१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

रसुवामा सार्वजनिक यातायात सञ्चालनमा रोक

रसुवामा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) रसुवाको सोमबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।  

छिमेकी जिल्ला लगायत अन्य जिल्लामा कोभिड–१९ को संक्रमणको दर बढ्दै गएको र सार्वजनिक यातायात सञ्चालन गर्दा अन्य जिल्लाबाट यस जिल्लामा सहजै संक्रमित आवतजावत हुनसक्ने जोखिम देखिएकाले तत्कालका लागि रोक लगाइएको हो।  

केन्द्रले सार्वजनिक यातायातका साधनले न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्डसमेत अवलम्बन नगरी ओसारपसार गर्ने गरेको निष्कर्ष निकालेको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जिल्लामा कोरोना संक्रमण फैलन नदिन सार्वजनिक यातायातका साधन सञ्चालन रोक्नेलगायत सात महत्वपूर्ण निर्णय गरिएको बताए।  

कोभिड–१९ को बढ्दो संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लास्थित कार्यालय प्रमुख तथा कर्मचारीले जिल्ला नछाड्ने, बेत्रावती नाकामा सवारी पास लिए वा नलिएको यकिन गरी चेकजाँचमा थप कडाइ गर्ने, जिल्ला प्रवेश विन्दु बेत्रावतीमा जिल्ला प्रवेश गर्ने व्यक्तिको अनिवार्य रूपमा ट्राभल हेल्थ हिस्ट्री कार्ड जारी गर्ने निर्णय भएको छ।  

यसैगरी जिल्लास्थित सबै सरकारी, अर्धसरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयले सेवा प्रवाह गर्दा हुनसक्ने भीडभाड कम गर्न सम्पर्क कर्मचारी तोकी सम्पर्क नम्बरसहित सम्पर्क कर्मचारीको नाम सार्वजनिक गर्ने र सेवाग्राहीले सेवा लिन आउनुपूर्व उक्त कर्मचारीलाई सम्पर्क गरेर मात्र सेवा लिन आउनुपर्ने भएको छ।  

जिल्लाभित्र रहेका मन्दिर, गुम्बा, चर्च आदिमा सामूहिक भेला हुन नदिने, सामूहिक भेला हुने खालका कुनै किसिमका मेला, जात्रा, पर्व, समारोह हुन नदिने र सबै प्रकारका भेला, सम्मेलन तथा जमघटका कार्यक्रम नगर्ने नगराउने निर्णय गरेको छ।

विद्यालयमा उपस्थित भइ गरिने पठनपाठन, कोचिङ तथा ट्युसन सेन्टर सञ्चालन हुन नदिने र वैकल्पिक सिकाइ विधि अवलम्बन गर्न विद्यालयलाई निर्देशन दिने निणर्य भएको प्रजिअ पन्तले बताए।  

जिल्लाभित्र सञ्चालनमा रहेका विभिन्न आयोजनाले बाहिरी जिल्ला वा मुलुकबाट कर्मचारी तथा कामदार ल्याउँदा सम्बन्धित स्थानीय तहको सहमति र जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा मात्रै ल्याउने, त्यसरी ल्याउने कामदारलाई छुट्टै क्वारेन्टिनको व्यवस्थापन गर्ने, काम गर्दा न्यूनतम भौतिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने साबुन पानीले नियमित हात धुने वा स्यानिटाइजर प्रयोग लगायत मापदण्ड पालना गर्नुपर्ने छ।  

बालबालिका, जेष्ठ नागरिक, दीर्घरोगी र गर्भवती महिलालाई अत्यावश्यक नपरी घर बाहिर ननिस्कन र हिँडडुल नगर्न अनुरोध गर्ने निर्णय भएको केन्द्रले जनाएको छ।  

प्रकाशित: २७ श्रावण २०७७ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App