८ वैशाख २०८१ शनिबार
अर्थ

शे फोक्सुण्डोमा पुग्दैन सरकारी चामल

बाजुरा र मुगुमा पनि खाद्यान्न अभाव

मुुलुकको दुर्गम क्षेत्रमा चामल आपूर्तिको जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले डोल्पाको शे फोक्सुण्डो गाँउपालिकामा गत वर्ष एक दाना पनि अनुदानको चामल लैजान सकेन ।

खाद्यको डोल्पा तिन्जे डिपोमा गत वर्ष स्वीकृत ४५ सय क्विन्टल चामलमध्ये एक गेडा पनि पुगेन । त्यसको अघिल्लो वर्ष चार हजार क्विन्टल स्वीकृत कोटामा २४ सय क्विन्टल मात्र पुगेको थियो । गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले गएको वर्षभरि चामल ढुवानीको लागि सबैतिर माग गर्दा पनि काम नभएको बताए । ‘हामीले प्रशासन, खाद्यदेखि यस क्षेत्रका सांसद कहाँसम्म कुरा पु¥यायौं तर ढुवानीको लागि कतैबाट पहल भएन,’ उनले भने, ‘चामल नहुँदा यहाँका बासिन्दाले कैयौं दिन लगाएर दुनै पुगेर गर्जो टारे ।’ उनले समस्या राख्दा तिब्बतको बाटो हुँदै ढुवानी गर्नुपर्नेमा चीनले स्वीकृति नदिएको भन्ने जवाफ दिएको पनि बताए । ‘तिब्बतको बाटो ल्याउँदा कम खर्च लाग्ने भनियो तर वर्ष बित्यो चामल आएन,’ उनले भने ।  

खाद्यका डोल्पा शाखा प्रमुख कमलराज पाण्डेय खाद्यलाई डोल्पामा सडक मार्गबाट मात्र ढुवानी गर्ने स्वीकृति भएको र कोरोनाको कारण चीनले तिब्बतको बाटो प्रयोग गर्न नदिँदा चामल पु-याउन नसकिएको बताउँछन् । ‘सामान्य अवस्था भएको भए चैतको अन्तिमसम्म तिब्बत हुँदै चामल पुग्थ्यो । तर अहिलेसम्म पनि जान अनुकूल रहेन,’ उनले भने, ‘त्यसअघिको वर्षको चामल मौज्दात रहन्थ्यो होला तर स्थानीयबाटै माग कम भयो ।’ खाद्यले तिन्जेमा अस्थायी डिपो सञ्चालन गरेको छ । पाण्डेयले चीनले १५ दिनको मात्र भिसा स्वीकृति दिने हुनाले १५ दिनको लागि मात्र डिपो सञ्चालन हुँदै आएको बताए । खाद्यका नायब महाप्रबन्धक श्रीमणिराज खनाल तिब्बतको बाटो हुँदै ढुवानीको लागि परराष्ट्र स्तरबाट पहल भए पनि सम्भव नभएको बताउँछन् । ‘डोल्पामा हामीलाई हेलिकप्टरबाट ढुवानी गराउन स्वीकृति दिइएको छैन । अर्को कुरा हेलिकप्टरबाट सम्बन्धित ठाउँमा ढुवानी गराउन पनि चीनको सीमा क्षेत्र हुनाले सम्भव छैन,’ खनालले भने, ‘स्थानीय तहले आफ्नै पहलमा दुनैबाट ढुवानी गराउन सक्थे, तर चासो देखाएनन् ।’

उता बाजुरा र मुगुमा पनि खाद्यान्न अभाव सुरु भएको छ । बाजुरामा अगाडिको मौज्दात सकिएको र नयाँ ढुवानीका लागि सडक बिग्रिएसँगै खाद्यान्न अभाव देखिएको खाद्यको बाजुरा शाखाका प्रमुख मेघराज ओझाले जानकारी दिए । उनले शाखा कार्यालय रहेको गोदाममा अहिले चार सय क्विन्टल मौज्दात रहे पनि अन्य डिपो र बिक्री केन्द्रमा चामल नरहेको बताए ।  

‘जिल्लामा रहेको चामल पनि बिक्री गरेको भए रहने थिएन । बाँडे दुई दिनमै सकिन्छ । आपतकालीन स्थितिको लागि राखिएको छ । अन्यत्र अगाडिदेखि नै चामल अभाव भएको हो,’ प्रमुख ओझाले भने, ‘कोल्टी डिपोमा असार मसान्तमा एक सय ७३ क्विन्टल चामल थियो । अन्य डिपो र बिक्री केन्द्रमा त्यसअघि नै चामल छैन ।’  

उनले जिल्ला खाद्य व्यवस्था समितिले हवाई मार्गबाट ढुवानी गर्ने गरी गत साउन २७ मा माग पठाएको बताए । ‘अहिले बजारमा पनि चामल छैन । खाद्यकै चामलको भरमा रहेका बाजुराको माथिल्लो भेगका उपभोक्ता त झनै मारमा छन्,’ उनले भने, ‘अगाडिको मौज्दात भएकाले अहिलेसम्म त खाँदै होलान् । भदौ, असोजमा झनै ठूलो समस्या देखिन सक्छ ।’ तत्काल सडकबाट सम्भव नभएकोले, हवाई मार्गबाट ढुवानी गर्नुपर्ने उनी बताउँछन् ।

ओझा गएको आर्थिक वर्षमा कोटा अनुसार चामल नआएको तर माग बढी भएको कारण अहिले अभाव भएको बताउँछन् । उनले भने, ‘गत वर्ष मार्तडी र कोल्टीमा सात हजार क्विन्टलको दरमा कोटा थियो । तर मार्तडीमा ४५ सय र कोल्टीमा २८ सय क्विन्टलमात्र आयो ।’  

खाद्यका सुदूरपश्चिम प्रदेश प्रमुख अनिलकुमार श्रेष्ठ स्वीकृत कोटा अनुसारको चामल नगएको मान्न तयार छैनन् । ‘अन्य क्षेत्रमा तत्काल खाद्यान्न अभाव नदेखिए पनि बाजुरामा चामल अभाव भएकै हो । तर गत वर्ष अघिल्लो वर्षको पर्याप्त मौज्दात भएको कारण नपठाइएको हाे’ श्रेष्ठ भन्छन्, ‘लकडाउन अगाडिसम्म बाजुरामा खपत कम भएर कवाडीतिर पठाइएको थियो । लकडाउन भयो, निजी क्षेत्रले ढुवानी गरेनन् । खाद्यकै भर पर्दा अभाव भयो ।’ उनले यो अवस्था आउने आँकलन नभएर बाजुरामा खाद्यान्न संकट देखिएको बताए । उनी बाजुरमा तत्काल चामल पु-याउन पहल भइरहेको बताउँछन् । उनी भन्छन्, ‘खच्चरबाटै पनि ढुवानी गर्न सकिन्छ कि भनेर कुरा भइरहेको छ । केही महँगोमा ढुवानी गर्ने सर्तमा ढुवानीकर्ता तयार देखिएका छन् ।’

खाद्यका मुगु शाखा प्रमुख कर्ण रावलले त्यहाँ सूचना टाँसेरै चामल बिक्री रोकिएको जानकारी गराएका छन् । ‘शाखाको गोदाममा जम्मा पाँच सय क्विन्टल बाँकी छ, अन्य डिपो र बिक्री केन्द्रका गोदाममा चामल छैन,’ रावलले भने, ‘प्रशासनको निर्देशन अनुसार मौज्दात रहेको चामल बिक्री बन्द गरिएको छ, खुला गरे एकै दिनमा सकिन्छ ।’ उनले अगाडिदेखि माग गरिएको भए पनि चामल नआएको बताए । उनले भने, ‘ढुवानीको लागि टेन्डर स्वीकृत भइसकेको छ, तर बाटो बिग्रिएको छ । कहिलेसम्म बन्छ टुंगो छैन ।’ उनले पनि मुगुमा गत वर्ष स्वीकृत कोटाभन्दा कम चामल गएको बताए ।

महाप्रबन्धक खनालले केही जिल्लामा खाद्यान्न अभावको जानकारी आएको र कसरी ढुवानी गर्न सकिन्छ भनेर छलफल भइरहेको बताए । उनले भने, ‘चामल पर्याप्त छ, पहिलो त सडक नै हो विकल्प । हवाई मार्गबाट पठाउन बढी महँगो पर्छ तर त्यो विकल्प पनि खुलै छ ।’

प्रकाशित: ५ भाद्र २०७७ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App