१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

करदातालाई सम्मानजनक व्यवहार गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. युवराज खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न आन्तरिक राजश्व विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आन्तरिक राजश्व विभागले २० लाख भन्दा कम कारोबार गर्ने र २ लाखसम्मको आम्दानी गर्ने करदाताका लागि बिहीबारदेखि सुरु गरेको नयाँ कर प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका हुन् । उनले जवसम्म प्रविधि, कानून र सुशासनको कारणले करदाता मैत्री वातावरण निर्माण गर्न सकिदैन तबसम्म करदाताले अपमानित महसुस गर्ने भएकाले करदातालाई गरिने व्यवहारमा सुधार ल्याउन आग्रह गरे । उनले आजदेखि लागू भएको नयाँ कर प्रणालीमा करका अंक, ब्याज र जरिबाना सफ्टवेरले नै गणना गर्ने भएकाले कर अधिकृतले स्वविवेकले करका अंकहरु गणना गर्ने अवस्थाको अन्त्य भएको बताए ।

यस्तै करको रकम यकिन भइसकेपछि पनि कर बुझाउन निकै लामो झण्झटीले प्रक्रियामा जानुपर्ने अवस्थाको पनि अन्त्य भएको अर्थमन्त्री खतिवडाले बताए । अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले आज देखि लागू भएको कर प्रणालीले साना करदाताको लागत घटाउन सहयोग पुग्ने बताए । नयाँ प्रणालीले करिब ५ लाख करदाता लाभान्वित हुने उनले बताए । यसबाट करदाताको सहभागिता बढाउन सहयोग पुग्ने विश्वा पुडासैनीले गरे ।

आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले आन्तरिक राजश्व विभागका सबै कारोबारलाई प्रविधि मैत्री बनाउने धेयका साथ काम गरिएको बताए । आजदेखि लागू भएको प्रणालीले करिब ५ लाख करदातालाई कर कार्यालय नगईकन कर बुझाउन सक्ने व्यवस्था भएको बताए । उनले चालु आर्थिक वर्षको बजेटले परिवर्तन गरेका आयकरका विषयहरुलाई समावेस गरी आयकर निर्देशिका आजैबाट लागू गरिएको पनि जानकारी गराए । बायोमेट्रिक प्रणाली र विभिन्न जिल्लामा १० वटा नयाँ करदाता कार्यालयको सञ्चालन पनि आजैदेखि सुरु गरिएको कुँवरले बताए ।

सबै व्यवसायिक कोडलाई व्यवस्थित गर्ने नेपाल स्टाण्डर्ड इन्ड्रष्ट्रीयल क्लासिफिकेसन (एनएसआईसी) लागू भएको उनले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नागरिक एपसँग समन्वय गरी आजैका दिनदेखि विद्युतीय माध्यमबाट करदाता कार्यालयमा नगईकन व्यक्तिगत प्यान नम्बर लिन सकिने व्यवस्था मिलाईएको पनि कुँवरले बताए ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत २० लाख भन्दा कम कारोबार गर्ने र दुई लाखसम्म आय हुनेहरुका लागि कर चुक्ता गर्न नयाँ प्रणालीको विकास गरिने व्यवस्था गरिएको थियो । सोही व्यवस्था अनुसार आन्तरिक राजश्व विभागले आजदेखि नै नयाँ कर प्रणालीलाई कार्यान्वयनमा ल्याएको हो ।

प्रकाशित: १ श्रावण २०७७ ०९:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App