१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

विरुवा उत्पादन गर्न प्रयोगशाला

इलामको सूर्याेदय नगरपालिकास्थित अलैंची विकास केन्द्रमा स्थापना गरिएको तन्तु प्रजनन प्रयोगशाला । तस्बिर : भीम/नागरिक

भूगोल र हावापानीअनुसार कहाँ कस्तो बाली लगाउन उपयुक्त हुन्छ भन्ने अनुसन्धान गर्न बालीनालीका विरुवा प्रयोगशालामा उत्पादन गरिँदैछ । एबोकाडो, किबी, कागती, अलैंची, आलुलगायत बालीका रोगविहीन विरुवा उत्पादन गर्नेगरी सरकारी तवरबाटै प्रयास थालिएको हो ।

सूर्याेदय नगरपालिकास्थित अलैंची विकास केन्द्रले बालीनालीका गुणस्तरीय विरुवा किसानसम्म पुर्‍याउन तन्तु प्रजनन प्रयोगशाला (टिस्यु कल्चर) स्थापना गरेको छ । गतसाल स्थापना गरिएको प्रयोगशालामा यो वर्षदेखि विरुवा उत्पादन सुरु गरिएको छ । तर, विरुवा विस्तार गर्ने बेला भइनसकेको केन्द्रले जनाएको छ । अहिले प्रयोगशालामा प्रोटोकल डेभलपमेन्ट (ठाउँअनुसार विरुवा उत्पादनका लागि कुन रसायन कति प्रयोग गर्ने)को काम भइरहेको छ ।

केन्द्र प्रमुख पदम अधिकारीले परीक्षण सफल भएपछि समूह/सहकारीहरूमार्फत गुणस्तरीय विरुवा किसानसम्म पुग्ने बताए । ‘प्रयोगशालामा रोगविहीन विरुवा उत्पादनको परीक्षण हुन्छ,’ अधिकारीले भने, ‘विरुवा पूर्ण रूपमा उत्पादन सुरु भएपछि सहकारी र समूहमार्फत किसानले यसको सुविधा पाउँछन् ।’ उनले प्रयोगशालामा कुन बाली कुन ठाउँमा उपयुक्त हुन्छ, कुन बालीको कस्तो विरुवाले उच्च मात्रा र गुणस्तरमा उत्पादन दिन्छ भन्नेजस्ता विषयमा अनुसन्धान भइरहेको बताए । तर, विरुवा भने केन्द्रले आफैं वितरण गर्ने नभई अनुसन्धानमात्र गर्नेछ । ‘केन्द्रले विरुवा उत्पादनको सूत्रमात्रै विकास गर्ने हो,’ उनले भने, ‘त्यसपछि स्वयं किसान वा सहकारीले आफूलाई आवश्यक विरुवा उत्पादन गर्न सक्छन् ।’

केन्द्रले यसअघिसम्म अलैंची खेतीबारे अध्ययन, अनुसन्धान, प्राविधिक सेवा र विरुवा वितरणको काम गरिरहेको थियो । तर, अब एबोकाडो, किबी, कागती, आलुलगायत अन्य बालीनालीको प्राविधिक पक्षमा पनि काम गर्ने भएको छ । तर, विरुवा उत्पादनको प्रयोगशालाकै लागि कर्मचारी भने अभाव रहेको उनले जनाए । ‘अहिले धेरैजसो बालीनालीको खेती परम्परागत रूपमा चलिरहेको छ, खेती वैज्ञानिक नहुँदा उत्पादन आधा पनि भएको छैन,’ उनले भने, ‘जुनसुकै बालीनाली लगाउँदा त्यसको प्राविधिक र वैज्ञानिक पक्षमा ध्यान दिन सक्यो भनेमात्रै उत्पादन राम्रो हुन्छ ।’

प्रयोगशालामा उत्पादन गरिएको विरुवामा फल लाग्ने निश्चित हुने केन्द्रले जनाएको छ । ‘प्रयोगशालामा कुनैपनि बालीको विरुवा उत्पादन गर्न वर्षदिन भन्दा बढी लाग्दैन,’ अधिकारीले भने, ‘विरुवा सफल भएपनि फल्छ भन्ने निश्चित हुन्छ, कुनै फलेन भने त्यो अपवाद मात्रै हो ।’ उनले तन्तु प्रजनन प्रयोगशालाबाट जिल्लाका किसानले उल्लेख्य फाइदा लिन सक्ने बताए । ‘रोगरहित हुने भएकाले यो प्रविधिमा उत्पादन गरिएका विरुवा रोप्दा आम्दानी राम्रो हुन्छ,’ उनले भने, ‘विरुवा गुणस्तरीय छ भने मात्रै त्यसबाट फल पनि राम्रो पाइने हो ।’

प्रकाशित: ८ श्रावण २०७७ ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App