२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

कोरोनाले हिमालमै विलायो हिमाली हिरा

फाइल फाेटाे ।

हिमाली हिराको नामले चिनिने यार्सागुम्बा संकलन गर्न नपाउँदा सुदूरपश्चिमका हिमाली जिल्लाका स्थानीय आर्थिक संकटमा परेका छन् । बर्सेनी यार्सा संकलनबाट मनग्ये आम्दानी गरी वर्षभरी जोहो गर्नेबझाङ, दार्चुलालगायतका जिल्लाका स्थानीय मारमा परेका छन् । कोरोना भाइरसको कारण लकडाउनपछि यो सिजनमा संकलन हुन नसक्दा हिमाली हिराको नामले चिनिने यार्सागुम्बा हिमालमै विलाएको छ । 

यार्सा टिपेर आफ्नो घर खर्च तथा छोराछोरीको पढाइ खर्च जुट्थ्यो । तर यो वर्ष कोरोना भाइरसको संक्रमणका कारण लकडाउन भएपछि न पाटनमा यार्सा टिप्न पाइएको छ, न त जिल्लाभित्रै सहज आवतजावत नै छ, बझाङ साइपाल गाउँपालिका–४ का दीपक बोहराले भने, ‘यार्सा संकलन गर्न जान नपाउँदा रोजीरोटी खोसियो । छोराछोरीको पढाइ प्रभावित हुने भयो ।’ उत्तरी क्षेत्रका खाद्यान्न कम उत्पादन हुने आयस्रोतका अन्य माध्यम नहुँदा जडीबुटी संकलन नै मुख्य आयस्रोतको आधार भएपनि यो वर्ष कोरोना कहरले सबैलाई समस्यामा पारेको छ । कोरोना प्रकोपको कारण यसपाली यार्सा टिप्न स्थानीय प्रशासनले रोक लगाएपछि यार्सा संकलन हुन नसकेको हो ।

हिमाली जिल्लाको मुख्य आम्दानीको स्रोत नै यार्सा, लगायत जडीबुटी हुन् । समुन्द्र सतहको ३ देखि ४ हजार मिटरसम्मको उचाइमा पाइने यार्सागुम्बा टिप्न जेठको पहिलो सातादेखि संकलन कार्य सुरु हुने गरेको थियो । यो पटक भने संकलन गर्न नपाउँदा कोरोनाकै कारण हिमाली क्षेत्रका बासिन्दाले आर्थिक संकट झेल्दै आएका छन् । यार्सा संकलन गरेर वर्षभरीको खाना जोहो गरौंला भन्ने यहाँका स्थानीयकोे आसा निराशामा बदलिएको छ । कोरोनाको जोखिम भन्दा पनि घर खर्च र बालबालिकाको पठनपाठन कसरी धान्ने भन्ने चिन्ताले पिरोल्न थालेको उनीहरु बताउँछन् ।

विगतमा यार्सा संकलन गरी आम्दानी गरेको पैसाबाट वर्षभरी गुजारा गर्ने यहाँका अधिकांस स्थानीय समस्यामा परेका हुन् । एउटै घरका ३÷४ जनासम्म यार्सा संकलन गर्न जाने गरेकोमा लकडाउनका कारण यसवर्ष सबैले आम्दानी गुमाएको दार्चुलाको ब्यास गाउँपालिका–४ का स्थानीय हरिश बोहराले बताए । गतवर्ष यार्साबाट ३ लाख रुपैयाँ आम्दानी गरेका अपि हिमाल गाउँपालिका–६ का विशनसिंह बुढाथोकीले यसवर्ष यार्सा संकलन गर्न नपाएको गुनासो गरे ।

गतवर्ष यार्साबाट भएको आम्दानी सकिएपछि ब्यास गाउँपालिका–२ दुम्लिङका चञ्चलसिंह जोहारीलाई पनि गुराजा चलाउन समस्या परेको छ । ४ जनाको परिवारको भरणपोषण गर्न सास्ती भएको उनले बताए ।

पछिल्लो समयमा विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेको भन्दै यार्सागुम्बा संकलनमा स्थानीय प्रशासनले रोक लगाएपछि हिमाली क्षेत्रका बासिन्दा होइन यार्सा संकलनको लागि जाने अन्य क्षेत्रका स्थानीय पनि मारमा परेका छन् । स्थानीय मात्र होइन यार्सा संकलनबाट प्राप्त हुने राजश्वसमेत गुमेको छ । 

जिल्ला संकट व्यवस्थापन केन्द्र दार्चुलाले यार्सागुम्बा पाइने पाटनहरुमा संकलकहरुको बढी भिडभाड हुने भन्दै कोरोना संक्रमणलाई न्यूनीकरण गर्न यसवर्ष वनहरु बन्द गर्ने तथा संकलन कार्यलाई पूूर्ण रुपमा रोक लगाउने यसअघि नै निर्णय गरेको थियो । यार्सागुम्बा संकलन हुन नसक्दा सरकारलाई यार्सागुम्बा संकलन र निकासी वापत प्राप्त हुने ठूूलो रकम गुमेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूूचना अधिकारी सन्तबहादुर मगरले जानकारी दिए । 

गतवर्ष अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयलाई विभागबाट ४ सय ४५ किलोग्राम संकलन तथा निकासीका लागि अनुमति पाइएको थियो । विभागबाट प्राप्त अनुमतिका आधारमा जिल्लाबाट गत आर्थिक वर्ष ४ सय ४५ किलोग्राम यार्सागुम्बा निकासी भएको थियो । यार्सागुम्बा निकासी वापत सरकारलाई गतवर्ष १ करोड २८ लाख ५० हजार रुपैयाँ राजश्व उठेको सूूचना अधिकारी मगरले बताए ।  

जिल्लाको मार्मा, अपिहिमाल, ब्यास र नौगाड गाउँपालिकाका अधिकांस स्थानीयहरु यार्सा संकलन गर्न जाने गरेका थिए । अपिनाम्पा संरक्षण क्षेत्र अन्र्तगतका वनहरु अपी, नाम्पा, दुधिवन, लोलु रोखापु, क्षत्ति, धरमघर, चाइमटेलालगायतका क्षेत्रमा यार्सा पाइने गरेको छ ।

बझाङमा पनि करिब २० हजार स्थानीय यार्सा संकलन गर्न लेखतिर जाने गरेका थिए । हिमाली क्षेत्रमा बर्सेनी उत्पादन हुने यार्सा संकलन नगरेर त्यसै खेर गएको छ । वार्षिक संकलनहुने झण्डै ३ क्विण्टल यार्साबाट सरकारले १ करोड रुपैयाँभन्दा बढी राजस्व उठाउँदै आएको थियो । यार्साबाट जिल्लामा झण्डै १ अर्ब जतिको आम्दानी हुने गरेको साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्रबहादु धामीले बताए ।

‘यो वर्ष हिउँदतिर धेरै वर्षा र हिमपात भएकाले लेक तिर यार्सा बढी पाइने सम्भावना थियो’ सुर्मा गाउँपालिका–२ अन्नाकी कमला बोहराले भनिन् ‘यार्सा टिप्न नपाएपछि दाउरा बेचेर घरपरिवार पाल्नु परेको छ ।’ यार्सा संकलनको समयमा गाउँका सबै जाने गरेका छन् । यो समयमा विद्यालयसमेत बन्द गरेर यार्सा टिप्न जाने गरेका हुन् । 

तर यो वर्ष भने चहलपहल हुने हिमाली गाउँ सुुनसान प्रायः छन् । देशमा लकडाउन भएका बेला यार्सा संकलन कार्यमा रोक लगाएको सुर्मा गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले बताए । हिमाली क्षेत्रसँग जोडिएका साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, छबिस पाथिभेरा गाउँपालिका, दुर्गाथली गाउँपालिका र बुंगल नगरपालिकाले सार्वजनिक सूूचना गरी हिमाली क्षेत्रमा यार्सा टिप्न रोक लगाएको थियो । 

यार्सा संकलनका लागि अघिल्ला वर्षहरुमा बझाङ लगायत छिमेकी जिल्लाबाट पनि आउने गरेका थिए । चैत अन्तिम सातासात लेकमा गएर असार महिनामा १ लाखदेखि १२ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको सुर्मा गाउँपालिका–२ आलिकुली बोहराले बताइन् ।

प्रकाशित: २१ श्रावण २०७७ ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App