१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पहाडका बजारमा तराईका आँप

दिक्तेलबजारको पशल अगाडि तराईबाट आएका आँप बिक्री गर्दै व्यवसायी । तस्बिर: दमन राई/नागरिक

हिजोआज खोटाङका प्रमुख व्यापारिक केन्द्रका फलफूल तथा अन्य पशलमा आँप किनबेच भइरहेका दृश्य देखिन्छन् । सिजनमा पाइने आँप किन्नका लागि ग्राहकको बाक्लै भीड लागेको देखिन्छ । तर, स्थानीय बजारमा पाइने त्यी आँप जिल्लामा उत्पादित होइनन्, तराईबाट भित्रिएका हुन् । जिल्लामा व्यवसायीक रुपमा आँपको खेती नहुँदा दिक्तेल, हलेसी, बाक्सिला, अर्खौले, जयराम लगायतका स्थानीय बजारमा तराईका आँपले बजार लिएको हो ।  

गाडीक ागाडी भित्रिने आँप जिल्लामा प्रतिकेजी कम्तीमा डेढ सयदेखि अढाई सयसम्ममा बिक्री हुने गरेको छ । तथ्यांक यकीन नभए पनि एक सिजनमा अनुमानित ५ सय मेट्रिक टनको हाराहारीमा तराईका आँप भित्रिने गरेको उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए । ‘हरेक वर्ष जिल्लामा चानचुन पाँच सय मेट्रिक टनको हाराहारीमा आँप भित्रिन्छ,’ अध्यक्ष राईले भने, ‘जिल्लामा व्यवसायीक रुपमा आँपको खेती छैन । भएका खेती पनि परम्परागत छन् । उत्पादित आँपमा पनि किरा लागेको देखिन्छ । यो अवस्थामा तराईको आँपले स्थानीय बजार लिनु स्वभाविक हो ।’ स्थानीय आँपभन्दा तराईबाट भित्रिएका आँप गुलियो भएकाले पनि ग्राहकको रोजाइमा पर्ने गरेको छ । जिल्लाका किसानले व्यवसायीक रुपमा आँप उत्पादन नगर्दा आँपकै कारण लाखौं रकम बाहिरिने गरेको छ ।  

जिल्लामा आँप खेतीको प्रचुर सम्भावना छ । आँपको बजार पनि राम्रो छ । तर, यसको अझै पनि व्यवसायीक खेती भएको छैन । शोखले घर वरपर केही बोट आँप हुर्काउने बाहेक आँपको खेती लगाइएको छैन । स्थानीय स्तरमा आँपको व्यवसायीक खेती गर्ने किसानको अभावमा तराईबाट मालदह, अमरपालिका लगायतका जातका आँप भित्रिने गरेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । त्रि–धार्मिकस्थल रहेको हलेसी तुवाचुङ नगरपालिकाकै हलेसीमा तराईबाट भित्रिएका आँपले बजार ढाक्ने गरेको छ । ‘स्थानीय किसानले शोखका लागि र आफुले खानका लागि मात्र आँप लगाएको देखिन्छ । व्यवसायीक रुपमा खेती गर्ने किसान देखिएका छैनन्,’ मेयर राईले भने, ‘हलेसीमै तराईको आँपले बजार ढाकेको छ । पछिल्लो समय हरेक स्थानीय तहले किसानलाई आँपको बीउ वितरण गरिरहेको छ । केही वर्षपछि स्थानीय किसानले उत्पादन गरेकै आँपले बजार लिने अवस्था आउँछ ।’  

जिल्लाको कुभिन्डे, डुम्रेधारापानी, बिजयखर्क, याम्खा, महादेबस्थान, सल्ले, च्यास्मीटार, दुर्छिम, मंगलटार, बराहपोखरी लगायतका एक हजार मिटरभन्दा कम उचाई भएका बेँसी क्षेत्रमा आँप खेतीको सम्भावना छ । तर, आँप खेतीका लागि पकेट क्षेत्र मानिएको ठाउँका किसानलाई हरेक वर्ष बिरुवा बाँड्ने गरिए पनि यसको व्यवसायीक खेती गर्ने किसानको खडेरी देखिएको छ । आँपकै कारण बाहिरिने पैसालाई यही रोक्न सके जिल्लाकै अर्थतन्त्रको विकासमा टेवा पुग्ने मेयर राई बताउँछन् ।  

स्थानीय किसानले उत्पादन गरेका आँपका फलमा औंसा र गँवारो किराको प्रकोप देखिएकाले पनि पछिल्लो समय तराईको आँपले बजार लिएको हो । अर्कातर्फसडक सञ्जालको पहुँच विस्तारको कारणले पनि तराईका आँप भित्रिन सहज भएको हो । किराको प्रकोपका कारण फल पाक्न अगावै बिग्रने गरेका कारण विगत ६÷७ वर्ष यता हाट बजारमा स्थानीय प्रजातीका आँप आउन छाडेको छ । गाउँमा फलेका आँपका दाना बाहिरबाट हेर्दा राम्रो र खाउँ–खाउँ लाग्दो देखिए पनि काटेर भित्र हेर्दा औंसा र कालो गँवारो किरा र किराले बनाएको प्वाल नै प्वाल मात्र भेटिने गरेको छ ।  

झट्ट हेर्दा बाहिरबाट राम्रो र लोभलाग्दो देखिने आँप काटेपछि नखाइ फाल्नुपर्ने हुन्छ । चिचिला लागेदेखि आक्रमण गर्ने किराका कारण आँपका दाना झर्ने वा कुहिएर बिग्रीने गरेका कारण बजारमा नगन्य मात्रामा आँप पुग्ने गरेको च्यास्मीटारका स्थानीय रहरमान राईले बताए । अहिले प्रायः आँपमा चिचिला अवस्थामै झर्ने वा भित्रभित्रै बिग्रिने समस्या देखिएको छ ।

प्रकाशित: ३१ श्रावण २०७७ ११:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App