१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

खुल्लान त लेकसाइडका होटल - रेस्टुरेन्ट ?

कोरोना भाईरस संक्रमणका कारण १२० दिन लामो लकडाउन अन्त्य गर्दै सरकारले साउन १५ देखि होटल तथा रेस्टुरेन्ट खोल्न दिने निर्णय गर्यो । सरकारले चारमहिना बन्द रहेका होटल तथा रेस्टुरेन्ट खुलाउने बाटो खोले पनि तत्कालै पाहुना आउने अवस्था नभएकोले पर्यटन व्यावसायी भने के गर्ने भन्ने दोधारमा छन्।  

पाहुनाविहीन अवस्थामा व्यावसाय सूचारु गर्ने वा नगर्ने भन्ने दोधार व्यावसायीमा छ। केही पर्यटन व्यावसायीले सरकारले एकसाता समय दिएर व्यावसाय संचालन गर्न अनुमति दिँदा पूर्वतयारी गर्न पाउने बताउँछन् भने कतिपयले अहिले नै होटल तथा रेस्टुरेन्ट खोलिहाल्ने अवस्था नरहेको बताउँछन्। अहिलेको तयारीले सार्वजनिक सवारी र हवाई यातायात चल्दाको दिनदेखि आउनसक्ने सिमित पाहुनालाई आतिथ्यता दिन सकिने होटल तथा रेस्टुरेन्ट खोल्ने पक्षमा रहेका व्यावसायी बताउँछन्। भदौ एकदेखि आन्तरिक र बाह्य हवाई र लामो दुरीको सार्वजनिक यातायात संचालन गर्न सरकारले अनुमति दिएको छ।  

ठूला आकारका व्यावसायीले अहिले तयारी गर्दै जाँदा अवस्था सहज भएमा सेप्टेम्बरदेखि फाट्टफुट्ट विदेशी पाहुना आउने सम्भावना पनि देखेका छन्। त्यसअघि नै केही आन्तरिक पाहुना पनि आउन थाल्ने व्यावसायीको अनुमान छ। त्यसले गर्दा कतिपय व्यावसायी होटल तथा रेस्टुरेन्ट खोल्नुपर्छ भन्ने पक्षमा छन्। तर केही व्यवासायी भने अहिले नै ब्यापार चलायमान हुने अवस्था नरहेकोले तत्काल खोल्ने अवस्था नरहेको बताउँछन्। अहिले पूर्ण रुपमा होटल तथा रेस्टुरेन्ट खोल्नु भनेको घातक हुने उनीहरुको भनाई छ।  

‘पूर्वाधार केही छैन। कर्मचारी सबै घर फर्किएका छन्। अहिले नै होटल खोल्ने अवस्था नै छैन,’ लेकसाइडस्थित रानीवन आर्केडका संचालक हरि भुजेल भन्छन, ‘अहिले होटल र रेस्टुरेन्ट खोलेर बस्दा घातक हुन सक्छ। आर्थिक रुपमा व्यावसायीलाई झनै बढी मार पर्ने देखेको छु।’ भदौ एकपछि बल्ल आन्तरिक र अन्तर्राष्ट्रिय हवाई यातायात सहित सार्वजनिक सवारी चल्ने हुँदा एकाध आन्तरिक पाहुना आउने अनुमान रहेपनि त्यसले होटल तथा रेष्टुरेन्टको खर्च धान्न नसक्ने उनको अनुमान छ। ‘सबैले व्यावसाय सूचारु गरे भन्दैमा खोल्नु भिन्दै कुरा हो। नत्र अहिले खर्च धान्ने अवस्था रहन्न,’ उनले भने, ‘म अहिले नै खोल्ने पक्षमा छैन।’  

उनका अनुसार चारमहिना बन्द रहेका पुर्वाधार एकैपटक संचालन गर्दा पहिलेकै आकारमा कर्मचारीलाई फिर्ता बोलाउनुपर्छ। यो अवस्थामा ब्यापार शून्य रहेकोले काममा फर्केका कर्मचारीलाई दिनुपर्ने मासिक पारिश्रमिकले संचालकमाथि आर्थिक भार थपिने उनी बताउँछ्न। ‘सिमित कर्मचारी बोलाएर अनलाईनमार्फत हुने बजारीकरणको काम गर्न सकिन्छ। तर, भौतिक रुपमा कर्मचारीले गर्ने काम केही छैन,’ उनले भने, ‘पाहुनाविहीन अवस्थामा कर्मचारीलाई बोलाउँदा उल्टो भार थपिन्छ।’ होटल तथा रेस्टुरेन्ट खुलाउँदा सबै संरचना चुस्त दुरुस्त पार्नुपर्ने हुँदा व्यावसायीमाथि खर्चको दवाव बढ्ने उनले बताए। ‘अहिले बेतलवी वा आधा तलबमा काम गरेका कर्मचारीलाई पनि काममा बोलाउँदाको दिनदेखि सतप्रतिशत भुक्तानि गर्नुपर्दा खर्च बढ्छ,’ उनले भने।  

अर्का व्यावसायी तथा माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराई भने पाहुना आउँदैनन भनेर हात बाँधेर बस्नुभन्दा आन्तरिक तयारीमा जुट्नु उपयुक्त हुने बताउँछन्। ‘एकैपटक पाहुना आउँछन् र कमाई होला भनेर अहिले नै व्यावसाय संचालन गर्ने होईन। तर, आगामि सिजन सेप्टेम्बरमा सुरु हुने भएकोले त्यसको तयारीमा जुट्नुपर्छ,’ उनले भने, ‘अहिले नै तयारीमा नजुट्ने हो भने सन्देश पनि नकारात्मक जान्छ। सकारात्मक सन्देश प्रवाहका लागि पनि तयारीमा जुट्नुपर्छ।’  

अहिलेको तयारीलाई व्यावसायीले ‘गृहकार्य’ को रुपमा लिनुपर्ने उनले बताए। ‘लामो समय बन्द रहेका पुर्वाधारलाई चुस्त दुरुस्त बनाउने, कर्मचारीलाई पनि तयारी अवस्थामा राख्ने, सरकारले तोकेको स्वास्थ्यको मापदण्डबारे कर्मचारीलाई पनि जानकारी दिने लगायतका काम गरेर तयारी भएर बस्ने हो,’ भट्टराईले भने, ‘अहिले हात बाँधेर बसियो भने पछाडि परिन्छ। पूर्वतयारीको रुपमा यो महिनालाई लिन सकिन्छ। त्यसपछि अवस्था हेरेर पाहुनाका लागि पहल थाल्ने हो। संक्रमण कम हुँदै गएमा फाट्टफुट्ट आन्तरिक पाहुना आउन सक्छन्।’

होटल व्यावसायीको छाता संस्था पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन व्यावसायीको अनुमान भन्दा कम समय दिएर सरकारले होटल तथा रेस्टुरेन्ट खोल्न अनुमति दिएकोले सबै व्यावसायी मानसिक रुपमा तयार नहुन सक्ने बताउँछन्। ‘कम्तिमा डेढमहिना अवधि दिएर होटल तथा रेस्टुरेन्ट खोल्न पाइन्छ भन्ने हाम्रो अनुमान थियो, तर, एकसातापछि नै खोल्न पाइने त भनिएको छ। तर, अहिले खोलिहाल्ने अवस्था छैन,’ उनले भने, ‘खोल्न अनुमति पाउँदैमा खोलिहाल्नुपर्छ भन्ने पनि रहेन। व्यवासायीले आफ्नो अवस्था हेरेर व्यावसाय सुचारु गर्न सक्छन्।’

सार्वजनिक यातायात संचालन नभएसम्म र उडान सुचारु नहुँदासम्म होटल तथा रेस्टुरेन्ट खुलेपनि पाहुना नपाउने उनको भनाई छ। ‘अहिले होटल तथा रेस्टुरेन्ट खोले पनि चल्ने अवस्था छैन। व्यावसायीको तयारी पनि छैन, पाहुना पनि आउने अवस्था देखिन्न,’ तुलाचनले भने, ‘आगामि सिजनको तयारीमा जुट्नु राम्रो हो। सुस्तगतिको तयारी गर्दा पनि आगामि सिजनलाई केही सहज हुनसक्छ।’ संचालन खर्च पनि धान्ने अवस्था नरहेकोले अहिले नै ब्यापार सुरु गरिहाल्ने अवस्था नरहेको उनले बताए। अहिले नै अन्तर्राष्ट्रिय उडानको स्वास्थ्य प्रोटोकल सरकारले सार्वजनिक नगरिसकेकोले अहिले नै हतार नभएको उनले बताए।  

तुलाचनका अनुसार अझै केही महिना आन्तरिक पाहुना पनि आउने अवस्था छैन। चाडबाडको बेला पनि सुरु भएको छ। संक्रमण अझै शून्यमा झरेको छैन, कमी मात्र भएको हो। त्यसैले अहिले नै होटल तथा रेस्टुरेन्ट चल्ने अवस्था नभएको उनले बताए। ‘कामदार पनि छैनन। व्यावसाय संचालन गरेपछि कामदार बोलाउनुपर्छ, कामदार बोलाउँदा आर्थिक भार थपिन्छ,’ उनले भने, ‘शून्य आम्दानीमा खर्चिलो आर्थिक भारले झनै बोझ बढाउँछ।’ सरकारले होटल तथा रेस्टुरेन्ट खोल्न दिएर चलायमान बनाउन चाहेपनि व्यावसायी मानसिक र आर्थिक रुपमा तयार नभएको उनले बताए।

‘हामी आतिथ्यता दिन तयार छौं भनेर सन्देश दिनु उपयुक्त हो। तर, ब्यापारिक हिसाबले सबैले आँट गर्ने अवस्था रहन्न। सिमित कर्मचारी बोलाएर केही ठुला होटलले व्यावसाय खोल्न सक्छन,’ उनले भने। आगामि सिजन सेप्टेम्बर मध्यदेखि सुरु हुने र त्यो बेलासम्म संक्रमण कम भएर आन्तरिक पाहुना आउने अवस्था देखेमा मात्र व्यवासायी मानसिक रुपमा तयार हुने उनले बताए। ‘सरकारले व्यावसाय खोल भनेको हो। तर, व्यावसायी पर्ख र हेरको अवस्थामा छन,’ उनले भने।

पोखरा पर्यटन परिषद् (पिटिसी)का उपाध्यक्ष गोपि भट्टराई अबको एक–डेढ महिनाको तयारीले त्यसपछि आउने पाहुनालाई आतिथ्यता दिन सहज हुने बताउँछन्। ‘हात बाँधेर नबसौं मात्र भन्ने हो। पूर्वाधार मर्मतसम्भार गर्ने, कर्मचारीलाई बोलाएर तालिम दिने, स्वास्थ्य सामाग्रीको जोहो गर्नेगरि केही समय उपयोग गरौ, त्यसपछि पाहुना आउन थालेमा थोरधेर आम्दानी हुन्छ भन्ने हो,’ भट्टराईले भने, ‘ब्यापार नहुनु एउटा पक्ष छँदैछ, तर, व्यावसायी नै निस्कृय हुन भएन, सक्रियता देखाउनुपर्छ।’ उनले पनि व्यावसाय सुचारु गर्नासाथ आम्दानी हुने नभई ‘अध्यारोमा बत्ती बाल्न’ मात्र खोजेको बताए। ‘अध्यारोमा बत्ती बाल्ने हो, केही न केही देखिएला नी’ उनले भने।  

पहिलो चरणमा पूर्ण क्षमतामा संचालन नगरेपनि थोरै कर्मचारीलाई बोलाएर, सानो आकारको ‘मेनु’ बनाएर, केही कोठामा मात्र पाहुना राख्ने तयारीका साथ व्यावसाय चलाउने तयारी थाल्नुपर्ने उनले बताए। ‘कतै अवरोध नभए भदौ मध्यदेखि बल्ल आन्तरिक पाहुना आउनसक्छन भन्ने हाम्रो अनुमान हो। हामीले कम्तिमा एकमहिनाको तयारी पुरा गरेर बस्नुपर्छ,’ उनले भने, ‘व्यावसाय छैन भनेर बसियो भने त्यसले झनै कमजोर बनाउनेछ।’

 

 

प्रकाशित: ७ श्रावण २०७७ १०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App