७ वैशाख २०८१ शुक्रबार
अर्थ

माथिल्लो तामाकोसीको जटिल काम सकियो

आगामी कात्तिकभित्र पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुने

बहुचर्चित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य नरोकिएको खण्डमा आगामी कात्तिकभित्र पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुने भएको छ । आयोजनाको अत्यन्तै जटिल मानिएको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान गरेसँगै कात्तिकसम्ममा पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्न सकिने स्थिति बनेको आयोजनाले जनाएको छ ।

प्रवद्र्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेशप्रसाद न्यौपानेले आयोजनाको सबैभन्दा धेरै जटिल मानिएको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान गरे पनि अन्य केही प्राविधिक काम बाँकी रहेको बताए ।  

उनले आयोजनाको होरिजन्टल सेक्सनको पाइप जडान, बाइ फर्गेसन सेक्सन, र ड्रिस्ट्रिब्युसन पाइप लगायत करिब सय मिटर जतिमा अझै पाइप जडानको काम बाँकी रहेको बताए । ‘आयोजनाको ग्राउटिङ, लाइनिङ, फिनिसिङ र पे्रसर टेस्टिङ लगायत काम बाँकी छ,’ उनले भने, ‘बाँकी काम निर्धारित समयभित्रै सम्पन्न भएमा आगामी कात्तिकसम्म पहिलो युनिट र त्यसको दुई महिनापछि पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न सक्छौं ।’

प्रवक्ता न्यौपानेले सुरुङमा पाइप जडान गरेसँगै फिनिसिङ र फिटिङको काम गरिने बताए । ‘भारतबाट पाइप जडानमा आवश्यक पर्ने उपकरण र सामग्री आएको छैन, जसले गर्दा काम प्रभावित हुने सम्भावना छ,’ उनले भने, ‘कोरोना संक्रमण केही कम हुने बित्तिकै उपकरण ल्याएर काम अघि बढाउनेछौं ।’ आयोजनाका अनुसार दुवै ठाडो सुरुङका काम सकेर दुवै सुरुङको बीचमा पर्ने सय मिटरको तेर्सो पाइप जडान गर्न बाँकी छ ।  

प्रवक्ता न्यौपानेले लकडाउन कै अवधिमा आयोजनाको सबैभन्दा जटिलमध्येको तल्लो र माथिल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान कार्य सकिएको बताए । ‘गत जेठमा तल्लो ठाडो सुरुङमा ३७३ मिटर मिटर पेनस्टक पाइप जडान गरिएको थियो,’ उनले भने, ‘माथिल्लो ठाडो सुरुङमा ३१० मिटर पेनस्टक पाइप जडान कार्य गत सोमबार सकेका छौं ।’

पेनस्टक पाइप पाँच मिटर लम्बाइको २७ टन क्षमताको हुने भएकाले जडानमा निकै जटिल मानिन्थ्यो । ती पेनस्टक पाइप जडान कार्य अघिल्लो आर्थिक वर्षको जेठ र असारमा सुरु गरिएको थियो । पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकोले काममा ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदार अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको थियो । प्रवद्र्धक कम्पनी, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्सम्याकोले गरेको थियो ।  

आयोजनाका वरिष्ठ इन्जिनियर बिमल गुरुङले लामो समयदेखि चुनौती र जटिल बनेको काम सम्पन्न गरेर माथिल्लो तामाकोसीले एउटा चुनौतीपूर्ण खुड्किलो पार गरेको प्रतिक्रिया दिएका छन् । ‘एउटै २७ टनसम्म तौल र पाँच मिटर लम्बाइका ती पाइप सुरुङबाट झार्नु आफैंमा जोखिम त छँदै थियो, त्यसमाथि एउटै पाइप वेल्डीङ गर्दा आउने धुवाँको मुस्लोले कामदारलाई निकै ठूलो खतरा हुन्थ्यो । तर सानातिना बाहेक कुनै पनि समस्या नभई सहज रूपमा पार ग-यौं,’ उनले भने ।  

आयोजना प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले लकडाउनमा समेत आयोजनाको काममा निरन्तरता दिन सकिएका कारण आयोजना सम्पन्न गर्ने लक्ष्यमा थुप्रै नतिजा देखिएको सुनाए । ‘लकडाउनमा पनि काम रोक्नुपरेको भए १० महिनाभन्दा बढी पछि धकेलिन्थ्यो,’ श्रेष्ठले भने, ‘लकडाउनमा बिनाअवरोध निरन्तर काम गर्न पाइएकोले जटिल किसिमका काम सहज रूपमा सम्पन्न भयो ।’ उनले अब तेर्सो पाइप जडान गरेपछि कंक्रिटका कामहरू सँगसँगै अघि बढ्ने सुनाए । कुनै बाधा, अवरोध नआए तिहारअघि नै आयोजनाले परीक्षण उत्पादन गर्ने लक्ष्य राखेको श्रेष्ठले सुनाए ।

केही सामान भारतमै रोकिए
लकडाउनका कारण भारतीय ठेकेदार टेक्सम्याकोले तेर्सो पाइपमा जडान गर्नुपर्ने विभिन्न उपकरण ल्याउन सकेको छैन । कोलकाताबाट आउनुपर्ने त्यस्ता सामान यसअघि नै ल्याउने तयारी उसले गरे पनि लकडाउन र त्यहाँ आएको आँधीले रोकिएको आयोजनाका प्रवक्ता न्यौपानेले सुनाए । ‘टेक्सम्याको कम्पनीको कारखाना रहेको क्षेत्रमा आएको आँधी साथै भारतमा समेत जारी लकडाउनका कारण उतै रोकिएका ती सामान हिँडाउन पहल भइरहेको छ,’ न्यौपानेले भने, ‘छिट्टै आइपुग्ने जानकारी ठेकेदार कम्पनीले गराएको छ ।’  

भाका सरेको स-यै, अर्काे मेलम्ची बन्ने छाँट
माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पछिल्लो समय मेलम्ची खानेपानी जस्तै बनेको छ । बारम्बार आयोजना सम्पन्न हुने भाका सर्ने प्रवृत्ति देखिँदै आएको छ । आर्थिक वर्ष ०६७/६८ मा आयोजना सुरु गर्दा ०७३/७४ भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तर भूकम्प र नाकाबन्दीले तोकिएको समयभित्रै निर्माण सम्पन्न हुन सकेन ।

भूकम्प र नाकाबन्दीले प्रभावित भएसँगै पहिलोपटक ०७५/७६ को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिका तय गरिएको थियो । उक्त तालिका बमोजिम पनि आयोजनाको माथिल्लो तथा तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्न नसकेपछि फेरि नयाँ भाका २०७६ चैत मसान्तसम्म पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखियो । त्यो समयभित्र पनि पाइप जडान सम्पन्न हुन सकेन ।  

चैतमा नसकेपछि फेरि आयोजनाले चालु आर्थिक वर्षभित्रै पाइप जडान र पहिलो युनिटबाट बिजुली उत्पादन गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । फेरि कोरोना भाइरसको संक्रमण र लकडाउनले असारभित्रै बिजुली उत्पादन सम्भव भएन । तर, आयोजनाको सबैभन्दा जटिल मानिएको माथिल्लो तथा तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान कार्य भने सम्पन्न गरेको छ ।

राष्ट्रिय योजना आयोगको मध्यकालीन खर्च संरचना प्रतिवेदनअनुसार माथिल्लो तामाकोसीमा आव ०७५÷७६ मा ५० करोड खर्च भएको थियो । चालु आर्थिक वर्षमा संशोधित खर्च ९९ करोड ७६ लाख खर्च हुने प्रक्षेपण गरेको छ । आव ०६७÷६८ मा सुरु गर्दा यो ३५ अर्ब रूपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । तर तोकिएको समयभित्र निर्माण सम्पन्न नभएपछि आयोजनाको लागत दोब्बर नाघेको छ । यो सम्पन्न हुँदा ७३ अर्बभन्दा धेरै लाग्ने पछिल्लो अनुमान छ ।

प्रकाशित: १९ असार २०७७ ०३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App