coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मध्यपहाडीको लागत तीन गुणा बढ्यो

मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड । तस्बिर सौजन्य: खिमानन्द कँडेल

तोकिएको समयमा निर्माण सम्पन्न नहुँदा पुष्पलाल मध्यपहाडी लोकमार्गको लागत तीन गुणाभन्दा धेरै बढेको छ । आव ०६४/६५ मा आयोजना सुरु गर्दा ३३ अर्ब ३६ करोड रूपैयाँ लागतमा १० वर्षभित्र निर्माण सक्ने लक्ष्य थियो । निर्धारित समयमा निर्माण सम्पन्न नहुँदा लागत तीन गुणाभन्दा धेरै पुग्ने अवस्था छ ।  

सरकारले मध्यपहाडी राजमार्गको संशोधित कुल लागत एक खर्ब एक अर्ब ५० करोड रूपैयाँ पु-याएको छ । संशोधित कार्यतालिका अनुसार आव ०७९/८० सम्म यसको निर्माण सम्पन्न हुनेछ । आव ०७६/७७ को अन्त्यसम्म यो आयोजनामा ४६ अर्ब १४ करोड रुपैयाँ खर्च भइसकेको छ । सरकारले पाँचथरको चियो भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको मध्यपहाडी क्षेत्रका २५ जिल्ला र दुई सय १५ बस्ती जोड्ने गरी यो लोकमार्ग निर्माण गर्न लागेको हो ।

राष्ट्रिय गौरवमा सूचीकृत यो आयोजनाको कुल लम्बाइ १८ सय ७९ किलोमिटरमध्ये आयोजनाबाट गत आवसम्म चार सय ५२ र अन्य निकायबाट चार सय ६२ गरेर हालसम्म नौ सय १४ किलोमिटर सडक कालोपत्रे भएको सडक विभागको प्रतिवेदनमा उल्लेख छ । गत आवसम्म आयोजनाको समष्टिगत भौतिक प्रगति ४८.९४ प्रतिशत छ । गत आवसम्म ४६ अर्ब १४ करोड (४५.४५ प्रतिशत) खर्च भएको सडक विभागको प्रतिवेदनमा उल्लेख छ । आयोजनाले गत आवमा एक सय ६८ किलोमिटर सडकको ठेक्का व्यवस्थापन गरेको छ ।  

पुष्पलाल लोकमार्गमा ८४ पुल निर्माण भएको छ । लोकमार्गमा एक सय २९ पुल बनाउनुपर्छ । गत आवमै नौवटा पुलको ठेक्का व्यवस्थापन भएको छ । अझै आयोजनाको ४५ वटा पुल निर्माण बाँकी नै छ ।  

कालीगण्डकी करिडोरको प्रगति न्यून
कालीगण्डकी करिडोरकै बेनी–जोमसोम–कोरोला सडक खण्डको समष्टिगत रुपमा  भौतिक प्रगति ५३  प्रतिशत मात्रै छ । एक सय ८६ किलोमिटर ट्र्याक खन्ने काम सम्पन्न भइसकेको छ । एक सय ८६ किलोमिटरमध्ये एक सय आठ किलोमिटर ग्राभेल भएको छ । आव ०७३÷७४ मा सुरु भएको यो आयोजना आव ०७९÷८० सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । यसमा हालसम्म तीन अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ । आयोजनाको वित्तीय प्रगति ५३ प्रतिशत भएको सडक विभागले जनायो । नवलपरासीको गैंडाकोटदेखि मुस्ताङको कोरलासम्म यस करिडोरको कुल लम्बाइ चार सय ३५ किलोमिटर छ । यस आयोजनाको कुल अनुमानित लागत २८ अर्ब ८० करोड छ ।

त्यसैगरी, कालीगण्डकी करिडोर अन्तर्गतको (मालढुंगा–राम्दी–गैंडाकोट) खण्डको दुई सय ४५ किलोमिटर ट्र्याक निर्माण तथा स्तरोन्नति भइरहेको छ । सो आयोजनाको हालसम्मको भौतिक प्रगति १८ प्रतिशत मात्रै छ । दुई सय ४५ किलोमिटरमध्ये अहिलेसम्म दुई सय ४४ किलोमिटर ट्र्याक खोल्ने काम सकिएको छ । त्यसैगरी, एक सय ३२ किलोमिटर सडक सुधार विकास कार्यक्रमबाट काम भइरहेको छ । यो आयोजनामा गत आवसम्म तीन अर्ब ४९ करोड रुपैयाँ खर्च भएको छ । यो गत आवसम्म समष्टिगत रुपमा यो आयोजनाको वित्तीय प्रगति १७.२९ प्रतिशत मात्रै छ । 

प्रकाशित: २६ श्रावण २०७७ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App