१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

याे वर्ष २ प्रतिशतले घट्ने प्रक्षेपण

नेपाल विद्युत् प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुई प्रतिशत बिन्दुले विद्युत् चुहावट कम हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले उक्त जानकारी दिएका हुन् ।  

‘पोहोर सालसम्म बिजुली चुहावट १५.३२ प्रतिशत थियो,’ उनले भने, ‘चालु आर्थिक वर्षमा १३.३२ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ ।’ आव ०७२÷७३ मा २५.७८ प्रतिशत रहेको चुहावट आव ०७५÷७६ मा १५.३२ प्रतिशतमा झरेको छ ।  

प्राधिकरणले बर्सेनि विद्युत् चुहावट क्रमशः नियन्त्रण गर्दै आइरहेको छ । प्रवक्ता अधिकारीले प्राधिकरणले पछिल्लो आर्थिक वर्षमा चुहावटको औसत प्रतिशत घटाउँदै आएको बताए ।  

प्रवक्ता अधिकारीले चुहावट नियन्त्रण गरेसँगै राज्यको अर्बाैं रकम नोक्सान हुनबाट जोगिएको बताए । ‘चुहावटले एकातर्फ प्राधिकरण घाटामा गइरहेको हुन्थ्यो, अर्काेतर्फ विद्युत्को कृत्रिम अभाव हुने गथ्र्याे,’ उनले भने, ‘अहिले चुहावट नियन्त्रण भएसँगै प्राधिकरण नाफामा जान थालेको छ ।’ आर्थिक वर्ष ०७२÷७३ सम्म वार्षिक विद्युत् चुहावटको औसत दर २५.७८ प्रतिशत थियो ।  

यसले पनि १८ घन्टासम्म लोडसेडिङ गराउन बल दिएको थियो । प्राधिकरणको नेतृत्व कुलमान घिसिङले सम्हालेपछि चुहावटको दर उच्च गतिले घटेको छ । प्राधिकरणले गत चार वर्षको अवधिमा ९.८८ प्रतिशत बिन्दुले चुहावट नियन्त्रण गरेको छ । चुहावटबाट हुने अर्बाैं नोक्सानी जोगिएको छ । प्रवक्ता अधिकारीले नयाँ नेतृत्वको व्यवस्थापकीय कौशलले चुहावट न्यूनीकरण गर्न सफल भएको बताए । ‘चार वर्षअघिसम्म एक चौथाइ विद्युत् चुहिएर सकिन्थ्यो,’ उनले भने, ‘अहिले चुहावट नियन्त्रण भएसँगै राजस्व मात्रै बढेको छैन, लोडसेडिङसमेत अन्त्य गर्न सकेका छौं ।’  

प्राधिकरणका अनुसार चुहावट दुईथरीका हुन्छन्, पहिलो– प्राविधिक र अर्काे– अप्राविधिक । अप्राविधिक चुहावट मानवीय गतिविधिको कारणले हुन्छ । विद्युत् पोलबाट हुुकिङ गरेर, इनर्जी मिटर बाइपास गरेर, सर्भिस तारको इन्सुलेसन काटेर, मिटरको उपकरण बिगारेर बिजुली चोरिन्छ ।  

त्यस्तै, तारको गुणस्तर, प्रसारण तथा वितरण लाइनको दुरी, तारको मोटाइ, गुणस्तर लगायत कारणले प्राविधिक चुहावट हुने गर्छ । ‘अप्राविधिक चुहावटलाई शून्यमा झार्न सकिन्छ, प्राविधिकलाई सकिँदैन । प्राविधिक चुहावट त कम गर्नमात्रै सकिन्छ,’ प्रवक्ता अधिकारीले भने । अझै पनि तराईका जिल्लामा गर्मीयाम बिजुलीको तार हुकिङ गरेर चोरी गर्ने प्रवृत्ति नियन्त्रण हुन सकेको छैन ।

भक्तपुरले ५.३७ % चुहावट घटायो
केही वर्षअघिसम्म काठमाडौं उपत्यकाको सबैभन्दा धेरै विद्युत् चुहावट हुने जिल्लामा भक्तपुर पथ्र्यो । तर अहिले भक्तपुरमा विद्युत् चुहावट व्यापक मात्रामा घटेको छ । आव ०७५÷७६ मा भक्तपुरमा विद्युत् चुहावट १३.६ प्रतिशत थियो । तर भक्तपुर वितरण केन्द्रले चालु आर्थिक वर्षमा ५.३७ प्रतिशत चुहावट घटाएको छ ।

केन्द्रका प्रमुख राजकुमार रमणले लोड, ट्रान्सफर्मर र घरायसी चुहावटमा कडाइ गरेसँगै बिजुली चुहावट नियन्त्रणमा सफलता हात पारेको बताए । ‘सिस्टम मात्रै परिवर्तन गरेनौं,’ उनले भने, ‘बिजुलीको लोड, ट्रान्सफर्मर, फिडर लगायतमा सुधार गरेसँगै अहिले धेरै हदसम्म विद्युत् चुहावट नियन्त्रण गर्न सफल भएका छौं ।’  

प्रमुख रमणले घरघरको मिटरबाट हुने बिजुली चुहावटमा पनि पर्याप्त मात्रामा नियन्त्रण गर्न सफल भएको दाबी गरे । वितरण केन्द्रले विद्युत् चुहावट गर्नेबाट एक करोड ३९ लाख रूपैयाँभन्दा धेरै राजस्व संकलन गरेको जनायो । आर्थिक वर्ष ०७३÷७४ मा भक्तपुर जिल्लामा चुहावट २९.४ प्रतिशत हुन्थ्यो । उक्त चुहावट आर्थिक वर्ष ०७४÷७५ मा १८.९ प्रतिशतमा झरेको थियो । गत आर्थिक वर्ष ०७५÷७६ मा चुहावट दर १३.६ प्रतिशतमा झरेको थियो ।

प्रकाशित: ३१ असार २०७७ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App