८ वैशाख २०८१ शनिबार
अर्थ

भनेकै समयमा उडान खोल्न माग

आन्तरिकतर्फका वायुसेवा कम्पनीहरुले नियमित उडान खोल्ने मिति अब पछि नधकेल्न आग्रह गरेका छन्। सरकारले यसअघि भदौ १ लाई तोकेको आन्तरिक तथा बाह्य हवाई उडान खोल्ने मिति अझै १५ दिनपछि सारेपछि वायुसेवा सञ्चालक संघले सोही मितिमा उडान सुरु गर्न आग्रह गरेको हो।

सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै नियमित उडान रोकेर चार्टर्डलाई मात्रै अनुमति दिएकोमा पनि व्यवसायीले असन्तुष्टि जनाएका छन्।  

आन्तरिक उडान रोक्दा महामारी नियन्त्रण हुन्छ भन्नु तार्किक नभएको व्यवसायीको टिप्पणी छ।वायुसेवा सञ्चालक संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निजी गाडी, एम्बुलेन्स, तरकारी बोक्ने गाडीमा घन्टौं यात्रा गराएर एक सहरबाट अर्को सहरसम्म जाँदा कोरोना नफैलने तर सुरक्षाका सबै प्रक्रिया पूरा गरी सञ्चालन हुने अधिकतम एक घन्टाको उडानबाट कोरोना फैलन सक्छ भन्ने सरकारी तर्क उचित नभएको संघले जनाएको छ। संघले थप १५ दिनको प्रतिबन्धले सेवाग्राही, श्रमिक, व्यवसायी तथा उद्योगलाई समेत अप्ठेरोपर्न जाने भन्दै सरकारलाई पछिल्लो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ।

संघका प्रवक्ता योगराज कँडेल शर्माले बिदामा रहेका कर्मचारीलाई काममा फिर्ता बोलाइसकेको र सम्पूर्ण व्यवसायीसमेत आवश्यक मापदण्डको आधारमा काममा फर्कन तयार रहेको अवस्थामा सरकारले उडानमा बारम्बार प्रतिबन्ध थप्दै जानु उचित नहुने बताए।

नियमित उडान नखोल्दा देशमा बाढी–पहिरो, असक्त बिरामी, सुत्केरीको उद्धारमा समेत समस्या भइरहेको उनको भनाइ छ।

‘आन्तरिकतर्फका उडान खोल्दा मात्रै महामारी फैलिने भन्ने सरकारसँग आधार के छ ? विदेशबाट हुने चार्टर्ड उडान जारी राख्न हुने तर स्वदेशी उडान हुनै नदिने भन्ने हुन्छ?’ उनले भने, ‘लकडाउनअवधिमा स्वदेशी विमानले उद्धार उडान भरिसकेको र हालसमेत विभिन्न हेलिकप्टरले चार्टर्ड उडान गरिरहेकाले स्वास्थ्य मापदण्डकार्यान्वयनमा जोड दिँदै नियमित उडानमार्फत सेवामा आवद्धसबैलाई काममा फर्कने वातावरण बनाउनुपर्छ।’

हवाई कम्पनीहरुले टिकटसमेत बुकिङ गरिसकेकाले उडान संख्या कटौती गरेरै भएपनि सेवामा फर्कने वातावरण बन्नु आवश्यक रहेको उनले बताए।

विमान कम्पनी, विमानस्थल र व्यवसायीले आवश्यक मापदण्ड बनाइसकेको र सरकारले समेत तयारी, अध्ययन गरिसकेकोले स्वास्थ्य निर्देशिका अनुसार स्वस्थ मानिसमात्रै विमानसम्म पुुग्ने भएकाले महामारी नियन्त्रणसँगै चहलपहलमा हवाई सेवा उपयुक्त माध्यय हुने उनको धारणा छ।

‘लकडाउनयता आन्तरिकतर्फका हवाई कम्पनीले १६ अर्ब नोक्सान भोगिसकेका छन् भने लुकिछिपी कोचिएर यात्रा गर्दा लाखौंको मानव अधिकारसमेत हनन् भइरहेको छ,’ उनले भने।

सरकारले फेरि पनि समय लम्ब्याए हवाई व्यवसायी आन्दोलनमा उत्रन बाध्य हुने कँडेलले बताए।

सरकारले विदेशबाट हुँदै आएका चार्टर्ड उडानबाट दैनिक पाँच सय यात्रु नेपाल प्रवेश गर्नदिने निर्देशन दिएको र आन्तरिकतर्फका हवाई कम्पनीमा समेत निश्चित उडान संख्या र प्रतिघन्टा यात्रु बोक्ने क्षमता निर्धारण गरेर उडान खोल्नुपर्नेमा उनले जोड दिए।

संघले जारी गरेको विज्ञप्तिमा लामो समय हवाई सेवा बन्द हुँदा यसमा आश्रित हजारौं श्रमिकको आयस्रोत र तिनका परिवारको रोटीरोटी बन्द भएको उल्लेखछ। संघको तर्फबाट अध्यक्ष रामेश्वर थापाले भनेका छन्, ‘आन्तरिक हवाई सेवा तत्काल सञ्चालनमा नल्याउने हो भने सेवा नै बन्द हुने अवस्था आउन सक्छ। सरकारले भदौ १६ बाट हवाई सेवामा पुन रोक लगाए बाध्यतावस आन्दोलिन हुने अवस्था सिर्जना हुनेछ।’

सरकारले साउन पहिलो हप्ता १ भदौबाट हवाई उडान सञ्चालनमा ल्याउने बताएपछिवायुसेवा कम्पनीले बुकिङ थालेका थिए। तर उडान प्रतिबन्ध लम्बिएपछि यात्रुको टिकट फिर्ता लिन वा उडान मिति सार्नसकिने संघले जनाएको छ।

यता, गत १५ साउनबाट खुलेका देशभरका होटल तथा रेस्टुरेन्टहरू सरकारले पुनः बन्द गराएपछि यी व्यवसायीसमेत निराश बनेका छन्।

सरकारले होटलमा खान नदिन निर्देशन दिएपछि  व्यवसाय पुनः बन्द जस्तै भएको व्यवसायीको धारणा छ।  

स्वास्थ्य प्रोटोकलको पूर्ण पालनासहित सेवा दिइरहेको बताउँदै व्यवसायीले उल्टै प्रोटोकलको पालना नभएको भन्ने आरोपसहित व्यवसाय बन्द गर्न खोजेको आरोप लगाए।

हाल देशभरका साना होटलहरु सञ्चालनमा आएपनि केही ठूला होटल क्षमताको १० प्रतिशत मात्रै सञ्चालनमा छन्। होटल व्यवसायीले भदौ १ देखि सरकारले उडान खोल्ने संकेत दिएका कारण कर्मचारीलाई काममा फर्काएर व्यवसाय थालेपनि हवाई उडान नहुने भएपछि पुनः बन्द गर्ने अवस्था आउन सक्ने बताउन थालेका छन्।

उडान सञ्चालनमा नआएसम्म होटलको अकुपेन्सी नबढ्ने भन्दै सञ्चालन खर्चसमेत बेहोर्न समस्या हुन जाने व्यवसायीको धारणा छ।

प्रकाशित: २९ श्रावण २०७७ ०४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App