१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महासंघमा दुई प्यानल घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवारहरू किशाेर प्रधान र चन्द्रप्रसाद ढकालको समूहले उम्मेदवारी घोषणा गर्दै।तस्बिर: नागरिक

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावमा वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका दुवै उम्मेदवारले मंगलबार आ–आफ्नो प्यानल घोेषणा गरेका छन्।  

यसअघि चन्द्रप्रसाद ढकालले बाग्लुङ र किशोर प्रधानले विराटनगरबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए। मंगलबार दुवैले आ–आफ्नो प्यानल घोषणा गरेका हुन्।  

ढकालले दिउँसो एक कार्यक्रम गरी प्यानल घोषणा गरेको केही घन्टापछि अर्का प्रत्यासी प्रधानले पनि प्यानल घोषणा गरेका हुन्।  

ढकाल प्यानलबाट उद्योग वाणिज्य संघ जिल्ला, नगरसमूहको उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत संघको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दिने बताइएको छ।  

अर्का प्रत्याशी प्रधान प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ भिड्ने भएका छन्। त्यसैगरी वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योतीले उम्मेदवारी दिनेछन्। गोल्छा प्रधानको प्यानल घोषण कार्यक्रममा पनि सहभागी थिए।  

– गोल्छाले एउटा प्यानलको पक्ष लिएकोमा ढकालले गरे आलोचना  

– व्यवसायीको भावना अनुसार काम गर्ने प्रधानको प्रतिबद्धता  

आगामी साउन २६ र २७ गते हुने महासंघको वार्षिक साधारण सभामा नयाँ नेतृत्वको निर्वाचन समेत हुनेछ।  

महासंघको प्रचलित विधान अनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचित भएपछि अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुन पाइन्छ। अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघको अध्यक्ष हुँदैछन्। प्यानल घोषणा कार्यक्रममा ढकालले वर्तमान वरिष्ठ उपाध्यक्ष गोल्छालाई कटाक्ष गर्दै साझा चरित्र देखाउने आग्रह गरे।  

उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बन्ने प्रावधान हटाउने बहस चलेको थियो। सोही विषयमा गोल्छाप्रति लक्षित गर्दै ढकालले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव हटाउनु हुँदैन भनेर आफूले लबिङ गरेको दाबी गरे। ‘शेखर गोल्छाले नै नेतृत्व पाउनुपर्छ भनेर मेहनत नगरेको भए अहिलेको वातावरण के हुन्थ्यो,’ ढकालले भने, ‘शेखरजीले यो कुराको हेक्का राख्नुपर्छ।’ गोल्छाले अर्का वरिष्ठ उपाध्यक्षका आकांक्षी किशोर प्रधानको पक्षमा लबिङ गर्न थालेपछि ढकालले यस्तो आग्रह गरेका हुन्।  

आफ्नो समूहमा साना तथा मझौला व्यवसायदेखि ठूला व्यावसायिक घरानासम्मको प्रतिनिधित्व गरेको ढकालको दाबी छ। निजी क्षेत्र देशको समृद्धिको यात्राको दरिलो खम्बा भएको बताउँदै समृद्धिको यात्रामा निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन नसकेको गुनासो गरे। ‘औद्योगिक र व्यापारिक वातावरण बनाउन थुप्रै काम गर्न बाँकी छ,’ ढकालले भने, ‘सरकारले निजी क्षेत्रलाई सघाउनु पर्छ।’  

मुलुकमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न आफूले पहल गर्ने ढकालले बताए।

प्रधानले आफू निर्वाचित भए व्यवसायीको भवनाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्।  

प्रकाशित: ३१ असार २०७७ ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App