल्य चार अर्ब २६ करोड ५० लाख रूपैयाँ रहेको भन्सारले जनाएको छ । त्यस्तै, दुई अर्ब ५६ करोड २१ लाख रूपैयाँको कच्चा सोयाबिन तेल आयात भएको छ । दुई अर्ब ४५ करोड ५४ लाख रूपैयाँको डिजेल आयात भएको छ ।  

गत महिना पेट्रोल एक अर्ब ७७ करोड ३३ लाख रूपैयाँको मात्र आयात भएको छ । डिजेल र पेट्रोल गत वर्षको तुलनामा धेरै कम आयात भएको देखिन्छ । गत वर्ष यो अवधिमा सात अर्ब ५८ करोड रूपैयाँको डिजल र दुई अर्ब ८८ करोड रूपैयाँको पेट्रोल आयात भएको तथ्यांक छ । गत वर्ष यो अवधिमा चार अर्ब ३२ करोड रूपैयाँको फलामका कच्चा पदार्थ आयात भएकोमा यो वर्ष दुई अर्ब ३० करोड ३८ लाख रूपैयाँ बराबरको मात्र आयात भएको छ । त्यस्तै दुई अर्ब २१ करोड ६१ लख रूपैयाँको चामल र एक अर्ब ९७ करोड १३ लाख रूपैयाँको एलपी ग्यास आयात भएको विभागले जनाएको छ । यो अवधिमा चिनी, मकै, गहुँ, सूर्यमुखी तेल, औषधी, कोइला लगायत सामग्री अर्बमा आयात भएका छन् ।

गत वर्ष साउनमा धेरै निकासी भएको पाम आयल पैठारीमा भारतले प्रतिबन्ध लगाएका कारण गत महिना सबैभन्दा बढी सोयाबिन तेल निर्यात भएको छ । सोयाबिन तेल दुई अर्ब २७ करोड पाँच लाख बराबरको निर्यात भएको छ । गत वर्ष यो अवधिमा ४५ करोड रूपैयाँको मात्र सोयाबिन तेल निर्यात भएको थियो । यो अवधिमा ७५ करोड ७३ लाखको चिया निकासी भएको छ । लामो समय भारतले निकासीमा अवरोध गरेसँगै रेकिएको चिया एकैपटक निकासी हुँदा साउनमा निकासी उच्च देखिएको हो । गत महिना ६८ करोड ३० लाख रूपैयाँको गलैंचा, ४७ करोड ६३ रूपैयाँको अलैंची निर्यात भएको छ । गलैंचा र अलैंची पनि पोहोर साउनको भन्दा बढी हो ।

साउनमा बेलायत, आयरल्यान्ड, टर्की, स्विजरल्यान्ड, फिनल्यान्ड, रुस, पाकिस्तान, हंगेरी, आइसल्यान्ड लगायत २३ मुलुकसँगको व्यापार नाफामा छ । कारोबार भएका ९१ मुलुकमध्ये बाँकीमा व्यापार घाटा छ । आयात र निर्यात दुवै भारतसँग बढी छ । तर भारतसँगको व्यापार पोहोर साउनको तुलनमा यसपालि घटेको छ । गत वर्ष ६७ अर्ब ८१ करोड रूपैयाँको आयात भएकोमा यस वर्ष ५६ अर्ब ३९ करोडको मात्रै आयात देखिन्छ ।  

निर्यात गत वर्ष ६ अर्ब पाँच करोड ३० लाख रूपैयाँ रहेकोमा यो साउनमा बढेर ६ अर्ब ३१ करोड ७९ लाख पुगेको छ । भारतपछि चीनसँग व्यापार बढी भए पनि पोहोरको तुलनामा आयात–निर्यात दुवै कम छ । यो वर्ष साउनमा चीनबाट ११ अर्ब १७ करोड ९० लाखको आयात भएको छ भने निर्यात पाँच करोड ६० लाख रूपैयाँको छ । गत वर्ष साउनमा १८ अर्ब ५३ करोडको आयात र १९ करोड ८२ लाख रूपैयाँ बराबरको निकासी थियो । 

प्रकाशित: ९ भाद्र २०७७ ०३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App