१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

बूढीगण्डकीले ३२ अर्ब मुआब्जा बाँड्यो

बूढीगण्डकी जलविद्युत् आयोजनाले ३२ अर्ब २७ करोड १७ लाख नौ हजार रुपैयाँ मुआब्जा वितरण गरेको छ। चार वर्षमा गोरखा र धादिङतर्फ १५ हजार सात सय ९४ जग्गाधनीको ४७ हजार चार सय ३९ रोपनी क्षेत्रफल जग्गाको मुआब्जा वितरण गरेको हो।

‘दुवै जिल्लातर्फ गरी २३ हजार पाँच सय ८८ कित्ता जग्गाको मुआब्जा असार मसान्तसम्म गइसक्यो,’ बूढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण मुआब्जा वितरण पुनर्वास तथा पुनस्र्थापना एकाइ प्रमुख कृष्णबहादुर कार्कीले भने। आर्थिक वर्ष ०७३÷७४ देखि ०७६÷७७ असारसम्म चार वर्षमा उक्त रकम आयोजनाले जग्गाधनीको खातामा पठाइसकेको जनाएको छ। मुआब्जा गइसकेका जग्गाको लालपूर्जा आयोजनाको नाममा आइसकेको छ।  

हालसम्म गोरखातर्फ १६ अर्ब ५१ करोड ४४ लाख मुआब्जा वितरण गरिएको छ। आठ हजार ६ सय २५ जग्गाधनीलाई २३ हजार ६ सय १२ रोपनी क्षेत्रफल जग्गाको मुआब्जा वितरण भइसकेको एकाइका लेखा अधिकृत निराजन कोइरालाले बताए। गोरखामा एक हजार ६ सय ८८ कित्ता जग्गा अधिग्रहणमा परेको छ। धादिङतर्फ आयोजना कार्यालयले सात हजार एक सय ६९ जग्गाधनीलाई १५ अर्ब ७५ करोड ७३ लाख रुपैयाँ वितरण गरेको छ। २३ हजार आठ सय २७ रोपनी क्षेत्रफल जग्गाको उक्त रकम वितरण गरिएको हो। ‘व्यक्तिगत जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा छ,’ एकाइ प्रमुख कार्कीले भने, ‘सार्वजनीक र संस्थानको जग्गाको मुआब्जा दिएका छैनौं, व्यक्तिगत जग्गाको गुनासो भरेका बाहेक मुआब्जा बाँकी छैन।’

प्रकाशित: ५ श्रावण २०७७ ०३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App