१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र। तस्बिर साैजन्य: विमानस्थल आयोजना कार्यालय

सर्वत्र चासोका रूपमा हेरिएको अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलको निर्माण कोभिड–१९ का कारण अझै लम्बिने भएको छ । कोभिड महामारीमा पनि निर्माण भने जारी थियो । कम जनशक्ति र कतिपय उपकरण नै ल्याउन नपाएपछि विमानस्थल निर्माण प्रभावित बनेको हो ।  

कोरोना संकटका बेला पनि विमानस्थल निर्माण भने अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ । अब आठ प्रतिशत मात्रै काम बाँकी रहेको आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए । उनका अनुसार रनवे लाइट जडान कार्य भइरहेको छ । टर्मिनल भवनमा एयर कन्डिसन तथा अन्य उपकरण जडानको कामसमेत अन्तिम चरणमा पुगेको छ ।  

निर्माण कार्य छिटोछरितो बनाउन आइसिबी १ र आइसिबी २ गरी छुट्याएर ठेक्का लगाइएको थियो । आइसिबी–१ कोे अधिकांश उपकरण जडान भइसकेको प्रमुख अधिकारीले बताए । आइसबी–२ अन्तर्गतका कम्युनिकेशन, नेभिगेसन र सरभिलेन्स (सिएनएस) को काम मध्ये डिभिओआर÷डिएमई सञ्चार उपकरण, मौसम पूर्वानुमान उपकरण जडानको क्रममा छ । यी मध्ये केही सामान भने आउन बाँकी छ ।  

विमानस्थलमा ठूला र समय लाग्ने कामहरू भने लगभग सकिएको छ । मुख्य गरी फिनिसिङका काम बाँकी छन् । यसैगरी धावनमार्ग वरिपरि पेरिमिटर सडक निर्माण पनि बाँकी छ । बाँकी उपकरण र विशिष्ट दक्ष प्रविधिक आउने क्रममा छन् ।  

सरकारले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेपछि ति प्राविधिक र उपकरण ल्याएर जडान गर्ने काम हुने आयोजनाका सूचना अधिकारी मोहन आचार्यले बताए । ‘अब करिब काम सम्पन्न भइसकेको छ, फिनिसिङ र केही काम मात्रै बाँकी छ,’ उनले भने । मुआब्जावापत दिनुपर्ने क्षतिपूर्ति रकम पनि दिइसकेको छ । २१ अर्ब रूपैयाँ मुआब्जाका लागि दिइएको सूचना अधिकारी आचार्यले बताए ।

सन् २०१५ बाट विमानस्थल निर्माणको काम सुरु भएको हो । निर्माण सुरु भएदेखि नै नाकाबन्दी, भूकम्पजस्ता ठूला समस्या तथा अन्य विविध कारणले विमानस्थल निर्माणको काम समयमै सकिएन । जसका कारण तेस्रो पटक थप गरिएको म्यादमा काम भइरहेको छ । अहिले पनि विश्व नै कोरोना भाइरसको माहामारीमा परेपछि त्यसको प्रभाव विमानस्थल निर्माणमा पर्नु स्वभाविक छ । तर, आयोजनाले भने लकडाउनपछि रोकिएका चिनियाँ र नेपाली कामदारबाट भने निर्माणको कामलाई निरन्तरता दिइरहेको छ ।

कोरोना कहरबीच ९२ प्रतिशत भौतिक प्रगति

फिनिसिङ र उपकरण जडान कार्य धमाधम  

यो विमानस्थल निर्माण सम्पन्न हुँदा काठमाडौंपछिको दोस्रो अन्तर्राष्ट्रिय उडान हुने विमानस्थल बन्ने छ । काठमाडौंमा अन्तर्राष्ट्रिय उडानको चापलाई यसले सहज बनाउने छ । विमानस्थल निर्माणका लागि सरकारले उच्च प्राथमिकतामा राखेको छ । मुलुक अहिले कोरोना भाइरसविरुद्धको लडाइँमा छ । तर, यो महामारीसँगै विमानस्थल आयोजनाले भने उपलब्धिमुलुक बनाउने प्रयत्न गरेको छ । लकडाउनका अवधिमा पनि करिब चार प्रतिशत भौतिक प्रगतिको काम गरेको आयोजनाले जनाएको छ ।  

विमानस्थल निर्माणको काम पटक पटक थपेर गएको मार्च ३१ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । अझै आठ प्रतिशत काम कोरोना भाइरसको सन्त्रास हटेर वातावरण सामान्य भएपछि पनि कम्तीमा तीन महिना लाग्ने प्रमुख अधिकारी बताउँछन् । म्याद त थप्नुपर्ने भन्दै अब धमाधम काम हुन पाए चाँडै सम्पन्न हुने उनको भनाइ छ ।  

नाकाबन्दी, भूूकम्पले गर्दा निर्माणमा अल्झिएको थियो । त्यसपछि पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारी भएपछि निर्माणले गति लिएको थियो । स्व. मन्त्री अधिकारीले प्रत्येक महिनाजसो गौतम विमानस्थलमा आएर निर्माणको प्रगतिबारे जानकारी लिने गर्थे । अहिले पर्यटनमन्त्री योगेश भट्टराईले पनि उतिकै महत्व दिएर निर्माणको कामलाई अघि बढाउन निर्देशन दिने गरेका छन । मन्त्री भट्टराईले पनि बेलाबेलामा विमानस्थल निर्माणबारे जानकारी लिने गरेका छन् ।  

राष्ट्रिय गौरवको आयोजनालाई समयमै सम्पन्न गर्ने गरी पछिल्लो समय कामको गति बढेको थियो । तर कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले भने यो गतिमा ब्रेक लगाइदिएको छ । लकडाउनमा पनि आयोजनाले भने रोकिएका कामदारबाट टर्मिनल बिल्डिङमा उपकरण जडानको काम गराइरहेको जनाएको छ । लकडाउन लम्बिदै गएकाले यसको काम सकिने बेलासम्म पनि निर्माणाधीनमै रहेको आयोजना प्रमुख इन्जिनियर अधिकारीले बताए ।  

चीनमा कोरोनाको महामारी नै भएकाले चिनियाँ मजदुर तत्तकाल त्यहा फर्कने अवस्था भएन । त्यसपछि विमान स्थल निर्माणमा खटिएका करिव १ सय १० जना मजदुरलाई स्टक रहेको सामानबाट निर्माणको काममा लगाइएको हो । विमानस्थल आयोजना प्रमुख अधिकारीले विमानस्थलको काम धमाधम अघि बढाउनुपर्ने बेलामा कोरोनाले गर्दा थोरै रूपमा भएपनि रोकिएका मजदुरहरूको उपयोग गरिएको बताए ।  

उनले अन्य बेलामा भने दुई सय ५० जति प्राविधिक र मजदुर निर्माणको काममा खटिन्छन् । क्याम्पभित्र बसेका मजदुरबाट सहज अवस्थामा जस्तो धेरै काम लिन नपाए पनि उपकरण जडानका काम भने नियमित भइरहेको छ । कोही क्याम्पभित्रैका मजदुर छन् भने कतिपय नजिकैबाट पैदल आएर काममा खटिएका छन् । अहिले विमानस्थलको उडान रोकिएकाले कतिपय काम गर्न भने सहज भएको छ । पूरानो धावनमार्गमा विद्युतीय कार्य जस्तै लाइट जडान, पोइन्ट निर्माणको काम गरिएको आयोजनाले जनाएको छ ।  

गौतमबुद्ध विमानस्थल निर्माणको लागत ६ अर्ब ८२ करोड रूपैयाँ छ । यो रकम जग्गा अधिग्रहण बाहेकको रकम हो । एसियाली विकास बैंक (एडिबी) को ४०.५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ । तत्कालीन प्रधानमन्त्री सुुशील कोइरालाले २०७१ माघ १ गते विमानस्थलको शिलान्यास गरेका थिए । १० मेघावाट सौर्य ऊर्जा निकाल्न करिब एक अर्ब लगानी लाग्ने अनुमान छ । सन् २०१४ नोभेम्बर १३ मा ८५.५५७ मिलियन डलरको परियोजना प्राधिकरणले चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनसँग आइसिबी १ नम्बर परियोजनाका लागि ७८.३ मिलियन डलरमा निर्माण सम्झौता गरेको थियो ।

प्रकाशित: ४ भाद्र २०७७ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App