८ वैशाख २०८१ शनिबार
अर्थ

गाईभैंसीमा नयाँ रोग

नेपालमै पहिलोपटक गाईभैंसीमा नयाँ भाइरसजन्य रोग देखापरेको छ। भेटेरिनरी इपिडेमियोलोजिस्टले यो रोगलाई ‘लम्पी स्किन डिजिज (एलएसडी) भनी प्रमाणित गरेका छन्। नेपाल सरकारले विश्व पशु स्वास्थ्य संगठन (ओआइई) लाई पठाएको प्रतिवेदन अनुसार नेपालमा १२ सयभन्दा बढी गाई यो रोगबाट बिरामी परेका र १२ वटा मरिसकेका छन्।  

सिनियर भेटेरिनरी इपिडेमियोलोजिस्ट डा. सुरेन्द्र कार्कीका अनुसार गाईमा उच्च ज्वरो (१०४ फरेनहाइट वा माथि) आउने र शरीरमा साना ठूला गिर्खा देखिने, घाँटी, पछाडिको भाग, पेट र थुन वरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा यो रोगमा देखिने गर्छ।  

‘दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र पछि बाँझोपन देखिन सक्नेजस्ता लक्षण यो रोगमा देखिन्छन्। यो रोगबाट एउटा क्षेत्रमा सामान्यतया २० प्रतिशत जति गाई बिरामी हुने र एकदेखि पाँच प्रतिशतसम्म मर्न सक्छन्,’ उनी भन्छन्, ‘धेरै पशु नमरे पनि दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र बाँझोपन हुने भएकोले खोरेत रोगले जस्तै यसले पनि ठूलो आर्थिक क्षति पु-याउन सक्छ।’  

नेपालमा असारको तेस्रो सातातिर मोरङमा देखिएको यो रोग एक महिनाभन्दा पनि कम अवधिमा धेरै जिल्लामा फैलिइसकेको कार्कीको भनाइ छ। उनले भने, ‘एलएसडी यतिखेर झापा, सुनसरी, रौतहट, मकवानपुर, चितवन, काठमाडौं र काभ्रेपलाञ्चोक जिल्लामा फैलिसकेको छ भने इलाम, तनहुँ र कास्कीलगायत अन्य जिल्लामा समेत मिल्दोजुल्दो लक्षण (विशेष गरी गाईमा) देखापरेको छ।’  

भेटेरिनरी जर्नलमा उल्लेख भए अनुसार एलएसडी रोग सर्वप्रथम १९२९ मा अफ्रिकी मुलुक जाम्बियामा देखिएको थियो। त्यसयता लामो समय अफ्रिकाको रैथाने रोगको रुपमा रहेको एलएसडी सन् १९८९ मा इजरायलमा देखियो। कार्की भन्छन्, ‘सन् २०१२ पछि धेरै देशमा यो रोग महामारीको रुपमा फैलिन थालेको हो। मध्यपूर्व, दक्षिणपूर्वी युरोप, रसिया, काजकिस्तान, चीन हुँदै भारत र बंगलादेशमा गत वर्ष यो रोग भित्रिएको प्रमाणित भइसकेको छ।’ उनका अनुसार यो मुख्य गरी लामखुट्टे, झिँगा, किर्ना आदिको टोकाइबाट सर्छ।  

एलएसडी भाइरसजन्य रोग भए पनि मानिसमा भने नसर्ने डा. कार्कीको दाबी छ। उनी भन्छन्, ‘यो भाइरसजन्य रोग भएको र ठोस उपचार नभएको हुँदा प्राविधिकको सल्लाहमा लक्षण अनुसार उपचार गर्न सकिन्छ। यो रोगको खोप विदेशमा उपलब्ध भए पनि नेपालमा छैन। रोग धेरै फैलिने अवस्था आएमा विदेशबाट आयात गरी खोप प्रयोग गर्न सकिने उनले बताए।  

यसैबीच, पनौती नगरपालिका वडा नं ९ का एक किसानले पालेको भैंसीमा एलएसडी प्रमाणित भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलले एलएसडी मिल्दोजुल्दो लक्षण देखिएकाले भैंसीको गिर्खा केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाएको थियो। केन्द्र प्रमुख डा. मोगलप्रसाद शाह भन्छन्, ‘हामीले पठाएको सेम्पललाई आरटी–पिसिआर परीक्षण हुँदा एलएसडी प्रमाणित भएको छ।’

पछिल्लो समय पनौती लगायत नगरपालिका र नगरोन्मुख गाउँमा पशुपालन व्यवसाय फस्टाउँदै जाँदा काभ्रेभन्दा बाहिरबाट गाईभैंसी निर्वाध रुपमा ल्याइने गरेको छ। बिपी राजमार्ग हुँदै पूर्वी तराईबाट काभ्रे भित्रने प्रमुख नाका मंगलटारमा पशु क्वारेन्टाइन चेकपोस्ट नहुँदा रोगी र भाइरस संक्रमित पशु निर्वाध ओसारपसार हुने भएकाले तत्कालै क्वारेन्टाइनको व्यवस्था हुनुपर्ने पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटाको भनाइ छ। उनी भन्छन्, ‘बाहिरबाट आउने भैंसीले रोगसमेत ल्याउन सक्छ।’  

पनौतीमै पहिलोपटक रोग देखिएकाले यससम्बन्धी चेतनामूलक फ्लेक्स तथा किसानको गोठमै प्राविधिक परिचालन गर्दै रोग यकिन गर्न थालिएको उनले जानकारी दिए। ‘सरुवा रोग भएकाले प्राविधिकलाई एक गोठबाट अर्कोमा जाने क्रममा निसंक्रामक औषधि प्रयोग गर्न निर्देशन दिएका छौं। किसानलाई पनि भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र नभएका पशुबस्तु नकिन्न र नयाँ ल्याएकोलाई पुरानासँग मिसाएर नराख्न अनुरोध गरेका छौं,’ सापकोटाले भने।

प्रकाशित: २९ श्रावण २०७७ ०४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App