२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

इन्धन बिक्रीमा ७५ प्रतिशतले कमी

मुलुकका प्रमुख सहरमा निषेधाज्ञा जारी हुँदा पेट्रोलियम पदार्थको खपतमा भारी गिरावट आएको छ । काठमाडौं, पोखरा, चितवन, बुटवल, वीरगन्ज, विराटनगर लगायत प्रमुख सहर र अधिकांश जिल्लामा निषेधाज्ञाले गर्दा अत्यावश्यक बाहेकका सवारी चलेका छैनन् ।  

सवारी ठप्प भएर उद्योगधन्दा पनि बन्द भएपछि डिजेल, पेट्रोलको बिक्री करिब ७५ प्रतिशत घटेको नेपाल आयल निगमले जनाएको छ । लकडाउन खुलेपछि इन्धन कारोबार ह्वात्तै बढे पनि कोरोनाको संक्रमण बढेर निषेधाज्ञा जारी हुँदा सामान्य अवस्थाको तुलनामा करिब २५ प्रतिशत मात्र बिक्री भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । प्रवक्ता उपाध्यायले भने, ‘सवारी नचलेपछि ७५ प्रतिशत बिक्री घटेको छ ।’

देशभर पेट्रोल दैनिक करिब पाँच सय किलोलिटर र मट्टीतेल करिब एक हजार किलोलिटर बिक्री भएको छ । सामान्य अवस्थामा देशभर दैनिक साढे १३ लाख लिटर पेट्रोल र ३७ लाख लिटर डिजेल खपत हुन्थ्यो ।  

ग्यास खपत पनि घट्यो
ग्यास बिक्री पनि ३० प्रतिशतले घटेको छ । कोरोनाको कारण होटल, रेस्टुरेन्ट, होस्टेल, निजी विद्यालय, उद्योग बन्द हुँदा ग्यास खपत कम भएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए । उनले अनुसार काठमाडौं लगायत क्षेत्रमा ग्यास बिक्री ३० प्रतिशतले घटेको छ । तराईमा भने धेरै गिरावट नआएको भण्डारीले बताए ।

यता ग्यास खपत घटिरहेका बेला सिलिन्डरमा अस्वस्थ्य किनबेच सुरु भएको भन्दै नेपाल एलपी ग्यास संघले चिन्ता व्यक्त गरेको छ । लागत मूल्यभन्दा कममा सिलिन्डर किनबेच भएको भन्दै यस्तो कार्यमा संलग्नलाई कारबाही गर्ने संघले चेतावनी दिएको छ । २२ सय रूपैयाँको सिलिन्डरलाई बजारमा बाहिरी मान्छेले १५ सय रूपैयाँमा कारोबार गरको संघका अध्यक्ष भण्डारीले बताए । 

प्रकाशित: ९ भाद्र २०७७ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App