१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

निर्माण सामग्री जाँच्न नगरमै प्रयोगशाला

इलामको सूर्याेदय नगरपालिकामा स्थापना गरिएको निर्माण सामग्रीको गुणस्तर जाँच्ने प्रयोगशाला। तस्बिर: भीम/नागरिक

भौतिक संरचना गुणस्तरीय बनाउन स्थानीय तहमै गुणस्तर मापन प्रयोगशाला स्थापना गरिँदैछ। ढुंगा, गिटी, बालुवा, माटोलगायत सामग्रीको गुणस्तर परीक्षणका लागि सूर्याेदय नगरपालिकाले कार्यालयमै प्रयोगशाला स्थापना गर्न लागेको हो।  

प्रयोगशाला स्थापना भएपछि  ‘आँखाले हेरेर’ भइरहेको गुणस्तर परीक्षणको काम वैज्ञानिक हुनेछ। नगरले तीन महिनाभित्रमा सडक, भवन, पुलपुलेसालगायत निर्माण सामग्रीको गुणस्तर प्रयोगशालामै जाँच्न थाल्ने तयारी गरेको छ। नगरपालिकाका इन्जिनियर दिपेश आचार्यले अब संरचनाको गुणस्तर मापदण्ड भरपर्दाे र वैज्ञानिक हुने बताए। ‘इन्जिनियरले कागजी रूपमा कायम गरेको मापदण्डको गुणस्तर संरचनामा चाहिँ आँखाले हेरेको भरमा छु्याउनुपथ्र्याे,’ उनले भने, ‘प्रयोगशाला स्थापना भएपछि निर्माण सामग्रीको गुणस्तर परीक्षण यहीं हुन्छ।’  

विकास निर्माणका काम गर्दा कतिपय आधारभूत परीक्षण जिल्ला र प्रदेशस्तरमा हुन्थ्यो भने विशेष परीक्षणका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता थियो। त्यो पनि, निर्माण सामग्रीको गुणस्तर परीक्षणका लागि स्वयं निर्माण व्यवसायीमार्फत् नै नमुना पठाइने भएकाले कुन नमुनाको नतिजा आयो हो भन्नेमा पनि ‘सशंकित’ हुनुपर्ने अवस्था थियो। ‘यहीं प्रयोगशाला बनेपछि हामी आफैंले गुणस्तर परीक्षण गर्न सक्ने भएका छौं,’ इन्जिनियर आचार्यले भने, ‘सामग्री परीक्षण र फिल्ड अवलोकन आफैं गर्न सकिने भएकाले निर्माण कार्यमा गुणस्तर कायम गर्न सजिलो भएको छ।’  

प्रयोगशालामा ग्राभेल, ढुंगा, गिटी, बालुवा, सिमेन्ट, माटोमा पानीको मात्रालगायत जाँच गर्न सकिनेछ। प्रयोगशालाका लागि भाइब्रेटर, कम्प्लेसन टेस्टिङ, इम्प्याक्ट टेस्टिङलगायतका मेसिन जडान भइसकेका छन्। अन्य मेसिन राख्न संरचना तयार भएको र ल्याएर जडान गर्नमात्र बाँकी रहेको उनले बताए। ‘प्रयोगशाला सञ्चालनको कार्यविधि बन्नेछ,’ उनले भने, ‘सार्वजनिक प्रयोगका र नक्सापास गरेर बनाइने संरचनामा प्रयोग गरिने सामग्रीको गुणस्तर परीक्षण अनिवार्य हुनेछ।’ सम्भव भएअनुसार नगरपालिकाबाहेकका सेवाग्राहीलाई समेत प्रयोगशालाको सेवा उपलब्ध गराउने लक्ष्य रहेको आचार्यले जनाए। केही समयपछि अलकत्रासमेतको परीक्षण गर्नेगरी प्रयोगशाला स्थापना गर्ने नगरपालिकाको लक्ष्य छ।

संरचना निर्माणका काम गरेपछि कतिपय सरकारी कार्यालयले अनुगमन नै नगरी भुक्तानी दिने गरेको विषय नयाँ होइन। तर, सूर्याेदय नगरपालिकाका मेयरसहितको टोलीले केही दिनअघि अनुगमन गर्दा गुणस्तरीय नपाइएका निर्माणाधीन केही संरचना भत्काइदिएर पुनः निर्माण गर्न लगाएको छ। गतवर्ष पनि आधा दर्जनभन्दा बढी सडक र भवनको संरचना गुणस्तरीन पाइएपछि भत्काएर बनाउन लगाइएको थियो। ‘आँखाले हेरेरमात्र गुणस्तर कायम गर्न नसकिने भएकाले नगरले नै प्रयोगशाला बनाउन लागेको हो,’ मेयर राईले भने, ‘निर्माण सामग्रीमा गुणस्तर कायम भएमात्र संरचना बलियो र टिकाउ हुनेरहेछ।’  

प्रकाशित: १९ श्रावण २०७७ ०४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App