विश्वकै प्रख्यात अन्नपूर्ण फेरोको पदमार्गमा पर्छ हिमालपारिको जिल्ला मनाङको मनाङ गाउँ। फेरोको पदयात्रामा पुगेका हजारौं विदेशी र स्वदेशीलाई पर्यटकलाई आतिथ्यता दिलाएर त्यहाँका व्यवसायीले वर्षाैदेखि गुजारा चलाउँदै आएका थिए। पर्यटक आउजाउका कारण पदमार्गका चिया पसलदेखि व्यवस्थित रुपमा चलेका होटल सहजै धानिएका थिए। सिजनका बेला पदमार्गमा पर्यटक जाँदा त्यस क्षेत्रका सबैखाले व्यवसायीले राम्रै कमाई गर्दथे।
पर्यटनमा लागेका स्थानीयले पाहुनालाई आतिथ्यता दिन्थे भने कृषिमा लागेका गाउँलेले तरकारी फलाएर तिनै होटल–रेस्टुँरालाई बेचेर आम्दानी गर्दथे। तर, कोरोना भाइरस संक्रमणका कारण यो बेला पर्यटक आउजाउ ठप्प छ। विदेशी र आन्तरिक पाहुनाको आउजाउ पूर्ण रुपमा रोकिँदा साहसिक अन्नपूर्ण पदमार्ग क्षेत्र पनि महिनौदेखि सुनसान छ। पाहुना नपाउँदा पदमार्ग क्षेत्रका व्यवसायी कामविहीन भएका छन्। तर, त्यही मौका पारेर कतिपय पर्यटन व्यवसायी नयाँ अभ्यासमा लागेका छन्। पर्यटन व्यवसायीको त्यो अभ्यास हो–तरकारी खेती। पहिल्यैदेखि खेतीपाती गरिरहेका किसानको पेसा धेरै पर्यटन व्यवसायीले पछ्याउँदा अहिले मनाङमा पर्याप्त तरकारी फलेको छ।
मनाङका पर्यटन अगुवा विनोद गुरुङले लामो समयदेखि होटल चलाउँदै आएका थिए। यो पटक कोरोनाका कारण पाहुना आउजाउ रोकिएपछि गुरुङ खेतीपातीमा फर्किएका छन्। पोहोरसम्म ३ रोपनी जग्गामा तरकारी खेती गरेर अधिक समय होटलमा बिताउने गुरुङले यो पटक १२ रोपनी क्षेत्रफलमा तरकारी रोपेका छन्। फुर्सदको समय बारीमा लगाउँदा पर्याप्त तरकारी फलाउन सकेको उनले बताए। ‘पोहोर–परार पाहुनालाई सत्कार गर्दैमा फुर्सद हुँदैनथ्यो। यो पटक कोरोनाले पाहुना आएनन्, त्यही भएर तरकारी खेतीमा लागे,’ उनले भने, ‘बरु यो पटक धेरै तरकारी खेती गरियो। उत्पादन भएको तरकारी खपत गर्न सकस छ।’
पर्यटनमा लागेका धेरै व्यवसायीले पहिला पहिला तरकारी खेती गर्दा आफूलाई चाहिनेजति मात्र उत्पादन गर्नेगरि खेती गर्दथे। त्यसमा अपुग हुँदा गाउँमै किन्थे। तर यो पटक सबैजना फुर्सदिला हुँदा पर्याप्त क्षेत्रफलमा तरकारी फल्दा खपत गर्न नसकेको उनले बताए। ‘प्याज, काउली, ब्रोकाउली, बन्दा लगायतका तरकारी यहाँ निकै नै फल्छ। पोहोरसम्म आफूलाई चाहिनेजति फलाइन्थ्यो। तर, अहिले १२ रोपनीमा तरकारी रोपेको त पर्याप्त फल्यो,’ उनले भने, ‘बरु यो पटक खपतमा सकस छ। गाउँमा बिक्री हुने अवस्था छैन। पाहुना नहुँदा खपत पनि हुँदैन। मनाङमा तरकारी फल्दा सबैतिर अचम्म मान्थे,’ उनले भने, ‘अहिले भने धेरै फलेर तनाव भएको छ।’
मनाङमा फलेको तरकारी त्यहाँका किसानले सदरमुकाम चामे र तल्लो भेगका गाउँसहित लम्जुङ सदरमुकाम बेसीसहर झार्दथे। चामे भन्दा तल तरकारी खेती उत्तिसारो हुँदैन। मनाङमा अर्गानिक मल बढी प्रयोग हुने हुँदा उत्पादित तरकारी निकै नै स्वादिलो हुने उनले बताए। किसानले भेडा च्याङग्रा मल खेतीमा प्रयोग गर्छन्। यतिसम्मकी कुनै तरकारीको बोटको पातमा किरा लाग्यो भने विषादी छर्ने नभई पातै टिपेर फ्याक्ने गुरुङले बताए। यो पटकको तरकारी राजधानी काठमाडांैंसम्म लगेर बेच्ने योजना बनाएपनि मनाङ पुग्ने स्थलमार्ग अवरुद्ध हुँदा ढुवानी गर्न नसकेको उनले बताए। ‘काठमाडौं लैजान सके पर्याप्त कमाई हुन्थ्यो,’ उनले भने।
अन्यत्र वर्षाका कारण तरकारी उत्पादनमा अफसिजन चलेपनि मनाङमा भने यतिबेला सिजन चलिरहेको छ। ‘यो पटक अति उत्पादन भयो। बजार खोज्नुपर्ने समस्या छ। फुर्सदिला सबै गाउँले खेतीमा लागे। पर्याप्त समय पनि दिन पाए,’ उनल भने। गुरुङले व्यवसायीक रुपमा तरकारी खेती गरेको यो नै पहिलो वर्ष भएको बताए। उनका अनुसार बैशाखमा रोपेको तरकारी अहिले सबैतिर फलेको छ। पानी कम पर्ने भएकोले यो बेला अभाव छैन। कात्तिकदेखि चिसोे बढ्ने हुँदा तरकारी हुँदैन। अफसिजनका लागि गाउँलेले तरकारी नै स्टोर गरेर राख्छन्।
मनाङ ङिस्याङ गाउँपालिका–५ का अध्यक्ष समेत रहेका कर्मछिरिङ गुरुङले पनि यो पटक तरकारी उत्पादन बढ्दा बजार पाउन नसकेको बताए। उनले पनि तीन रोपनी क्षेत्रफलमा तरकारी खेती गरेको बताए। ‘गाडी चलेका छैनन्। बाटो बन्द भएकोले बेसीसहरसम्म पनि तरकारी झार्न सकिएन,’ उनले भने, ‘साउनदेखि गाडी बन्द छ। यो पटक बारीमा तरकारी कुहिने अवस्था आयो।’ मनाङका किसानका बारीमा यतिबेला काउली, बन्दा, ब्रोकाउली, साग, गाजर तयार छ। ‘माथिल्लो मनाङदेखि सदरमुकाम चामेसम्म गाडी चलेपनि चामेमा खपत कम हुन्छ। सानो ठाउँ भएकोले कर्मचारी समेत गरि करिब १२ सय मान्छे बस्ने सदरमुकामले यो उत्पादन थेग्दैन,’ उनले भने, ‘त्यसैले बेसीसहर लैजानुपर्छ। तर बेसीसहर झार्ने बाटो छैन। पर्यटक आएको भए यो अवस्था आउने थिएन।’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का मनाङस्थित कृषि प्राविधिक ओमबहादुर गुरुङका अनुसार योपटक त्यहाँँ तरकारी खेती निकै उत्पादन भएको छ। एक सिजनका लागि माथिल्लो मनाङको मनाङगाउँ, खाङसार, ङावल, भ्राका, घयारु क्षेत्रमा बढी उत्पादन हुन्छ। सदरमुकाम चामेभन्दा तल्लो क्षेत्रमा कम तरकारी फल्छ। हिमाली क्षेत्रमा ३७ सय मिटर उचाईसम्म तरकारी खेती हुने गरेको उनले बताए। ‘खाने पर्यटक छैनन्। गाउँका सबै किसानले पर्याप्त फलाएका छन्,’ उनले भने, ‘बरु बजारसम्म लैजान पाएका छैनन्। बाटो बन्द भएकोले सवारी नचल्दा किसान मारमा छन्।’ उनका अनुसार १० किलोसम्मका बन्दा र एक किलोका गाजर फलेका छन्। काउली त एककिलो भन्दा कम तौलको नै नपाइने उनले बताए।
एक्याप मनाङका संरक्षण अधिकृत बाबुलाल तिरुवाका अनुसार पछिल्लो समय मनाङमा तरकारी खेती निकै नै फस्टाएको छ। पहिला पहिला ग्रिन हाउसभित्र मात्र तरकारी खेती हुन्थ्यो। तर, अहिले बाहिर नै बन्दा काउली ब्रोकाउली, मुला, गाँजर, साग पर्याप्त उत्पादन हुन थालेको छ। टनेल भित्र गोलभेडा काक्रो, भेँडेखुर्सानी फल्ने गरेको छ। तिरुवाले भने, ‘स्थानीयस्तरमा खपन नहुँदा किसानलाई समस्या भयो। पर्यटन चल्दा होटलले किन्ने तरकारी यो पटक पर्यटक नभएकोले खपत हुन सकेन।’ पर्यटक नआउँदा ती किसान पनि मारमा परेको उनले बताए।
प्रकाशित: ७ भाद्र २०७७ ११:२६ आइतबार