८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

बजार खुल्यो, व्यापार अझै खुलेन

लकडाउनपछिकाे पाेखरा

पोखराको मुख्य व्यापारिक क्षेत्र चिप्लेढुंगा। बजार खुलेको महिना दिन बितिसक्दा पनि व्यापार फस्टाउन नसकेको व्यवसायीको भनाइ छ। तस्बिर: उमेश पुन/नागरिक

कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउन खुकुलो भएको महिना दिन नाघिसकेको छ। लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढ्न थालेको थियो। झन्डै तीन महिना बन्द रहेको बजार असारको सुरुताका खुल्दा बजारमा निकै चहलपहल देखिन्थ्यो। तर त्यो चहलपहलले बजारको व्यापार भने बढाउन नसकेको व्यवसायीको भनाइ छ।  

व्यवसायीले अरुबेलाको तुलनामा अहिलेको व्यापार एक तिहाइ मात्र भइरहेको बताएका छन््। कतिपय व्यवसायीले त्यो भन्दा पनि कम आकारको व्यापार भएको बताएका छन््। सार्वजनिक सवारी नचलेको, ग्राहककोे क्रयशक्ति कमजोर बनेको, सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु भनेकोले अझै पनि ग्राहक बजारसम्म आउन नसकेको व्यवसायीको भनाइ छ। त्यसबाहेक पोखरा घुम्न आउने आन्तरिक पर्यटक आउन नसक्दा व्यवसाय उकासिन नसकेको उनीहरुको भनाइ छ।

पोखराका महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, न्यूरोड, नयाँबजार सर्वसाधारणको बढी भीडभाड हुने व्यापारिक क्षेत्र हुन्। दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा, सुनचाँदी, भाँडाकुडाको बढी कारोबार त्यही क्षेत्रमा हुन्छ। थोक र खुद्रा दुवैखाले व्यापार हुँदा ती क्षेत्रमा अरुबेला निकै चहलपहल हुन्थ्यो। अझ चाँडबाँडका बेला त त्यहाँ खुट्टा हाल्ने ठाउँ हुँदैनथ्यो। तर अहिले बजार सुस्त रहेको व्यवसायीले बताएका छन््।  

‘बिहानदेखि बेलुकीसम्म पसल खोल्ने र कुर्ने काम भएको छ,’ चिप्लेढुंगाका भाँडा व्यवसायी पवन प्रजापति भन्छन्, ‘भाँडाकुडा अत्यावश्यक सामग्रीमा परेन। ग्राहकले अत्यावश्यक बाहेकका वस्तु किनेका छैनन्।’ भाइरस संक्रमणका कारण लामो समय मुलुक लकडाउन हुँदा धेरैजसो ग्राहक कामविहीन भएको र काम पाइहाले पनि पहिलेजस्तो आम्दानी गर्न नसक्दा त्यसको मार आफूहरुको व्यापारमा परेको उनले बताए। संक्रमणको दर कसरी अघि बढ्छ भन्नेमा अन्योल हुँदा पनि सर्वसाधारणले अत्यावश्यक बाहेक वस्तु किन्ने आँट नगरेको उनले बताए।  

अर्का व्यवसायी नारायण कोइरालाले पनि लकडाउनअघि एक दिनमा हुने व्यापार अहिले महिना दिन कट्दा पनि हुन नसकेको बताए। चिप्लेढुंगामै ब्याग हाउस सञ्चालन गरेका कोइरालाले विद्यालय बन्द हुनु, विदेशसम्मको आउजाउ रोकिनु, आन्तरिक पर्यटक आउन नपाउँदा व्यापार हुन नसकेको बताउँछन््। सार्वजनिक यातायात नचल्दा ग्राहक बजारसम्म आउन नसकेको उनले बताए। खाद्यान्न, कस्मेटिक्स, रेडिमेड कपडाको व्यापार केही फस्टाइसके पनि अरु व्यापार कम रहेको उनले बताए। ‘यो बेला स्कुल खुल्थे भने व्यापार फस्टाउँथ्यो, तर, स्कुल बन्द छन््। अनि विदेश जाने र विवाह–व्रतबन्ध जस्ता गतिविधि पनि पहिले जस्तो छैनन्,’ उनले भने, ‘त्यसको मार व्यापारमा परेको हो।’

सर्वसाधारण नागरिकको क्रयशक्ति कमजोर हुँदा एक महिना अवधिमा पनि व्यापार फस्टाउन नसकेको कोइरालाले बताए। ‘कहिलेकाँकी त बोहनी मात्र हुने गरेको छ। पसल कुर्ने काम भएको छ,’ उनले भने, ‘बाहिरबाट हेर्दा बजारमा निकै नै भीडभाड देखिन्छ। तर, सामान किन्ने ग्राहक छैनन्।’ अरुबेला सिजनमा एक दिनमा हुने व्यापार अहिले महिना दिनमा पनि नभएको उनले बताए। यस्तै अवस्था रहे अझै एक वर्ष व्यापार नहुने उनले बताए। ‘संक्रमणको त्रास कायमै रहेको र सरकारले पनि अहिले अत्यावश्यक काम बाहेक बजार ननिस्कनु भनेकाले पनि कतिपय ग्राहक घरमै रोकिएका छन्,’ उनले भने।  

पोखराको व्यापारिक भवन पोखरा ट्रेडमलका व्यवसायी नवराज त्रिपाठी पसल खुलेको एक महिना बितिसक्दा पनि व्यवसाय उकासिन नसकेको बताउँछन््। ‘लकडाउन खुकुलो भएसँगै असार एकदेखि मैले ट्रेडमलभित्रको पसल खोलेको हुँ। सुरुका केही दिन त व्यापारै भएन,’ त्रिपाठीले भने, ‘अहिले केही उकासिन थालेको छ। तर, पहिलेजस्तो छैन।’ त्रिपाठीका अनुभवमा अहिलेका ग्राहकको क्रयशक्ति निकै नै कमजोर छ। महंगो सामान हत्तपत्ति किन्न चाहेका छैनन्। कामचलाउ अवस्थामा ग्राहक रहेको उनले बताए।  

‘पोखरा भ्यालीभित्रका केही मात्र ग्राहक बजारसम्म आएका छन््,’ त्रिपाठीले भने, ‘गाडी नचल्दा बाहिरबाट ग्राहक आउन पएका छैनन्।’ लामो समय कामविहीन भएका सर्वसाधारण अहिले सस्तो सामान किन्ने र कामचलाउ मात्र गर्ने अवस्थामा रहेकाले पनि व्यापारको आकार बढ्न नसकेको उनले बताए। उनका अनुसार ट्रेडमलमा आउने ग्राहक पोखरा मात्र नभई आसपासका गाउँ र व्यापारिक क्षेत्रका पनि हुन्थे। तर, सार्वजनिक सवारी नचल्दा तनहुँको दुलेगौंडा, खैरेनीटार, भीमाद, दमौली, स्याङ्जाका ग्राहक पोखरासम्म आउन नपाएको उनले बताए।  

‘६० प्रतिशत व्यापार घटेको छ। यो उकासिन अझै केही महिना लाग्छ, जसोतसो बजार आएका ग्राहकको पनि क्रयशक्ति छैन,’ उनले भने, ‘सपिङ टे«न्ड’ नै टुटेको छ, जसोतसो कामचलाउ अवस्थामा अहिलेका ग्राहक छन्।’ चाँडबाँड नजिकिन थालेकाले व्यापार केही बढ्ने अपेक्षा भए पनि यो पटक महामारीका कारण पहिलेजस्तो आकार नहुने उनको अनुमान छ।  

मोबाइल बिक्रीका लागि चल्तीको ठाउँ महेन्द्रपुलस्थित सिता भवनको आरडिएस मोबाइल सपका सञ्चालक मोहन अधिकारी पनि पहिलेको आकारमा व्यापार नभएको बताउँछन््। ‘पहिला पहिला ब्रान्डेड मोबाइल मात्र बिक्री हुन्थे। चाहेको मोबाइल किन्न नपाए ग्राहक यत्तिकै फर्किन्थे। तर, अहिले जुन ब्रान्ड पाइन्छ, त्यही किन्ने गरेका छन्,’ अधिकारीले भने, ‘अहिले ग्राहकले रोजाइको सामान किन्न पाएका छैनन्। त्यसले पनि व्यापार फस्टाउन सकेको छैन। अहिले जुनसुकै ब्रान्ड पनि बिक्री हुने गरेको छ।’  

फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका पूर्वअध्यक्ष मिनराज काफ्ले अरु बेलाको तुलनामा अहिलेको व्यापार एक तिहाइमा झरेको बताउँछन््। उनका अनुसार बजारमा रोजेको सामान छैन भने ग्राहकसँग पनि महंगो रकम खर्चने चाहना देखिँदैन। सीमित व्यवसायीले यो बेला ५० प्रतिशत हाराहारीमा व्यापार गरे पनि अधिकांशको एक तिहाइमा झरेको उनले बताए। ‘पोखरामा यो बेला सामान पनि छैनन्। विवाह, व्रतबन्ध, भोजभतेर, घुमघाम सबै रोकिएका छन््। विवाह व्रतबन्धमा हुने खर्च निकै कम छ,’ काफ्लेले भने, ‘त्यसले गर्दा व्यापार हुन पाएको छैन। नियमित गतिविधि नै हुन सकेको छैन।’

यतिबेला किनमेलका लागि बजार पुग्ने ग्राहकले घरमा बस्दा चाहिने लत्ताकपडादेखि अत्यावश्यक वस्तु मात्र किनेको उनले बताए। ‘गर्मीका कपडा किन्नुपर्ने बेला लकडाउन सुरु भयो। लकडाउनले ती सामान पनि आउन पाएन,’ उनले भने। लकडाउनका कारण घरभित्रै रहेका ग्राहकले अवस्था कुन रुपमा अघि बढ्छ भनेर पर्खेको पनि उनले बताए। ‘घरभित्रै बस्नका लागि किन नयाँ सामान किन्ने भन्ने ग्राहक छन्,’ काफ्लेले भने, ‘अत्यावश्यक बाहेक बिक्री छैन। गाडी पनि चलेका छैनन्। बजारसम्म आउन पनि कठिन छ।’

काफ्लेका अनुसार बिक्रीका लागि ल्याइने चिनियाँ सामग्री अहिले केरुङ नाकामा रोकिएका थिए। केरुङ नाकाको चीनतर्फ अहिले देशभरका सामान बोकेका करिब १२ सय कन्टेनर सामान रोकिएका छन््। ती कन्टेनरमा लत्तकपडा, जुत्ताचप्पल, विद्युतीय सामग्री रहेकाले ती सामान ल्याउन नपाउँदा व्यावसाय फटाउन नपाएको उनले बताए। काफ्लेका अनुसार सीमित कामदारले चिनियाँ कन्टेनरका सामग्री नेपाली ट्रकमा लोड गरेर पठाउँछन््।  

दिनमा करिब तीन कन्टेनर (१२ ट्रक) मात्र सामान नेपाल छिर्ने गरेकाले सबै सामान आउन नपाएको उनले बताए। ‘गर्मीका सामान बल्ल आउँदैछन््। पोखराका व्ययवसायीको करोडौंको सामान नाकामै रोकिएको छ,’ उनले भने, ‘त्यसले गर्दा पनि बजारमा चाहेको जस्ता सामान पाउन कठिन छ। त्यसले व्यावसाय फस्टाउन सकेन।’  

प्रकाशित: ११ श्रावण २०७७ ०३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App