२६ कार्तिक २०८१ सोमबार
image/svg+xml
अर्थ

तिला नदीमा र्‍याप्टिङको रमाइलो

यही साउन १ गतेदेखि जुम्लाको तिला नदिमा र्‍याप्टिङ सञ्चालनमा आएको छ । पहिलो पटक जुम्लामा व्यावसायिक रुपमा र्‍याप्टिङ सञ्चालनमा ल्याइएको हो । अहिले लामो तथा छोटो दूरीको प्याकेज बनाएर र्‍याप्टिङ चलिरहेको छ । जुम्लामा दुईवटा र्‍याप्टिङ ल्याइएको हो ।  

रिभर गाइड अभावमा एक र्‍याप्टिङ चल्न सकेको छैन । पहिलो पटक जुम्लामा पनि अफ सिजनमा र्‍याप्टिङ सञ्चालनमा आएको हो  ।  गो कर्णाली ट्राभल्स एन्ड टुरले  तिला नदीमा व्यावसायिक रुपमा र्‍यापटिङ सञ्चालनमा ल्याएको हो । सञ्चालक ललित महत यो सिजन तिला नदीमा र्‍याप्टिङ चलाउन उपयुक्त रहेको बताउँछन् ।  

उनले भने, ‘सबै यात्रुलाई सुरक्षाका साधन प्रयोग भइरहेको छ । दैनिक एक पटक र्‍याप्टिङ चलिरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउने र साहसिक तथा जलपर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ तिलामा र्‍याप्टिङ सञ्चालनमा ल्याइएको उनी बताउँछन् । जहाँ पनि सुक्खा सिजनमा र्‍याप्टिङ हुने गरेको तर यहाँ हरियाली सिजनमा पनि चलाउन सकिन्छ भन्ने उदाहरण दिन सकिने अवस्था छ । हिउँदको सिजनमा पानीको गति हेरेर सानो र्‍याप्टिङ चलाउने तयारी भइरहेको छ ।  

छोटो प्याकेजअन्तर्गत दानसाघुदेखि श्रीढुस्कासम्म चल्छ । यो प्याकेजमा प्रतिव्यक्ति एक हजार रुपैयाँ लाग्छ । लामो प्याकेज दानसाघुदेखि राँकासम्म तोकिएको छ । यहाँसम्म प्रतिव्यक्ति दुई हजार रुपैयाँ लाग्छ ।  फुल डे प्याकेज २० हजार रुपैयाँको छ । यात्रुको मागअनुसार दैनिक दुईवटा र्‍याप्टिङ चलाउने तयारी भइरहेको पर्यटन व्यवसायीसमेत रहेका महत बताउँछ्न ।

महतका अनुसार साउन महिनामा यो र्‍यापटिङ निकै प्रभावकारी भएको छ । तिला नदी भौगोलिक रुपमा निकै उत्तम भएको र पानीको फलो पनि ठिक छ । सुरुमा चार–पाँच पटक परीक्षण गरियो । त्यसपछि व्यावसायिक रुपमा अगाडि बढाइएको छ । यो व्यवसायलाई कर्णाली प्रदेश सरकारले  सहयोग तथा समन्वय गरेको उनी बताउँछन् ।

र्‍याफ्टिङ परीक्षण सञ्चालनमा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीसहितका सरोकारवाला व्यक्तिसमेत सहभागी थिए । पछिल्लो समयमा भने व्यावसायिक रुपमा अगाडि बढ्न थालेको छ । र्‍याफ्टिङ रिभर गाइडका लागि जुम्लाकै बिर्ख दमाई र अमृत दमाईले जिम्मेवारी लिएका छन् । बिर्खले २५ वर्षभन्दा बढी भारतमा ढुंगा चलाएर बसे । अहिले आफ्नो जिल्लामै रोजगारी मिलेको छ  ।

सो साहासिक यात्रा गर्ने पर्यटकका लागि रैथाने खाना र नास्ताको व्यवस्थासमेत गरिने छ ।  दानसाँघुदेखि तातोपानीसम्म गएर तातोपानीमा नुहाउन पाइनेछ । यो सँगै मार्सी चामलको भात, तिलामा पाउने असला माछासमेत खान पाउनेछन् । र्‍याप्टिङ चढ्दा तिलाको आसपासमा झुलेका मार्सीधान, स्याउ बगैंचालगायत सुन्दर दृश्य अवलोकन गर्न सकिनेछ  ।

अहिले सुरुवात गरिएको र्‍याप्टिङ व्यवसाय पनि गर्मीयाममा कर्णाली र चिसोमा भेरी नदीमा सञ्चालन गरिने योजना रहेको सञ्चालक महतले बताए  । स्थानीय सरकारसँग समन्वय भएमा सिञ्जा क्षेत्रको हिमानदी, पातारासी र गुठीचौरमा समेत सञ्चालन गरिने योजना छ ।

प्रकाशित: १२ श्रावण २०७७ ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App