१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

चितवनमा सकियो ९५ प्रतिशत रोपाइँ

रासायनिक मलको अभाव

चितवनको भरतपुर महानगरपालिकाभित्र गरिएको धानखेती । तस्बिर:सूर्यप्रकाश/नागरिक

आज साउन पन्ध्र, खीर खाने दिन । खीर पकाउन चाहिन्छ दूध र चामल । चितवन दूधमा आत्मनिर्भर छ, चामलमा छैन । चामलका लागि असार र साउनमा रोपाइँ गरिन्छ । साउन पन्ध्रसम्म आइपुग्दा चितवनमा ९५ प्रतिशत रोपाइँ सकिएको छ । आकासेपानीको भरमा सिँचाइ गर्नुपर्ने पश्चिमी क्षेत्रमासमेत रोपाइँ भइसकेको छ ।

यो वर्ष पर्याप्त पानी परेकोले असारको पहिलो हप्ताबाटै रोपाइँ सुरु भएको र साउनको तेस्रो हप्तासम्ममा लगभग रोपाइँ सकिने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल बताउँछन् । उनका अनुसार, चितवनमा २७ हजार ४४५ हेक्टरमा धान खेती हुने गरेको छ । यो वर्ष १ लाख १५ हजार ७ सय १४ मेट्रिक टन धान उत्पादन हुने अनुमान छ ।

पर्याप्त पानी आएपछि यो वर्ष समयमै रोपाइँ गर्न पाएकोका किसान खुसी छन्, तर धान खेतीमा हाल्ने युरिया मल नपाइएको किसानको गुनासो छ । मल बिक्री गर्ने निकाय साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडले मल ल्याउन नसकेपछि किसानले अवैध रुपमा भित्रिएको रासायनिक मल चर्को मूल्य हालेर धान खेतीमा प्रयोग गरेका छन् ।

भरतपुर महानगरपालिका ८, गौरीगञ्जकी किसान कृष्ण सापकोटाले कृषि सामग्री कम्पनीबाट मल नपाएपछि एग्रोभेटबाट युरिया मल प्रतिकिलो ५० रुपैयाँका दरले खरिद गरेर धानबालीमा प्रयोग गरेको बताए । पर्याप्त मल नपाउँदा धान पहेँलिन थालेको भन्दै उनले सिजनमा मल नपाउँदा समस्यामा परेको बताए । पहिलोपटक धान गोड्ने बेला भइसक्दा पनि खेतमा मल हाल्न नपाएपछि कसरी उत्पादन लिने भन्ने चिन्तामा आफू रहेको भरतपुर महानगरपालिका ११, बसेनीका किसान अमृत डुम्राकोटीले बताए । सहकारीले बाँडेको एक–दुई किलो मल जम्मा गरेर खेतमा राखेको बताउँदै उनले ब्यापारीले अवैधरुपमा मल बिक्री गर्ने गरेको र चर्को मूल्यमा त्यही मल खरिद गरी प्रयोग गर्नु परेको दुःखेसो पोखे ।

कृषि ज्ञान केन्द्र प्रमुख ढकाल रासायनिक मल बिक्री गर्ने निकाय साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीमा मल नहुँदा किसानले समस्या भोग्नु परेको स्वीकार्छन् । ज्ञान केन्द्रको सिफारिसमा मात्रै मल बिक्री गर्ने प्रबन्ध मिलाइएको तर अहिले बन्दाबन्दीको कारण विदेशबाट मल नै नआएपछि समस्या भएको उनी बताउँछन् ।

कालिका नगरपालिकाको जुटपानीमा खेतमा रासायनिक मल छरिरहेको बेला भेटिएकी सीता पौडेलले प्रतिकिलो ४५ रुपैयाँका दरले एग्रोभेटबाट मल खरिद गरी ल्याएर हालेको बताइन् । पौडेलसँगै खेतमा मल छरिरहेकी गीता सुवेदीले किसानलाई जहिले पनि समस्यै समस्या रहेको बताइन् । यो वर्ष समयमा पानी परेर रोपाइँ गर्न पाएपनि पर्याप्त मल नपाउँदा धानमा लाग्ने रोग र किराको प्रकोपले उत्पादन घट्ने हो कि भन्ने चिन्ता लागेको उनले बताइन् ।

यस वर्ष बाढीका कारण चितवनका केही ठाउँमा डुबानको समस्या परेको छ । पूर्वी चितवन र पश्चिमी चितवनका केही स्थानका किसानले डुबानले रोपाइँ नष्ट भएको बताएका छन् । पूर्वी चितवनको  पिप्ले, कठार, कुमरोज, भण्डारा, बछौलीलगायतका क्षेत्रमा बढी धान उत्पादन हुने गर्छ । यो क्षेत्रमा अन्य क्षेत्रको तुलनामा सिँचाइको राम्रो सुविधा छ । पश्चिम चितवनमा सिँचाइको सुविधा उपलब्ध नहुँदा एक सिजनमात्रै आकाशेपानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ ।

चितवनमा उत्पादन हुने धान चितवनसहित आसपासका जिल्लामा बिक्री हुन्छ । चितवनमा कुल धानखेतीमध्ये ३५ देखि ४० प्रतिशत साबित्री जातको धान उत्पादन हुन्छ । त्यसबाहेक सावाँ, रामधान र स्थानीय जातहरु लगाईंदै आएको पाइन्छ ।

प्रकाशित: १५ श्रावण २०७७ ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App