१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखराको नयाँ बञ्जी : साहसिक पर्यटक पर्खिदैछ

पोखराको रातोपहिरोमा निर्माण गरिएको बञ्जी । तस्बिरः उमेश पुन/नागरिक

साहसिक पर्यटकलाई लक्षित गर्दै पोखराको रातोपहिरोमा बञ्जीजम्प सञ्चालनको तयारी भईरहेको छ । कोरोना भाईरस संक्रमणका कारण गरिएको लकडाउनले रोकिएको अन्तर्राष्ट्रिय हवाई उडान खुलेलगत्तै बञ्जी सञ्चालनमा ल्याउने तयारी गरिरहेको सञ्चालकले बताएका छन् । सरकारले भदौ १ देखि अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालनको तयारी गरिरहेको छ ।  

भदौ १ देखि अन्तर्राष्ट्रिय उडान खुल्ने भएकोले तेश्रोसातादेखि सञ्चालनको तयारी भईरहेको बञ्जी नेपाल एडभेन्चरका प्रबन्ध निर्देशक सन्तोष भट्टराइले जानकारी दिए । उनका अनुसार गत वैशाख १ देखि नै यो बञ्जी सञ्चालनको तयारी भएकोमा कोरोना संक्रमणका कारण पछाडि सारिएको हो । 

‘हामीले वैशाख १ गतेदेखि नै सञ्चालनको तयारी गरेका थियौ, तर, कोरोनाका कारण गरिएको लकडाउनले त्यो बेला सकिएन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय हवाई उडान खुल्ने दिनको प्रतिक्षामा छौ । भदौ १ गते अन्तर्राष्ट्रिय उडान खुल्ने भएकोले तेश्रो सातामा सञ्चालनको लक्ष्य राखेको उनले बताए । त्यो बेलासम्म केही विदेशी आउनसक्छन्। हाम्रो बञ्जीले तिनै साहसिक पर्यटक पर्खिरहेको छ ।’

भट्टराईका अनुसार अहिले नेपालका विभिन्न ठाउँमा संचालित भन्दा यो बञ्जी प्राविधिक रुपमा केही फरक छ । यहाँ हामफालेका पर्यटक तल ओर्लेर हिड्दै आउनुपर्दैन, मेसिन (विनचिङ)ले नै माथिसम्म तान्छ । त्यसले गर्दा फरक अनुभव यहाँको बञ्जीमा लिन सकिने उनले बताए । ‘भिन्दै मेसिन थपेका छौं, जसले हाम फालेका पाहुनालाई डोरीको सहायताले माथि नै तान्नेछ,’ उनले भने, ‘तल ओर्लेर हिड्नुपर्ने बाध्यता छैन । सबै पाहुनाको लागि यो नयाँ अनुभव हुनेछ ।’

पोखरा महानगरपालिका–१७ को रातोपहिरोमा यो बञ्जीजम्प बनाइएको छ । यसको नजिकै पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पनि छ । भट्टराईका अनुसार यो बञ्जीमा रमाउने पर्यटकले १२५ मिटर तलसम्म झरेर सेतीनदीको खोंच, आसपासका हरियाली सहित हिमाली श्रृंखलाको दृष्यावलोकन गर्न सकिन्छ । हिमाल खुलेको बेला पर्यटकले छ्यांगै हिमाली सौन्दर्य पनि अवलोकन गर्न पाउँछन् । प्राउजसो ठाउँमा खोँचमा हाम फल्नेगरि झोलुंगे पुलमा बञ्जी सञ्चालन गरिएपनि यहाँ भने पुलको साटो क्यान्टिलिभर पुलमार्फत टुप्पोमा पुगेर पर्यटक हामफाल्न सक्छन । यहाँ हाम फाल्न जाने पर्यटकले ५५ मिटर लामो क्यान्टिलिभर पुलको टुप्पोमा पुग्नुपर्छ । खोंचमा हामफाल्न मिल्नेगरि यहाँ क्यान्टिलिभर पुल बनाइएको छ । क्यान्टिलिभर पुलसँगै ३५ मिटर अग्लो भ्यू टावर पनि बनाइएको छ । भ्यू टावरबाट पनि पाहुनाले पोखरा क्षेत्र अवलोकन गर्न सक्छन् । सबैभन्दा बढी १२५ किलो र सबैभन्दा कम ४० किलो तौल भएका व्यक्ति यहाँ बञ्जी गर्न सक्नेछन् ।  

भट्टराईका अनुसार आठजनाको समुह मिलेर आठकरोड रुपैयाँ बढी लगानी गरेर यहाँ बञ्जीजम्प बनाइएको हो । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडबाट करिब तीनकिलोमिटर टाढा रहेको यो बञ्जी सञ्चालन हुँदा पोखरा आएका विदेशी तथा स्वदेशी पाहुना साहसिक गतिविधिमा रमाउन पाउने उनले बताए । ‘पोखराको लेकसाइड बजारबाट नजिक भएकोले आउँजाउ पनि सहज छ । सहज अवस्थामा उनीहरू सिधै आएर यहाँ मज्जा लिन सक्छन,’ उनले भने, ‘पाहुनालाई आउजाउ सहज भएकोले पनि यो उपयुक्त हुने ठानेका छौं ।’  

भट्टराईका अनुसार यहाँ बञ्जी गर्दा नेपाली र विदेशी जो कोही पाहुनाका लागि प्रतिव्यक्ति ५५ सय रुपैयाँ तोकिएको थियो । तर, कोरोनाका कारण पोखरामा आउने पर्यटक कम हुने सम्भावना भएकोले नै आन्तरिक पर्यटक तान्नका लागि केही छुट दिइने उनले बताए । ‘अहिले नै धेरै विदेशी पाहुना आउने सम्भावना छैन । त्यही भएर आन्तरिक पाहुनालाई तान्नका लागि पनि केही सस्तो बनाउन जरुरी छ,’ उनले भने, ‘तर, कति शुल्कमा आन्तरिक पाहुनालाई सेवा दिने भन्ने अझै निश्चित भईसकेको छैन ।’

डेढवर्ष अघि देखि यो बञ्जी बनाउन थालिएको थियो । पाँचरोपनी जग्गामा यसको स्टेशन बनाइएको छ । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने र २० लाख विदेशी पर्यटक भित्रयाउने लक्ष्य राखेकोले साहसिक पर्यटक भित्रिने आशमा बञ्जी निर्माण गरेको भट्टराईले बताए । ‘सरकारले २० लाख विदेशी पर्यटक भित्रिने भनेपछि हामी पनि आशावादी भयौ । त्यही भएर ठुलो लगानी पनि गर्यौं,’ उनले भने, ‘तर, कोरोनाका कारण मारमा परेका छौ । तोकिएको समयमा सञ्चालन गर्न पनि सकेका छैनौ । अब पनि अवस्था सहज छैन ।’

पोखरामा विदेशी साहसिक पाहुना आउने र पछिल्लो समय आन्तरिक पर्यटको आगमन बढेको अवस्थामा पर्यटनमा लगानी सुखद हुने अपेक्षा सहित गरेको उनले बताए । पोखरामा यसअघि पनि हेम्जामा बञ्जीजम्प सञ्चालन भईसकेको छ । पोखरा उपत्यकाभित्रको यो दोश्रो बञ्जी भएको छ ।

प्रकाशित: १९ श्रावण २०७७ १०:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App