१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

राहत प्याकेज माग्दै उद्योगी, व्यवसायीको प्रदर्शन

नेपालगन्जमा बिहीबार प्रदर्शन गर्दै उद्योगी–व्यवसायी।तस्बिर: नागरिक

कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित उद्योग, व्यवसाय क्षेत्रलाई मौद्रिक नीतिमार्फत राहत प्याकेज ल्याउनुपर्ने माग गर्दै नेपालगन्जका उद्योगी, व्यवसायी आन्दोलित भएका छन्। नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार उद्योगी, व्यवसायीले प्रर्दशन गरे।  

स्थानीय त्रिभुवन चोकबाट सुरु भएको -याली न्युरोड, धम्बोझी हुँदै नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा पुगेको थियो। सो क्रममा संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख मुक्तिप्रसाद सापकोटालाई ११ बुँदे ज्ञापनपत्र हस्तान्तरण गरे।  

संघले बुझाएको ज्ञापन पत्रमा विद्यमान सबै ऋणलाई दुई वर्षका लागि ब्याज र किस्तालाई पुँजीकरण गर्ने र दुई वर्षभित्र न्यून लागतमा ब्याज तिर्ने व्यवस्था गर्नुपर्ने, मासिक, त्रैमासिक किस्ताको भुक्तानी अवधि कम्तीमा पनि ६ महिनासम्म स्थगित गर्ने व्यवस्था तथा अन्य कर्जाको भुक्तानी म्याद दुई वर्षदेखि पाँच वर्षसम्म कायम गर्नुपर्ने, कोभिड–१९ को असरले घाटामा गएका कम्पनी तथा फर्मलाई कारोबारको अनुपातमा पुनर्कर्जा प्रदान गर्ने व्यवस्था गर्नुपर्ने, आव ०७७/७८ को बजेटमा उल्लेख भएका कृषि घरेलु साना मझौला उद्योग पर्यटन क्षेत्रका व्यवसायीलाई प्रदान गर्ने भनिएको पुनर्कर्जा तत्काल सहज र सरल तरिकाले कार्यान्वयन गर्नुपर्ने लगायत माग राखिएको छ।  

ज्ञापनपत्र बुझाइसकेपछि अध्यक्ष मन्सुरीले कोरोना भाइरसबाट प्रभावित उद्योगी, व्यवसायीका लागि सरकारले राहत प्याकेज ल्याउनुपर्ने माग गरे। राहत प्याकेज नल्याए अर्थतन्त्र थप धराशयी बन्ने निश्चित रहेको उनको भनाइ छ। उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य कृष्णप्रसाद श्रेष्ठले निकट भविष्यमा हुने आर्थिक संकटको अवस्थालाई पूर्वानुमान गर्दै त्यसको असर न्यून गर्नेतर्फ अर्थतन्त्र चलायमान हुनुपर्ने देखिएको बताए।  

महासंघका पूर्वकार्यसमिति सदस्य दामोदर आचार्यले अस्तव्यस्त बनेको उद्योग, व्यवसायलाई संघीय सरकारको बजेटले कुनै राहत दिन नसके पनि मौद्रिक नीतिले राहत दिने विश्वास गरे। संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले कोभिड–१९ को संक्रमणको अवस्थालाई हेर्दा यसको असर लामो समयसम्म रहने निश्चित भएको भन्दै विज्ञहरु अध्ययन र पूर्वानुमानबाट पनि भविष्यमा आर्थिक संकट निम्तिन सक्ने आँकलन गरेर राहत प्याकेज ल्याउनैपर्नेमा जोड दिए।  

ज्ञापनपत्र बुझिसकेपछि नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख सापकोटाले उद्योगी, व्यवसायीले उठाएका माग केन्द्रीय कार्यालयमा पठाउने प्रतिबद्धता व्यक्त गरे। उद्योगी, व्यवसायीले उठाएका ‘जायज’ माग सम्बोधन हुने उनले विश्वास दिलाए। संघका महासचिव चिरञ्जीवी ओलीले उद्योग व्यवसायलाई राहतका निम्ति आर्थिक विधेयकका साथै मौद्रिक नीतिमार्फत आवश्यक व्यवस्था गरी राहत तथा सुविधा प्रदान गर्न संघका तर्फबाट जोडदार माग गरिएको बताए। 

प्रकाशित: २६ असार २०७७ ०३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App