coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

किस्ता तिर्न नसकिने भयो: यातायात व्यवसायी

लकडाउनलगत्तै पनौतीस्थित पेट्रोल पम्पमा थन्किएका मिनिबस। तस्बिर: नागरिक

यातायात मजदुरका रुपमा लामो समय काम गरेपछि स्वरोजगार हुने चाहनाले पनौती–३, कुशादेवीका वेदप्रसाद घिमिरेले सहकारीबाट ऋण लिएर एउटा मिनिबस किने। आफैं चालकका रुपमा पनौती–काठमाडौं रुटमा चलाउँदै आएको मिनिबसको आम्दानीले घरखर्च र सहकारीको किस्ता तिर्न पुगिरहेको थियो।

यसैबीचमा कोरोना संक्रमण फैलन नदिन सरकारले चैत ११ गतेबाट मुलुकभर ‘लकडाउन’ घोषणा ग-यो। घोषणालगत्तै उनी पनौतीकै एउटा पेट्रोल पम्पमा मिनिबस थन्क्याएर घर फर्केका छन्। उनी भन्छन्,  ‘मिनिबस पार्किङ गरेको ठाउँमा टायर छोप्ने गरी घाँस उम्रेको छ रे। लामो समयसम्म स्टार्ट नगरेकाले ब्याट्री डाउन भयो होला। अब त पार्टपूर्जामा पनि खिया लाग्यो होला। आफूसँगै काम गर्ने दुई मजदुर पनि बेइलमी भएका छन्,’ घिमिरेले थपे।  

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको पनौती रुट एकाइका अध्यक्षसमेत रहेका घिमिरे भन्छन्, ‘मिनिबसहरु थन्किँदा हिजो चालक र सहचालक भएर काम गर्दै आएका मजदूर आज खाद्यान्न र निर्माण सामग्री लोड अनलोड गर्न बाध्य भएका छन्। कतिपय यातायात मजदूर बनेपा–पनौती सडकमा बन्दै गरेको ढल र नाली बनाउने काममा लागेका छन्। सरकारले सार्वजनिक यातायात चलाउन नदिने हो भने अब यातायात मजदूर भोकभोकै हुने अवस्था आउने भयो,’ उनले भने। एकाइले लकडाउनलगत्तै मजदूरका लागि केही समयसम्म पुग्ने खाद्यान्न राहत बाँडेको भए पनि अब बाँड्न नसक्ने अवस्था आएको उनको भनाइ छ।

काभ्रे पुण्यवती यातायात प्रालि मातहतमा घिमिरेको बा४ख ५९२३ नम्बरको मिनिबस सञ्चालन हुँदै आएको छ। कम्पनीका अध्यक्ष राजेशसुन्दर सैंजु भन्छन्, ‘हाम्रो कम्पनीमा एक सय ४५ वटा मिनिबस आवद्ध छ। त्यसमा पनि ६० प्रतिशतको हाराहारीमा स्वरोजगार मजदूर धनी भएका मिनिबस रहेको छ। मिनिबस सञ्चालनमा प्रत्यक्ष संलग्न चालक, कन्डक्टर र हेल्पर तथा कम्पनीका कर्मचारी गरी साढे चार सय जना बेरोजगार भएका छन्,’ उनले थपे।

सरकारले बस चलाऊ भनेको खण्डमा भोलिदेखि नै चलाई हाल्न सक्ने अवस्था पनि छैन। सबै बसका टायर मक्किन थालेका छन्। ब्याट्री डाउन भएका छन्। दैनिक नगुडेपछि बसका पार्टपूर्जामा खिया लाग्न थालेका छन्। प्रतिबस कम्तीमा एकदेखि दुई लाख रुपैयाँ नभई व्यवसायी र स्वरोजगार मजदूरले सडकमा बस निकाल्न सक्ने अवस्था छैन

दैनिक रुपमा आम्दानी गर्दै आएका मिनिबस थन्किएपछि व्यवसायीसमेत मर्कामा परेको सैंजुको भनाइ छ। उनी भन्छन्, ‘प्रायः सबैले मिनिबस बैंक, वित्तीय संस्था र सहकारीको ऋण लिएर किनेका छन्। वित्तीय संस्थाबाट प्रवाह भएको ऋणको किस्ता र ब्याजको सन्दर्भमा राष्ट्र बैंकले केही सहुलियत ल्याउने आशा भए पनि सहकारीबाट ऋणमा किनेका मिनिबसमा त्यस्तो राहत आउने सम्भावना कमै छ,’ सैंजुले भने।  

कम्पनीमातहत सञ्चालनमा रहेका ७० मिनिबसलाई स्वरोजगार मजदूरले सहकारीको ऋणबाट किनेका हुन्। सामान्यतया पाँच वर्षमा किस्ता तिर्ने गरी ऋण लिएर बस किनेका छन्। ऋण चुक्ता गर्ने अवधिसमेत ६० महिनामा चार महिना थपेर ६४ महिना बनाइदिन र किस्ता चुक्ता गर्ने समयमा पनि केही महिना थपिदिन कम्पनीले सहकारीलाई अनुरोध गर्दै आएको छ। उनी भन्छन्, ‘सहकारीलाई ऋणको भाखा अवधिलाई बढाइदिन र सम्भव भएसम्म ब्याजमा केही सहुलियत गरिदिन संस्थागत रुपमा छलफल सुरु गरेका छौं। ऋणको भाखामा लकडाउन भएजत्तिको अवधि थपेर किस्ताको म्याद बढाएदिए उपयुक्त हुने सुझाव पनि दिएका छौं,’ सैंजुले भने।

यस्तै अवस्था काभ्रेपलाञ्चोक जिल्लालाई केन्द्र बनाएर सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएका अन्य कम्पनी पनि रहेका छन्। काभ्रे बस सेवा प्रालि, सिन्धु हेलम्बु यातायात प्रालि तथा गणेश हिमाल तराई यातायात प्रालिमातहत रहेका साढे चार सय बस सञ्चालन नहुँदा मजदुर र व्यवसायी दुवैमा समस्या थपिएको छ। गणेश हिमाल तराईका अध्यक्ष आत्माराम थापाका अनुसार यतिखेर कम्पनीमातहतका एक सय ६७ बस पेट्रोल पम्प तथा सार्वजनिक चौरमा थन्किएका छन्।  

उनी भन्छन्, ‘सरकारले बस चलाऊ भनेको खण्डमा भोलिदेखि नै चलाई हाल्न सक्ने अवस्था पनि छैन। सबै बसका टायर मक्किन थालेका छन्। ब्याट्री डाउन भएका छन्। दैनिक नगुडेपछि बसका पार्टपूर्जामा खिया लाग्न थालेका छन्। प्रतिबस कम्तीमा एकदेखि दुई लाख रुपैयाँ नभई व्यवसायी र स्वरोजगार मजदूरले सडकमा बस निकाल्न सक्ने अवस्था छैन,’ थापाले दृष्टान्त दिए।

लकडाउनकै अवधिमा काभ्रेका चारवटै कम्पनीका अधिकांश मिनिबस र बसको बिमा अवधि सकिएको छ। दैनिक बस सञ्चालन नहुँदा कम्पनीको कार्यालय सञ्चालन र बिमाबापत संकलन हुने रकमसमेत रोकिएको काभ्रे बस प्रालिका अध्यक्ष वर्ण शाक्य बताउँछन्। उनी भन्छन्, ‘कम्पनीमा आवद्ध बसको बिमा अवधि समाप्त भएकाले नवीकरणका लागि ऋण खोज्ने या बिमा कम्पनीलाई केही महिनापछि प्रिमियम तिर्ने गरी जमानी बस्नेबारे छलफल गर्दै रहेका छौं। काभ्रे बस मातहत रहेका एक सय ६५ बसले धुलिखेल–काठमाडौं रुटका साथै काभ्रे जिल्लाका ग्रामीण रुटमा सेवा दिँदै आएको छ। शाक्यका अनुसार आधाभन्दा बढी बसको स्वामित्व स्वरोजगार मजदूरको रहेको छ।  

उता, सिन्धु हेलम्बु यातायातका एक सय २० बस पनि विभिन्न स्थानमा थन्किएका छन्। कम्पनीको मुख्य कार्यालयका प्रबन्धक मिलन श्रेष्ठ भन्छन्, ‘दैनिक बस गुड्दाको कमाइले व्यवसायीले ऋणको किस्ता तिर्ने, मजदुरको तलब र कम्पनीलाई शुल्क बुझाउँथे। अब आम्दानी नभएपछि किस्ता पनि तिर्न सकेका छैनन्। बसको अवस्था हेरेर ५० हजारदेखि एक लाख रुपैयाँसम्म किस्ता तिर्नुपर्ने व्यवसायी कम्पनीमा आवद्ध छन्। यस पटक यातायातको सबै श्रृंखलामा मर्का परेको छ,’ उनले थपे।

प्रकाशित: २२ असार २०७७ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App