६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कोरोना कहरमा साउने व्यापार

साउन लागेलगत्तै बालाजु माछापोखरीस्थित मिना ब्युटी पार्लरकी ब्युटिसियन मिना अर्याललाई मेहन्दी र चुरा लगाइदिन भ्याई नभ्याई हुन्थ्यो । अघिल्ला वर्षमा उनको पसलमा हरिया, पहेंला चुरा र मेहन्दी लगाउनेको भीड हुन्थ्यो । हरेक वर्ष मेहन्दी र चुरा लगाउनेको भीडभाड हुने उनको पसल यस वर्ष सुनसान छ । बिक्रीका लागि पसलभरी राखेका हरिया पहेंला चुरा पनि बिकेका छैनन् ।  

एक महिना अघिदेखि पसल खोले पनि चुरा, मेहेन्दी, टिका किन्ने ग्राहक खासै नआएको अर्याल बताउँछिन् । ‘साउन लागेपछि पोहोरका वर्षहरूमा मलाई ग्राहकको हातमा मेहन्दी भर्न भ्याई नभ्याई हुन्थ्यो, बिहानदेखि बेलुकासम्म मेहन्दी र चुरा लगाउने काममै ब्यस्त हुन्थे, तर यसपालि पसल नै सुनसान छ,’ अर्याल भन्छिन्, ‘अहिले त दिनमा २/३ जनाभन्दा बढीको हातमा मेहन्दी लगाइदिन पाएकी छैन, कोरोनाको डरले त होला, चुरा मेहन्दी लगाउने मान्छे नै आउँदैनन् ।’ चार महिनासम्म व्यापार ठप्प भएको र साउनमा पनि व्यापार नहुँदा पसलको भाडा तिर्न पनि आफूलाई धौ–धौ परेको उनले सुनाइन् ।

पछिल्ला वर्षहरूमा चुरा, पोतेको व्यापार घट्दै गएको र यस वर्ष कोरोना भाइरसको त्रासले पोहोर जति पनि व्यापार हुन नसकेको अन्य व्यापारी बताउँछन् । असारको अन्तिम हप्तादेखि साउनको पहिलो सातासम्म चुरा, पोते मेहन्दीको उच्च मात्रामा कारोबार हुनुपर्ने व्यापारीको भनाइ छ । न्युरोड आसपासमा हरेक वर्षझैं यस वर्ष पनि मेहन्दी लगाइदिनका लागि बसेकाहरू पनि अहिले मेहन्दी लगाउने मान्छे नै नआएको बताउँछन् ।  

न्युरोड, इन्द्रचोकमा रहेको सोरम कस्मेटिककी सञ्चालक संगीता श्रेष्ठ यसपालि व्यापार शून्य रहेको बताउँछिन् । घरमा खाली बस्नुभन्दा समय बिताउनका लागि भए पनि पसल खुला राखेको श्रेष्ठको भनाइ छ ।  

इन्द्रचोक क्षेत्रमा कस्मेटिक सामग्री बिक्री गरिरहेका वैभव लक्ष्मी शृंगार पसलका दिनेशमान सिंह कोरोनाका कारण साउन महिनामा पनि अधिकांश पसलमा ग्राहकको घुइँचो लाग्ने नसकेको बताउँछन् । उनले पसलमा ५० देखि आठ सयसम्मका चुराहरू बिक्रीका लागि राखेका छन् । ‘चुरा–पोते र मेहन्दीको व्यापार गर्ने व्यवसायीहरू अहिले फुर्सदमा छन् । साउनलाई केन्द्रित गरेर झिकाइएको सामानहरू स्टोरमा थन्किएका छन् । कोरोनाको त्राससँगै टिसर्ट र पाइन्ट लगाउने संस्कारले प्राथमिकता पाउँदा चुरा–पोतेको व्यापार ओरालो लागेको हो,’ उनले भने ।

विगत १९ वर्षदेखि इन्द्रचोकमा चुरा बिक्री गर्दै आएका व्यवसायी बबी तुलाधरका अनुसार यसपालिको साउनमा व्यापार बढ्न सकेको छैन । ‘साउन व्यापारमा भ्याई नभ्याई हुने महिना भए पनि यसपटक चुरा, पोते बिक्री हुन सकेको छैन ।  

साउन महिनामा विशेषगरी महिलाहरू हरियो पहिरन, चुरा–पोते र मेहन्दीमा देखिन मन पराउँछन् । यस वर्ष हरियो पहिरन, चुरापोते र मेहन्दीले साउनको व्यापारको रौनक बढाउन सकेको छैन,’ उनले भने, ‘पछिल्ला केही वर्षदेखि चुरा, पोते र मेहन्दीको व्यापार घट्दै गएको थियो, यसपालि झन् लकडाउनका कारण चार महिना पसल बन्द गर्नुपर्यो, अहिले पसल खुलेपछि पनि कोरोनाको डरले ग्राहक आउँदैनन् । व्यापार स्वतः ओरालो लागेको छ ।’

प्रकाशित: ९ श्रावण २०७७ १०:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App