८ वैशाख २०८१ शनिबार
अर्थ

तातोपानी नाकाबाट सातादेखि आयात ठप्प

नेपाल–चीन जोड्ने उत्तरको मुख्य व्यापारिक नाका तातोपानी। तस्बिर: नागरिक

अरनिको राजमार्ग बाढीपहिरोले अवरुद्ध हुँदा उत्तरको मुख्य व्यापारिक नाका तातोपानीबाट हुने आयात सातादेखि ठप्प भएको छ। नाका भित्रिसकेका करोडौं मूल्यका सामग्री तातोपानीमै रोकिएका छन्।  

चीनतर्फको अवरुद्ध सडक सोमबार खुले पनि नेपालतिर लिपिङ बजारदेखि नै राजमार्गका आधा दर्जन स्थानमा बाढी र पहिरोले राजमार्ग अवरोध गर्दा आयात प्रभावित हुन पुगेको हो। गत बुधबार राजमार्गको जम्बुलगायत बजार बगाउँदै २० बेपत्ता हुने गरी बाढीपहिरो निम्तिएको दिनदेखि नै आयात रोकिँदै आएको छ।  

त्यस दिनको बाढीपहिरोले राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध छ। अवरोध खुलाउने र सडक कटान भएका ठाउँमा नयाँ ट्र्याक खोल्ने प्रयास भइरहे पनि सकिएको छैन। सोही दिनको वर्षाले चीनतर्फ (खासा क्षेत्र)मा पनि सडक अवरुद्ध भएको थियो। चीनले आफ्नोतर्फको अवरुद्ध सडक भने खुलाइ सकेको छ। तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख लालबहादुर खत्रीले नाकाबाट आयात ठप्प रहेको बताए।  

‘अवरुद्ध सडक नखुलाइएसम्म अझै केही दिन आयात ठप्पै रहन्छ,’ उनले भने। उनका अनुसार सुक्खा बन्दरगाह भन्सार यार्डमा ३० कन्टेनर सामग्री रोकिएका छन्। झन्डै ६ करोड रुपैयाँका सामग्री रोकिएको प्रमुख खत्रीले जानकारी दिए। रोकिएका सामग्रीमा कोरोना नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, तयारी पोशाक र कृषिजन्य सामान छन्।  

बाढीपहिरोले नाका अवरुद्ध हुनुअघि दैनिक १५ कन्टेनर सामग्री चीनबाट नाका आइपुग्थे। भन्सारले त्यति नै सामग्री जाँच गरेर राजधानी पठाउँथ्यो। पछिल्लो समय नाकाबाट कोरोना नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री धेरै आयात भइरहेका छन्। मुलुकमा कोरोना संक्रमण फैलिएपछि सरकारको विशेष पहलमा स्वास्थ्य सामग्रीको आयात गर्न गत चैत १६ गतेबाट नाका सञ्चालनमा ल्याइएको थियो। यसअघि चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि दुई महिना नाका बन्द थियो।  

कोभिड नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्रीसहित ६ करोड रुपैयाँ मूल्यका ३० कन्टेनर सामान नाकामै रोकिएका छन् ।

चीनतिरको अवरुद्ध सडक खुलेपछि सरकारको विशेष अनुरोधमा मंगलबार मात्र स्वास्थ्य मन्त्रालयको एक कन्टेनर भिटिएम किट्स भन्सार आइपुगेको प्रमुख खत्रीले जनाए। ‘सरकारकै अर्डरका महत्वपूर्ण ती सामग्री बुधबार हेलिकप्टरबाट काठमाडौं पठाउँदै छौं,’ उनले भने। उनका अनुसार चीन–नेपाल जोड्ने लिपिङ बजारदेखि नै राजमार्ग अवरुद्ध छ। लिपिङदेखि भन्सारसम्मको अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ।  

चीनतिरको अवरोध खुलिसकेकाले लिपिङ–लार्चासम्मको अवरुद्ध सडक खुलाउन सके भन्सारसम्मको आयात सहज हुने प्रमुख खत्री बताउँछन्। ‘यहाँबाट तलतिरको सडक खुलाउने काम भइरहेको छ। सामग्री भन्सारसम्म ल्याउन सके सडक खुल्नासाथ राजधानी पठाउन सकिन्थ्यो,’ उनले भने। नाकाबाट पछिल्लो समय कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री आयात भइरहेकाले धेरै दिन आयात ठप्प हुँदा असर पुग्ने खत्री बताउँछन्।  

चीनमा कोरोना फैलिएपछि अन्तर्राष्ट्रिय नाका सिल गर्दा नेपाली व्यवसायीका रोकिएका सयभन्दा बढी कन्टेनर सामग्री अझै बीच बाटोमै रोकिएका छन्। विशेष पहलपछि रोकिएका सामग्री भित्र्याउने तयारी भइरहेको थियो। तर, बाढीपहिरोले ती सामग्री पुनः बाटोमै रोकिन पुगेका छन्। भन्सार तथ्यांकअनुसार चालु वर्षको बितेको ११ महिनामध्ये नाका चलेको नौ महिनामा तातोपानी भएर साढे नौ अर्ब रुपैयाँ मूल्यका सामग्री आयात भएको छ।

प्रकाशित: ३१ असार २०७७ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App