१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिमेन्ट उत्पादन ८० प्रतिशत कटौती

प्युठान सिमेन्टकाे प्लान्ट। फाइल तस्बिर/नागरिक

कोभिड–१९ प्रकोपले लकडाउन खुलेपछि सिमेन्ट उत्पादन सुरु गरेका उद्योगले उत्पादन ८० प्रतिशत कटौटी गरेका छन्। उत्पादित सिमेन्टले बजार नपाएपछि २० प्रतिशत क्षमतामा मात्र उत्पादन भइरहेको सिमेन्ट उत्पादक संघले जनाएको छ।

कोभिड र वर्षादको कारण बिक्री स्वाट्टै घटेपछि उत्पादन कटौटी गरेको सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रब थापाले बताए। ‘उद्योगले ८० प्रतिशत उत्पादन घटाएका छन्,’ थापाले भने, ‘सिमेन्ट बिक्री नभएपछि २० प्रतिशतमात्र उत्पादन भइरहेको छ।’

बर्खा लागेकाले विकास–निर्माण योजना रोकिएका छन्। कोभिड–१९ त्रासले घर निर्माणलगायत अन्य पूर्वाधारका आयोजना पनि कामदार अभाव छ। भर्खर आर्थिक वर्ष सुरु भएकाले सडक निर्माण लगायतका भौतिक पूर्वाधारका काम अघि बढेका छैनन्।

बजारमा बिक्री नभएपछि उद्योगले धमाधम उत्पादन कटौटी गरेका हुन्। दैनिक १२ सय टन सिमेन्ट उत्पादन गर्दै आएको प्युठान सिमेन्टले अहिले दैनिक चार सय टन मात्र उत्पादन गरिरहेको छ। ‘निर्माण क्षेत्रमा लेबर समस्या छ,’ प्युठान सिमेन्ट सञ्चालक ताराप्रसाद पोखरलले भने, ‘सिमेन्ट खपत नभए पनि थोरै मात्र उत्पादन गरेका हौं।’

संघका अनुसार अहिले मुलुकमा ६१ सिमेन्ट उद्योग छन्। तीमध्ये ४० ग्रान्डिङ र २१ वटा एकीकृत उद्योग छन्। संघका अनुसार नेपालमा सिमेन्ट उद्योगको क्षमता करिब डेढ करोड टन पुगेको छ। बजारमा वार्षिक एक करोड टन खपत हुन्छ।

यहाँका उद्योगको क्षमता बजार माग भन्दा ५० लाख टन धेरै छ। नेपाल सिमेन्ट उत्पादक संघका अनुसार आगामी दुई वर्षमा सिमेन्ट उत्पादन क्षमता दुई करोड ५० लाख पुग्छ भने बजारमा खपत एक करोड २५ लाख टन पुग्ने अनुमान छ। सिमेन्टमा मुलुक आत्मनिर्भर भएको छ। आत्मनिर्भर भए पनि नेपालको सिमेन्टमा लगानी गर्न विदेशीले चासो दिँदै आएका छन्। चिनियाँ लगानीमा दैनिक तीन हजार टन क्षमताको हुवासिन सिमेन्ट उद्योग धादिङमा निर्माणाधीन छ।  

सिमेन्ट उद्योगमा अझै लगानी थपिँदै छ। गत महिना लगानी बोर्डले आधा अर्ब रुपैयाँ नयाँ लगानी गर्न स्वीकृति दिएको छ। एक विदेशी लगानीसहित दुई सिमेन्ट उद्योगले नयाँ लगानीका लागि स्वीकृति लिएका हुन्। दाङ सिमेन्ट उद्योगका लागि ३२ अर्ब ५० करोड र दाङकै सम्राट सिमेन्ट उद्योगका लागि १५ अर्ब पाँच करोड रुपैयाँको लगानी स्वीकृत गरेको थियो।  

संघका अनुसार सिमेन्ट उद्योगमा दुई सय अर्ब रुपैयाँ लगानी पुगेको छ। वार्षिक डेढ सय अर्ब रुपैयाँको कारोबार हुन्छ। केही नयाँ उद्योग पनि पाइपलाइनमा रहेको छ। यहाँको उत्पादन बजार खपत भएर मात्र नसकिने भएपछि सरकारले आर्थिक वर्ष ०७६÷७७ को बजेटमा सिमेन्टलाई निर्यातजन्य उद्योगको रुपमा राखेको थियो। निर्यातजन्य उद्योगको रुपमा राखे पनि निर्यात गर्न उत्पादन लागत घटाउनुपर्ने उद्योगी बताउँछन्। अहिले नेपालको सिमेन्ट दक्षिण एसियामा नै महँगो छ।  

३० अर्ब बक्यौता, मूल्य घट्यो
सिमेन्ट उद्योग धेरै भएर अस्वस्थ प्रतिस्पर्धा बढेपछि सम्बद्ध उद्योगीले बजारमा करिब ३० अर्ब रुपैयाँको उधारो सिमेन्ट बिक्री गरेका छन्। संघका अध्यक्ष थापाका अनुसार उधारो दिँदा उद्योग चलाउनै कठिन भएपछि अहिले उधारो बिक्री रोक्ने निर्णय गरेका छन्। ‘अब सबै उद्योगले उधारो नदिने सहमति भएको छ,’ थापाले भने, ‘बक्यौता रकम उठाउन प्रयास गरिरहेका छौं।’ उधारो दिँदा उद्योगी र उपभोक्ता ठगिएको थापाले बताए। ‘बीचमा मान्छेले धेरै फाइदा लिए,’ थापाले भने। उदारो रोकेर मूल्यमा प्रतिस्पर्धा गर्ने सहमति भएको थापाले बताए। उत्पादित सिमेन्टले बजार नपाएपछि अहिले मूल्य घटाएका छन्।  

ओपिसी सिमेन्ट बोराको आठ सय ३० रुपैयाँबाट आठ सय रुपैयाँसम्म झरेको छ। पिपिसी सिमेन्ट सात सय रुपैयाँ बोराबाट ६ सय ८० रुपैयाँमा झरेको छ।

उद्योगले उधारोमा सिमेन्ट बिक्री रोकेपछि त्यसको प्रत्यक्ष फाइदा उपभोक्ताले पाउने भएका छन्। ‘सिमेन्ट बोरामा २० देखि ३० रुपैयाँसम्म मूल्य घटेको छ,’ अध्यक्ष थापाले भने, ‘यसको लाभ उपभोक्ताले पाउँछन्।’ उधारोमा नबेच्ने, जथाभावी बोनस, कमिसन नदिने सहमति पनि भएको उनले बताए। ‘बक्यौताले उद्योग धराशयी भएपछि मूल्यमा प्रतिस्पर्धा गर्न लागेका हौं,’ थापाले भने।  

विगतमा उद्योगबाट उधारो लगेर बीचका व्यापारीले पैसा लिएर अन्य क्षेत्रमा लगानी गर्दै आएका थिए। ‘उधारो दिएपछि त्यो पैसा पनि कुनै न कुनैमा मूल्यमा जोड्नुपर्ने बाध्यता थियो,’ अध्यक्ष थापाले भने, ‘उधारो रोकेपछि त्यसको प्रत्यक्ष फाइदा उपभोक्तालाई हुन्छ।’ उद्योगबीच स्वच्छ प्रतिस्पर्धा सुरु भएको उद्योगीको दाबी छ। 

प्रकाशित: २१ श्रावण २०७७ ०४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App