१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

लाङटाङ निकुञ्ज क्षेत्रमा सञ्चालित होटलको टेन्डर प्रक्रिया सुरु

पर्यटकीय क्षेत्र क्यान्जिन उपत्यका । तस्बिर: हिमनाथ देवकोटा/नागरिक

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको टेन्डर प्रक्रिया अघि बढेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ०७४/७५ मा टेन्डर गर्ने तयारी गरे पनि विभिन्न कारणले टेन्डर हुन सकेको थिएन ।  

भूकम्पका कारण व्यवसाय धरासायी भएपछि केही समय टेन्डर रोकिएको थियो । गत आव ०७५/७६ मा टेन्डर हुने तयारी भए पनि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण टेन्डर नभएको निकुञ्जले जनाएको छ ।  

कोरोनाका कारण तत्काल टेन्डर नहुने भए पनि कार्यालयले तयारी सुरु गरिसकेको निकुञ्जका रेन्जर तथा सहायक सूचना अधिकारी रमेश बस्नेतले बताए । ‘अहिले तत्काल टेन्डर नभए पनि आन्तरिक तयारी सुरु भएको छ,’ उनले भने, ‘कोरोना संक्रमण कम भएपछि टेन्डर निकाल्छौं ।’ कोरोना संक्रमणका कारण होटल तथा पर्यटन व्यवसायमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीले राजस्व छुट मागिरहेका बेला निकुञ्जले भने टेन्डर प्रक्रिया अघि बढाएको छ । निकुञ्जका अनुसार आव ०७६/७७ मा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलले चार करोड ८६ लाख ७९ हजार आठ सय १६ रूपैयाँ राजस्व बुझाउनुपर्नेमा तीन करोड ४५ लाख ५७ हजार नौ सय पाँच रूपैयाँ बुझाएका छन् । अब व्यवसायीले एक करोड ४१ लाख २१ हजार नौ सय ११ रूपैयाँ राजस्व बुझाउन बाँकी छ ।  

निकुञ्ज तथा मध्यवर्ती क्षेत्र भित्र ५१ वटा होटल, लज तथा चिया पसल सञ्चालनमा छन् । उनीहरूले ग्रेडअनुसार वार्षिक रूपमा निकुञ्जलाई राजस्व बुझाउनुपर्छ । निकुञ्जका अनुसार ‘क’ वर्गका होटलले एक लाख २० हजार, ‘ख’ वर्गकाले ९० हजार, ‘ग’ वर्गकाले ६० हजार र ‘घ’ वर्गकाले २० हजार रूपैयाँ वार्षिक राजस्व तिर्नुपर्छ । चारै वर्गका होटल, लज तथा चिया पसललाई वार्षिक १० प्रतिशत शुल्क थपिँदै जान्छ । भूकम्प जानुअघि ५५ वटा होटल सञ्चालनमा थिए । भूकम्पपछि निकुञ्जले चारवटा होटलको सम्झौता रद्द गरेको थियो । लाङटाङ रुटमा २२, गोसाइँकुण्ड रुटमा १३ र ठाडेपाटी रुटमा १६ होटल सञ्चालनमा छन् । गएको चैतदेखि पर्यटकीय क्षेत्रमा सञ्चालन भइरहेका होटलमा पर्यटक आएका छैनन् । 

प्रकाशित: ५ भाद्र २०७७ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App