१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सवारी मर्मतमा लाखौं खर्च

पोखरामा खुला आकाशमुनि पार्किङ गरिएका लामो दुरीमा चल्ने बस। तस्बिरः उमेश पुन/नागरिक

सरकारले भदौ एकगतेदेखि लामो दुरीको सार्वजनिक यातायात संचालन गर्न दिने भनेपछि यातायात व्यवसायी सनतकुमार श्रेष्ठले दशवटा बसलाई मर्मत गरे। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउनका कारण चैत ११ देखि रोकिएका गाडी भदौ १ गतेका लागि तयारी पार्दा उनले दशवटा गाडीका लागि करिब ३५ लाख रुपैयाँ खर्च गरे।

पोखरादेखि विभिन्न सहरमा सुविधासम्पन्न बस चलाउँदै आएका श्रेष्ठका ३४ वटा बस छन्। तर, उनले भदौ १ का लागि दशवटा गाडी मात्र मर्मतसम्भार गरेका थिए। लामो समयको लकडाउनसँगै आर्थिक रुपमा थलिएको बेला श्रेष्ठले यात्रुलाई सेवादिने गरि ठुलो रकम खर्चेर ती गाडी त तयार पारे। तर, उनले भदौ १ देखि गाडी सडकमा ल्याउन पाएनन, बरु ग्यारेजमै फर्किए। अब ती गाडी कहिले गुड्छन् भनेर उनले अनुमान समेत लगाउन सक्दैनन्।  

सरकारले भदौ १६ पछि लामो दूरीको सवारी संचालन गर्न अनुमति दिने सम्भावना रहेपनि संक्रमण बढिरहँदा विभिन्न जिल्लामा निषेधाज्ञा लगाएकोले अझै कम्तिमा एकमहिना गाडी चल्ने सम्भावना व्यवसायीले देखेका छैनन। ‘अब गाडी कहिले चल्लान भनेर मैले अनुमान समेत लगाउन सक्दिन। सरकारले लामो दूरीको सवारी संचालनको अनुमति दिँदैमा सडकमा गाडी निकाल्ने अवस्था छैन,’ श्रेष्ठले भने, ‘किनकी राजमार्गका ठाउँठाउँमा निषेधाज्ञा छ। त्यसबाहेक संक्रमणको गति पनि अझै तिब्र छ ।’ सरकारले पहिले भने झै भदौ १६ गतेपछि पनि लामो दुरीको यातायात खुल्ने सम्भावना नदेखेको उनले बताए ।

भदौ १ गतेदेखि गाडी चलाउने भनेर श्रेष्ठले ठुलो रकम खर्चेर ती गाडी तयारी अवस्थामा राखेका थिए। तर, एकदिन पनि गुड्न नपाई ती गाडी फेरि थन्किएका छन्। संक्रमणको गति तिब्र रहेकोले अझै कम्तिम एकमहिना ती गाडी सडकमा ल्याउने अवस्था नरहँदा आफुहरुले गरेको लगानी पुन खेर जाने सम्भावना रहेको उनले बताए। ‘कठिनका साथ ३५ लाख रुपैयाँ खर्च गरेर ती गाडी तयार पारियो। चारमहिना भन्दा बढीसमयदेखि थन्किएका गाडी मर्मतसम्भार गर्दा ऋण थपियो, तर, एकदिन पनि गाडी गुडाउन पाइएन,’ उनले भने, ‘अझै एकमहिना त गाडी चल्ने अवस्था नहुँदा फेरि पहिलेकै झै लाखौं खर्चेर तिनै गाडी मर्मतसम्भार गर्नुपर्ने अवस्था आउनेछ ।’  

यातायात व्यवसायीका अनुसार लामो समय गाडी रोकिँदा इन्जिन आयल, ब्याट्रि, टायर, टायरको ग्रिज, गियर आयल, ट्यांकिको इन्धन लगायतमा नोक्सान पुग्छ। गुडाउँदाको अवस्थामा ६ महिना चल्ने सवारी रोकिरहँदा २ महिनामा नोक्सान हुने उनीहरुको भनाई छ। गाडीका पाटपुर्जामा खिया लाग्यो भने हुने गरेको व्यवासायीको भनाई छ। ‘कम्तिमा एकमहिना गाडी चल्ने अवस्था रहन्न।  त्यसैले फेरि केही रकम यिनै गाडीका लागि खर्चनुपर्छ,’ उनले भने, ‘पहिलेजति खर्च नभएपनि कम्तिमा ५० प्रतिशत लगानी फेरि हुन्छ। यसले यातायात व्यवसायी बढी मारमा छन ।’ आर्थिक भार थपिएकोले यसअघि पनि दशवटा मात्र गाडी तयार पारेको उनले सुनाए।  

पोखराबाट विभिन्न क्षेत्रमा सिधा बस सेवा दिईरहेको जगदम्बा यातायातसँग ६५ वटा गाडी छन्। जगदम्बाका संचालक केशब अधिकारीले पोखरा–काठमाडौ–पोखरा र पुर्वका गन्तव्यसम्म चलाउने भनेर भदौ १ गतेका लागि १२ गाडी तयारी अवस्थामा राखेका थिए। ती गाडी संचालनका लागि बिदामा रहेका कर्मचारीलाई बोलाएर प्रशिक्षण दिनुका साथै सवारी मर्मतसम्भारसँगै चिटिक्क पारेका थिए। तर, अधिकारीले पनि ती गाडी एकदिन पनि गुडाउन पाएनन। मर्मतसम्भारका लागी ग्यारेज लगिएका गाडी मर्मतपछि बाहिरै निकाल्नु नपरेको उनले बताए। ती गाडी मर्मतसम्भारका लागि अधिकारीले २५ लाख रुपैयाँ खर्च गरेको बताए ।

‘सरकारले भदौ १ गतेदेखि लामो दुरीको सवारी चल्ने भनेपछि गाडी मर्मसम्भार र सरसफाई गरियो। बिदाका कर्मचारी बोलाएर भौतिक दुरी कायम गर्ने र स्वास्थ्य मापदण्डा पालनाको तरिका सिकाईयो,’ अधिकारीले भने, ‘तर, एकदिन पनि गाडी गुडाउन पाइएन। तालिम लिएका कर्मचारीलाई काम दिन सकिएन ।’ बसका सबै यात्रुलाई मास्क, पञ्जा दिने, हरेक पटकको दुरी पुरा गरेपछि सवारी निसंक्रमण पार्ने बारे प्रशिक्षण दिएको उनले सुनाए।  

‘करिब २५ लाख रुपैयाँ खर्चेर गाडी तयार पा¥यौ। तर, गाडी ग्यारेजबाट बाहिर निकाल्न समेत पाइएन,’ अधिकारीले भने, ‘ती गाडी फेरि पहिलेकै ठाउँमा लगेर ठड्यायौं ।’ उनका अनुसार लकडाउनले झन्डै पाँचमहिना थन्किएका ती गाडीमा इन्जिन आयल, ब्याट्रि, टायर, टायरको ग्रिज, गियर आयलमा नोक्सान पुगेको थियो। हरेक गाडीका अघिल्ला दुईवटा टायर फेरेको उनले बताए। एउटा टायरको करिब ३० हजार रुपैयाँ पर्छ। गाडीका अघिल्ला टायर बढी संवेदनशील हुने भएकोले रिस्क हुने ठानेर १२ वटै गाडीको अघिल्ला दुवै टायर फेरेको उनले बताए। ‘झन्डै २५ लाख रुपैयाँ त्यो बेला खर्च भयो,’ उनले भने, ‘अघिल्लो पटकको मर्मतपछि ती गाडी चल्न पाएनन। अब पनि एक–दुई महिना चल्ने अवस्था छैन। लामो समय रोकिँदा ती गाडी पुन मर्मत गर्नुपर्ने हुन्छ ।’  

चलायमान हुनुपर्ने सवारी महिनादिन थन्किँदा क्षति हुने उनले बताए। ‘मैल त अझै डेढ–दुई महिना गाडी चल्ने सम्भावना देख्दिन। ठाउँठाउँमा निषेधाज्ञा भएकोले लामो दुरीमा सवारी चल्दैन,’ अधिकारीले भने, ‘यही अवस्था केही समय लम्बिए अहिले मर्मत गरेका गाडीमा फेरि उत्तिकै आकारमा लगानी गर्नुपर्छ। बरु पहिल्यै तयार नगरेको भए अहिलेको खर्च जोगिन्थ्यो ।’  

पृथ्वी राजमार्ग बस संचालक कम्पनिका अध्यक्ष योगेन्द्रबहादुर केसीका अनुसार कम्पनिमा सबैगरि १३९७ वटा गाडी छन्। ६३ जिल्लामा पृथ्वीका यी गाडी गुड्छन। हरेक दिन पृथ्वीका ५ सय गाडी कुनै न कुनै रुटमा गुडिरहेका हुन्छन्। भदौ १ देखि लामो दुरीमा सवारी चलाउने भनेर सरकारले तयारी गर्न लगाएपछि पृथ्वीका करिब एकहजार गाडी मर्मतसम्भार गरेर तयार पारिएपनि ती गाडी गुड्न नपाउँदा व्यवासायीलाई ऋणको भार बढेको केसीले बताए। ‘भदौ १ गतेबाट गाडी चलाउने भनेर तयारी ग¥यौं। तर, फेरि भदौ १६ गतेसम्म सरकारले रोक्यो। भदौ १६ पछि पनि लामो दुरीको सवारी चल्ने सम्भावना न्यून छ,’ केसीले भने, ‘किनकी अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको छ। संक्रमण पनि उस्तै तिब्र गतिमा बढ्दो छ ।’ भदौ १ देखि संचालन हुने भनेर यातायात व्यवसायीले झन्डै पाँचमहिनादेखि थन्किएका गाडी मर्मतसम्भार गरेको भएपनि एकदिन पनि गुडाउन नपाउँदा झनै अप्ठेरो परेको उनले बताए।  

‘व्यवसायीले ऋण खोजेर भएपनि गाडी मर्मतसम्भार गरे। घरमा पुगेका कर्मचारीलाई पास बनाएर पोखरा बोलाए,’ उनले भने,‘तर, ती कर्मचारीले एकदिन पनि काम पाएनन। जसोतसो पोखरा आएका कर्मचारी घर फर्किन सकेनन ।’ यसअघि सरकारले अन्तरजिल्ला सवारी चलाउन अनुमति दिँदा करिब ५ सय सवारी छोटो रुटमा केहीदिन चलेपनि त्यसपछि थन्किएको उनले बताए। ‘अन्तर जिल्लाका रुटमा केहीदिन गाडी गुडे। तर, ती गाडी अहिले पुन थन्किए। लामो दुरीको गाडीको त अहिले कल्पना नै नगरौं,’ उनले भने।  

उनका अनुसार क्यु अनुसार सबै रुटका बस चलाउन व्यवासायीले एउटा गाडीका लागि कम्तिमा एकलाख रुपैयाँ खर्च गरेका छन्। अधिकांश गाडीका अघिल्ला टायर फेरिएको छ भने अरु तयारीमा पनि खर्च गरेका छन्। ‘गाडी गुडाउँदा ६ महिना चल्ने सवारी रोकिरहँदा २ महिनामा नोक्सान हुने रहेछन्,’ उनले भने, ‘अझै डेढ–दुई महिना गाडी चल्ने अवस्था नआउँदा अहिले लगानी गरेका व्यवसायीले कम्तिमा ५० प्रतिशत लागत पुन तिनै गाडीमा थप्नुपर्छ। समय लम्बियो भने त्यो लागत झनै थपिँदै जानेछ ।’  

यातायात क्षेत्र अनिश्चित बन्दा व्यवसायी पलायनको बाटोमा लागेको उनले बताए। ‘सरकारले यातायातलाई अझैपनि आंशिक प्रभावितमा राखेर लाचारीपन देखाएको हो। अति प्रभावित क्षेत्रमा नपरेकोले बैंक तथा वित्तीय संस्थाले पुर्नकर्जा कोषको ऋण नपाउने अवस्था छ,’ उनले भने, ‘यसले व्यवसायीको ठुलो लगानी जोखिममा पर्ने पक्का छ।’  

प्रकाशित: ६ भाद्र २०७७ ११:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App