जिउँदो कुखुरामा प्रतिकिलो पाँच रुपैयाँ र मासुमा ८ रुपैयाँले बढाइएको छ।
आजबाट लागू हूने नयाँ मूल्य अनुसार जिउँदो ब्रोइलर कुखुराको भाउ किलोको १ सय ६५ रुपैयाँ हुनेछ भने मासुको मूल्य किलोको २ सय ३५ रुपैयाँ पुग्ने व्यबसायीले वताएका छन्।
कुखुरा पाल्ने किसानले भने जिउँदो ब्रोइलरको प्रति किलो एकसय ५५ रुपैयाँ पाउनेछन्। व्यबसायीले गत जेठ २७ गते कुखुरा र मासुको मूल्य घटाएका थिए। अहिले ताजा तरकारीको मूल्य बढेको र चल्लाको समेत भाउ बृद्धि भएको जनाउँदै व्यबसायीले कुखुराको मूल्य बढाउने निर्णय गरेका हुन्।
'सबै चिजको मूल्य बढेको छ त्यसैले कुखुराको मूल्य पनि बढाइएको हो'- राष्ट्रिय कुखुरा बिक्री व्यबसायी संघका महासचिव जंगबहादुर बिसीले भने। वर्षाको समय भएकोले अहिले कुखुराको उत्पादन थोरै छ।
चल्लाको मूल्य पनि बढेकोले मासुको मूल्य बढाउनु परेको तर्क कुखुरा व्यबसायी गोकर्ण घिमिरेको छ। 'दुई महिना अघि ३८ रुपैयाँ पर्नेै चल्लाको मूल्य ४२ रुपैयाँ पुगिसक्यो'- उनले भने।
मासुको माग विस्तारै बढ्न थालेकोले पनि व्यबसायीले मूल्य बढाएका हुन्। जेठ असारको गर्मीमा मासुको माग ३० प्रतिशतले घटेको थियो। त्यसबेला व्यबसायीले मूल्य घटाएका थिए।
काठमाडौंमा जेठको पहिलो साता मासुको मूल्य बढेर किलोको २ सय ४० रुपैयाँ पुगेको थियो। नेपालमा साताको १८ लाख किलो कुखुराको मासु खपत हुन्छ। गर्मी भन्दा जाडो समयमा मासुको खपत बढी हुन्छ।
पाँच महिना अघि बर्डफ्लु रोग आएको समयमा मासु किलोको ९० रुपैयाँमा झरेको थियो।
प्रकाशित: १८ श्रावण २०६६ ०१:३१ आइतबार





