coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

निःशुल्क मिटरबक्समा लिइएको पैसा फिर्ताको माग

निःशुल्क वितरण गर्नुपर्ने मिटरबक्समा रकम असुल गरिएको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीयले पैसा फिर्ता मागेका छन् । नेपाल विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रबाट गरीब तथा विपन्न ११५ परिवारका लागि उपलव्ध भएको मिटरबक्स वितरणकाक्रममा रकम असुल गरिएको भन्दै ४१ घर स्थानीयले आफ्नो पैसा फिर्ताको माग गरेका हुन् ।  

निःशुल्क पाउनुपर्ने मिटरबक्स लिनेक्रममा विद्युत विस्तार उपभोक्ता समितिलाई शुल्क बुझाउनु परेको भन्दै स्थानीयले पैसा फिर्ताका लागि शुक्रबार वडा कार्यालय खार्मीमा संयुक्त निवेदन दिएका छन् । उनीहरुसँगै २९ घर स्थानीयले पोल ढुवानीकाक्रममा एक/एक हजार तिरेको भन्दै वडा कार्यालयमा रकम फिर्ताका लागि निवेदन दिएको नेकपा वडा कमिटि खार्मीका अध्यक्ष हर्कराज राईले बताए ।  

नेकपा वडा कमिटि खार्मीले नेपाल विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रबाट गरीब तथा विपन्न परिवारका लागि निःशुल्क उपलव्ध भएको मिटरबक्समा ७५० रुपैयाँदेखि २ हजारसम्म रकम असुल गरिएको आवाज उठाएपछि साउन २८ गते जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको द्धि–पक्षीय छलफलमा पिडितले वडा कार्यालयमा निवेदन दिने र वडा कार्यालयमार्फत रकम फिर्ताका लागि पहल गर्ने निर्णय अनुशार उनीहरुले निवेदन दिएका हुन् । संयुक्त रुपमा निवेदन आएकाले पुनः व्यक्तीगत रुपमा छुट्टाछुट्टै निवेदन दिनका लागि आग्रह गरिएको खार्मीका वडाध्यक्ष रामचन्द्र राईले बताए ।

‘उहाँहरुले एउटै निवेदनमा सही गराएर ल्याउनु भएको रहेछ । नागरिकता र लालपुर्ताको फोटोकपी सहित पीडितलाई निवेदन ल्याउन भनिएको छ,’ वडाध्यक्ष राईले भने, ‘निवेदनमा मिटरबक्स र पोल ढुवानीकाक्रममा उठाएको पैसा फिर्ता दिन माग गरिएको छ । लालपुर्जाको आधारमा विपन्न हो वा होईन छुट्याएर कारबाही अघि बढाउँछौँ ।’  

गरिब तथा विपन्नलाई निःशुल्क दिनुपर्ने मिटरबक्स सशुल्क वितरण गरिएको भन्दै नेकपा वडा कमिटि खार्मीले साउन २६ गते जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ज्ञापन–पत्र बुझाएको थियो । हाल विद्युतीकरण भइरहेको खार्मीमा विद्युत विस्तार उपभोक्ता समितिले ७५० रुपैयाँदेखि २ हजारसम्म शुल्क लिएर मिटरबक्स वितरण गरिएको नेकपा वडा कमिटिका अध्यक्ष राईले दावी गरे । प्राधिकरणबाट गरीब तथा विपन्नको नाममा गाउँ लगेको मिटरबक्स सम्पन्न परिवारलाई पनि विपन्नको सिफारिस दिएर सशुल्क वितरण गरेको नेकपाको दाबी छ ।  

नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका अनुशार खार्मीमा २०७६ सालमा ७३ घरधुरी र २०७७ सालमा ४२ घर धुरीका लागि निःशुल्क मिटरबक्स लगिएको छ । तर, उपभोक्ता समितिका अध्यक्ष केमल राई, सचिव शुक्रबहादुर श्रेष्ठ, सदस्य डाकमनी तामाङ र महेन्द्र राईले प्रतिघर ७५०, १ हजार, १ हजार २ सय र २ हजारसम्म असुल गरेको ज्ञापन–पत्रमा आरोप लगाइएको छ ।

प्राधिकरणका अनुशार मिटरबक्स लिनका लागि विपन्नलाई सेवा शुल्कवापत ५५ रुपैयाँ मात्र लाग्ने व्यवस्था छ । आरोपित उपभोक्ता समितिका अध्यक्ष राईले भने मिटरबक्सवापत रकम नलिएको दाबी गरे । मिटरबक्स विवादलाई राजनैतिक ‘इस्यू’ समेत बनाइएको टिप्पणी गरिएको छ ।

प्रकाशित: ३१ श्रावण २०७७ १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App