८ वैशाख २०८१ शनिबार
अर्थ

राहत प्याकेज ल्याउनुपर्ने माग गर्दै उद्योगी, ब्यवसायी आन्दोलित

नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख मुक्तिप्रसाद सापकोटालाई ज्ञापन पत्र हस्तान्तरण गरिँदै । तस्बिर : नागरिक

कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित भएको उद्योग, व्यवसाय क्षेत्रलाई मौद्रिक नीतिमार्फत राहत प्याकेज ल्याउनुपर्ने माग गर्दै नेपालगन्जका उद्योगी, व्यवसायी आन्दोलित भएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा बिहीबार उद्योगी, व्यवसायीले प्रर्दशन गरे । स्थानीय त्रिभुवन चोकबाट सुरु भएको र्‍याली न्यूरोड, धम्बोझी हुँदै नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा पुगेको थियो । सो क्रममा संघका अध्यक्ष अब्दुलवाहिद मन्सुरी ‘चुन्ना’ ले नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख मुक्तिप्रसाद सापकोटालाई ११ बुँदे ज्ञापन पत्र हस्तान्तरण गरे ।  

संघले बुझाएको ज्ञापन पत्रमा विद्यमान सबै ऋणलाई दुई वर्षको लागि ब्याज र किस्तालाई पुजिकरण गर्ने र दुई वर्षभित्र न्यून लागतमा ब्याज तिर्ने व्यवस्था गर्नुपर्ने, मासिक, त्रैमासिक किस्ताको भुक्तानी अवधी कम्तीमा पनि ६ महिनासम्म स्थगित गर्ने व्यवस्था तथा अन्य कर्जाको भुक्तानी म्याद २ वर्षदेखि ५ वर्षसम्म कायम गर्नुपर्ने, कोभिड–१९ को असरले घाटामा गएका कम्पनी तथा फर्मलाई कारोबारको अनुपातमा पुर्नकर्जा प्रदान गर्ने व्यवस्था गर्नुपर्ने, आर्थिक वर्ष २०७७/७८ को बजेटमा उल्लेख भएका कृषि घरेलु साना मझौला उद्योग पर्यटन क्षेत्रका व्यवसायीलाई प्रदान गर्ने भनिएको पुर्नकर्जा तत्काल सहज र सरल तरिकाले कार्यान्वयन गर्नुपर्ने लगायत माग राखिएको छ ।

ज्ञापन पत्र बुझाईसकेपछि अध्यक्ष मन्सुरीले कोरोना भाइरसबाट प्रभावित उद्योगी, ब्यवसायीका लागि सरकारले राहत प्याकेज ल्याउनुपर्ने माग गरे । राहत प्याकेज नल्याउने हो भने अर्थतन्त्र थप धरासायी बन्ने निश्चित रहेको उनको भनाई छ । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले निकट भविष्यमा हुने आर्थिक संकटको अवस्थालाई पूर्व आकंलन गर्दै त्यसको असर न्यून गर्ने तर्फ अर्थतन्त्र चलायमान हुनुपर्ने देखिएको बताए ।  

महासंघका पूर्वकेन्द्रीय सदस्य दामोदर आचार्यले अस्तव्यस्त बनेको उद्योग, व्यवसायलाई संघीय सरकारको बजेटले कुनै राहत दिन नसकेपनि मौद्रिक नीतिले राहत दिने विश्वास गरे । संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले कोभिड–१९ को संक्रमणको अवस्थालाई हेर्दा यसको असर लामो समयसम्म रहने निश्चत भएको भन्दै विज्ञहरु अध्ययन र पूर्वानुमानबाट पनि भविष्यमा आर्थिक संकट निम्तिन सक्ने आकंलन गरेर राहत प्याकेज ल्याउनैपर्नेमा जोड दिए ।  

ज्ञापनपत्र बुझिसकेपछि नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख सापकोटाले उद्योगी, व्यवसायीले उठाएका मागलाई केन्द्रीय कार्यालयमा पठाउने प्रतिवद्धता ब्यक्त गरे । उद्योगी, ब्यवसायीले उठाएका ‘जायज’ माग सम्बोधन हुने उनले विश्वास दिलाए । संघका महासचिव चिरञ्जीवी ओलीले उद्योग व्यवसायलाई राहतका निम्ति आर्थिक विधेयकका साथै मौद्रिक नीतिमार्फत आवश्यक व्यवस्था गरी राहत तथा सुविधा प्रदान गर्नका लागि संघका तर्फबाट जोडदार माग गरिएको बताएका छन् ।

प्रकाशित: २५ असार २०७७ ११:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App