१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मटर तस्करीसँगै भारतीय मुद्राको कालोबजारी बढ्दै

सप्तरीको सीमावर्ती क्षेत्रबाट डुंगामा (काठको बोट) हरियो मटर तस्करी मौलाएको छ। हनुमाननगर कंकालिनी नगरपालिका–२ को कोशी पलारबाट महिनौदेखि डुंगामा हरियो मटरका बोरा राखेर भारतको कुनौली तस्करी हुँदै आएको खुलेको छ।  

प्रहरी तस्करबीचको सेटिङमा हुँदै आएको मटर तस्करी शुक्रबार राति छताछुल्ल भएको छ। भर्खरै जिल्ला प्रमुखको जिम्मेवारी सम्हालेका सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठलाई डुंगामा मटरका बोरा राखेर भारत तस्करी हुँदै आएको सूचना प्राप्त भयो। श्रेष्ठले भारदह र जिल्लाको संयुक्त टोली कोसी पलार क्षेत्रमा परिचालन गर्यो।  

सशस्त्र प्रहरीलाई देखेर तस्कर टोली फरार भए। सशस्त्र प्रहरीले डुंगामा लोड गरिएको ४५ बोरा हरियो मटर बरामद ग-यो। सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार २५ किलोका दरले ४५ बोरा मटर र एक थान काठको डुंगा बरामद गरी भन्सार कार्यालय कुनौलीमा बुझाइएको छ। यति ठूलो परिमाणमा मटर भारत तस्करी भइरहेको तथ्यले आफू आश्चर्य चकित भएको उनले बताए।

रामपुर मलहनीया प्रहरी चौकीका असई श्रीप्रसाद ठाकुरका अनुसार आफू उक्त चौकीमा आएको दुई महिना बितेको बताउँछन्। तर, मटर तस्करी यो नाकाबाट नभएको उनको दाबी छ। पहिले यो नाकाबाट पनि तस्करी हुन्थ्यो तर म आएदेखि रोकिएको छ,’ उनले भने।

इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रमुख (सई) सुरेश यादव डुंगाबाट मटर तस्करी भइरहेकोबारे आफू अनविज्ञ रहेको बताउँछन्। ‘मैले त चाल नै पाएन,’ उनले भने, ‘गस्तीमा जाँदा थोरथोरै त मैले पनि पक्रेर बुझाएको हुँ। पोका बडुंगार लगिरहेका बेला पक्रेका हौं। बोराका बोरा लगेको पत्तै पाएन।’ इलाका प्रहरी कार्यालय हनुमाननगरबाट डुंगामा मटर तस्करी हुने कोशी पलार क्षेत्र मुस्किलले पाँच किलोमिटरको दूरीमा छ।

प्रदेशको आठै जिल्लाबाट तस्करी हुने मटर पछिल्लो समय सप्तरीको नाकाबाट फस्टाएको छ। लकडाउन र सीमा सिलका कारण अन्य जिल्लाका नाका सहज नभएपछि तस्करका लागि सप्तरीको कोशी पलार क्षेत्र सुरक्षित नाका बनेको छ ।  

पहिला तेस्रो मुलुकबाट नेपाल भित्र्याइएको मटरलाई तस्करले सीमानाकासम्म पु-याउने र त्यहाँबाट सीमामा सुरक्षाकर्मीको आँखा छलेर भारत पु-याउने गर्थे। तर, पछिल्लो समय सप्तरी केन्द्रित भएर मटर तस्कर कोशी पलार क्षेत्रबाट डुंगामा भारततिर लैजाँदै छन्। हनुमाननगरका एक स्थानीय भन्छन्, ‘सशस्त्र प्रहरीको जिल्ला प्रमुखलाई छलेर मटर पारि लैजान खोज्दा धरापमा परे। ‘उहाँ नयाँ भएकाले थाहा पाउँदैन कि भनेर छलेर टपाउन खोज्दा माल समातियो,’ उनले भने। मटर, मरिच र मदिराको भारत तस्करीका लागि यो नाका नाम कमाएको छ,’ उनले भने, ‘लकडाउनका बेला डुंगाभरी मदिराका बोतल पार हुन्थ्यो, अहिले मटरका बोरा पार गरिँदै छ।’

नेपालमा सस्तो पाइने मटर भारतमा राम्रो भाउ पाइने भएकाले चोरी निकासी हुने गरेको छ। नेपालमा तेस्रो मुलुकबाट आयातित मटरको तुलनामा प्रतिकिलो ५० रुपैयाँ कम पर्न थालेपछि भारततर्फ अवैध निर्यात बढेको हो। सीमापारी लगिएको मटरको भुक्तानी भने भारतीय मुद्रामा हुने गरेको छ। मटरको भाउमा रहेको अन्तर कारोबार बढ्नुको एउटा कारण हो भने भारतीय रुपैयाँ अर्को आकर्षण हो।  

भारतीय रुपैयाँको कालोबजारी गर्ने गिरोहले सीमामा भारतीय मुद्रामा साढे दुई प्रतिशत (नेपाली चार रुपैयाँ) दिएर हातोहात किन्ने गर्छन्। उनीहरुले त्यो भारतीय मुद्रामा आफ्नो नाफा थपेर बेच्ने गर्छन्। भारतीय मुद्राको उपलब्धता भने सीमावर्ती क्षेत्रमा सधैं अपुग रहने भएपछि मटर तस्करीको अर्को पाटोको रुपमा भारतीय मुद्राको कालोबजारीले सहजै ठाउँ पाएको जानकारको विश्लेषण छ। मटर तस्करीसँगै भारतीय मुद्राको कालोबजारीले यो धन्दा मौलाएको हो।

सीमावर्ती क्षेत्रमा मटरको तस्करीसँग जोडिएर भारतीय मुद्राको अवैध सटही गर्ने दोहोरो धन्दा सीमावर्ती बजारको अर्को आकर्षण हो। अमेरिकी डलरमा भुक्तानी गरेर तेस्रो मुलुकबाट आयात गरिएको मरिच अवैध रुपमा भारत निकासी गर्दा त्यसबाट आउने भारतीय मुद्रा ल्याई त्यसको कारोबार पनि सँगसँगै भएपछि यो सन्जाल बढी संगठित किसिमको हुन पुगेको छ।

प्रकाशित: २७ श्रावण २०७७ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App