२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

चक्रपथ सुधारको दोस्रो चरण सुरु

आठ अर्बभन्दा बढी लाग्ने, ३० महिनामा सम्पन्न हुने

चक्रपथ सुधार अन्तर्गत दोस्रो चरणको निर्माण प्रक्रिया अघि बढाइएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयले मुआब्जा वितरणका लागि ३५ दिने सूचना प्रकाशित गरेपछि निर्माण प्रक्रिया सुरु भएको हो।

चक्रपथ सुधार अन्तर्गत महाराजगन्ज चोकदेखि पश्चिमतर्फ एक सय नौ तथा पूर्वतर्फ एक सय ३५ गरी दुई सय ४४ मिटरमा पर्ने घर, टहरा र जमिन अधिग्रहण गरिसकेपछि निर्माण कार्य सुरु हुने सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए।

हाल त्यस खण्डको दुई सय ४४ मिटरको सडक केन्द्रदेखि दुवै किनारातर्फ १५–१५ मिटर छ। अब सडकलाई विस्तार गरी केन्द्रदेखि दुवै किनारातर्फ ३१–३१ मिटर बनाउने योजना छ। सडक विस्तार गर्ने क्रममा ४९ घर टहरा भत्काउने र ११ रोपनी जमिन अधिग्रहण गरिने उनले जानकारी दिए।

सडक लगायत सार्वजनिक हितका लागि व्यक्तिको निजी सम्पत्ति अधिग्रहण गर्न सकिने कानुनी प्रावधान भए पनि सम्बन्धित धनीलाई चित्तबुझ्दो मुआब्जा दिनुपर्छ। सरकारले दुई सय ४४ मिटरमा अधिग्रहण गरिने जग्गा र घर, टहरालाई मुआब्जा वितरण गर्न दुई अर्ब सात करोड रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ।  

थापा भने त्यो मूल्यांकन दुई–तीन वर्ष पुरानो भएको र निकै प्रारम्भिक भएको बताउँछन्। ‘अधिग्रहण गरेपछि कति रकम चाहिन्छ भन्ने छिनोफानो अब हुँदैछ,’ उनले भने, ‘घर तथा जग्गा मालिक, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीको टोलीले मुआब्जा दिने रकम यकिन गर्नेछ।’  

सडक विस्तार गर्न लागिएको जग्गाको मूल्य महँगो भएकाले अहिले अनुमान गरिएभन्दा निकै बढी रकम लाग्ने बताइएको छ। लामो समयअघि निर्माण गरिएको चक्रपथ जनसंख्या र सवारी साधनको वृद्धिपछि विस्तार आवश्यक परेको हो।  

पहिलोपटक ६ वर्षअघि चीन सरकारको सहयोगमा चक्रपथ विस्तार आयोजना सुरु गरिएको हो। पहिलो चरणमा कलंकीदेखि कोटेश्वरसम्मको साढे १० किलोमिटर निर्माण कार्य अघिल्लो वर्ष सम्पन्न भइसकेको छ। कलंकीदेखि कोटेश्वर खण्डको विस्तार गर्दा मापदण्ड अनुसार जग्गा उपलब्ध भएकाले जग्गा अधिग्रहण गरिएको थिएन।  

पाँच वर्ष लगाएर निर्माण गरिएको पहिलो चरणमा करिब पाँच अर्ब रूपैयाँ खर्च गरिएको थियो। चक्रपथ विस्तारका लागि पहिलो र दोस्रो चरणमा लाग्ने खर्च चीन सरकारले बेहोर्ने थापाले बताए। दोस्रो खण्ड कलंकीदेखि धोबीखोला पुलसम्मको करिब १२ किलोमिटर सडक विस्तारमा आठ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ।  

थापाका अनुसार दोस्रो चरणको निर्माण कार्य ३० महिनामा सक्ने लक्ष्य राखिएको छ। दोस्रो चरणको निर्माण कार्य सकिएपछि तेस्रो चरणको काम पनि चीन सरकारले नै गरिदिने आश्वासन दिएको विभागका अधिकारीहरू बताउँछन्। ‘तेस्रो चरणको विस्तार पनि चीन सरकारले नै गरिदिने आश्वासन पाएका छौं,’ उनले भने, ‘तर यकिन भने दोस्रो चरणको काम सम्पन्न भएपछि मात्र हुनेछ।’  

दोस्रो चरणको निर्माण कार्य सकिएपछि कोटेश्वरदेखि धोबीखोला पुलसम्मको विस्तार कार्य बाँकी हुनेछ। जसमध्ये कोटेश्वर–तीलगंगासम्मको तीन किलोमिटर सडक विस्तार नेपाल सरकारले गर्ने थापाले जानकारी दिए। कोरोना महामारीका कारण यतिखेर चिनीयाँ ठेकेदार र प्राविधिक चीन गएका छन्।  

यही अवधिमा विभागले जग्गा अधिग्रहण, सडकमा पर्ने विद्युत्का पोल तथा रूख हटाउने जनाएको छ। ‘कोरोना महामारी सकिएलगत्तै चीन गएको टोली फर्केपछि दोस्रो चरणको निर्माण कार्य सुरु हुनेछ। त्यसबेलासम्म निर्माणअघिको तयारी पूरा गर्दैछौं,’ महाशाखा प्रमुख थापाले भने।  

पूरै चक्रपथलाई आठ लेनमा विस्तार गर्दासम्म मुआब्जा वितरण भने दोस्रो चरणको नारायणगोपाल चोकपूर्व र पश्चिमतर्फको दुई सय ४४ मिटरका लागि मात्र गर्नुपर्छ। सडक विस्तारका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च चीन सरकारले बेहोर्ने भए पनि मुआब्जा वितरण र अन्य तयारीको काम नेपालले गनुपर्ने सहमति छ। विस्तारपछि चक्रपथ सडकको चौडाइ ६२ मिटर कायम हुनेछ। 

प्रकाशित: २४ असार २०७७ ०३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App