३१ श्रावण २०७७ शनिबार
अर्थ

नेप्से परिसूचक १२ दशमलव ८७ अंकले घट्याे

अब दोस्रो बजार कुनै पनि अवस्थामा बन्द नहुने

बन्दाबन्दी (लकडाउन) पछि खुलेको सेयर बजारमा पहिलो दिन  नेप्से परिसूचक १२ दशमलव ८७ अंकले घटेर १ हजार १ सय ८८ दशमलव ७ अंकमा बन्द भएको छ । 

कारोबार खुलेपछि करिब एक घण्टासम्म लगातार घटेको नेप्से त्यसपछि भने केही सम्हालिएको थियो । नेप्सेमा चार प्रतिशत (करिब ५० अंक)ले घटेर २० मिनेट कारोबार स्थगित भएपछि बजार फर्किएको थियो । बजार लगातार घट्न थालेपछि लगानीकर्ताले सेयर बिक्री गर्न छाडेर माग बढाउँदा बजारमा विस्तारै सुधार देखियो । सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ०३ अंकले घटेर २ सय ५६ दशमलव २९ अंकमा बन्द भएको छ । दिनभर १ सय ३० कम्पनीको ३४ करोड ७७ लाख रुपैयाँबराबरको ९ लाख ७० हजार ७६ कित्ता सेयर खरिद बिक्री भएका छन् ।  

सोमबार सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टिलरीको ३ करोड ४३ लाख रुपैयाँ बढीको भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, नेपाल इन्भेस्टमेन्ट बैंक लगायतका कम्पनीका सेयरधनीले १० प्रतिशतले कमाएका छन् ।  

यस्तै, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, नेपाल पुनर्बिमा कम्पनी, आशा लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्थालगायतका कम्पनीका सेयरधनीले झन्डै १० प्रतिशतले गुमाएका छन् ।  

जीवन बिमा, उत्पादन तथा प्रशोधन, व्यापार र अन्य समूहका सूचकहरु बढेका छन् । बैंकिङ, निर्जिवन बीमा, विकास बैंक, वित्त कम्पनी, होटेल, जलविद्युत्, माइक्रोफाइनान्स, म्युचुअल फन्ड समूहका सूचकहरु भने घटेका छन् ।

सोमबारदेखि खुलेको नेप्से बजार बन्दाबन्दी (लकडाउन)अघि परीक्षणमा रहेको एक घण्टा समय घटाएर पुरानै समयअनुसारको व्यवस्थाबमोजिम खोलिएको हो । यसअघि लकडाउनकै अवधिमा पनि नेप्से वैशाख ३० र ३१ गते खोलिएको थियो । 

लकडाउनको बेलामा दिनको दुई घण्टा बजार खोल्न सक्ने र नेप्सेमा दुई प्रतिशतको उतारचढाव भए त्यस दिनको कारोबार बन्द गर्ने गरी कारोबार खुला गरिएको थियो । तर, दुई दिन नै निर्धारित समयअघि नै नकारात्मक सर्किट लागेर कारोबार भन्द भएपछि तेस्रो दिनदेखि  कारोबार बन्द गरिएको थियो । त्यसयता अनिश्चित बनेको सेयर बजार असार १५ गते (आज)देखि पुरानै व्यवस्थाअनुसार खोलिएको नेप्सेले जनाएको छ ।  

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले लकडाउनभन्दा पहिले जुन अवस्थामा बजार सञ्चालनमा थियो, सोहीअनुसार नै खोलिएको बताए । उनले लकडाउनभन्दा पहिले परीक्षणका रूपमा राखिएको एक घण्टाको समयलाई हटाएर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बजार खुला गरिएको जानकारी दिए । लकडाउनअघि परीक्षणका रूपमा एक घण्टा थप गरी दिउँसो ४ बजेसम्म बजार सञ्चालन गरिएको थियो ।  

अब दोस्रो बजार  कुनै पनि अवस्थामा बन्द नहुने 

सिइओ साउदले सार्वजनिक सवारी सधान नचलेको, बैंक पनि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ने र निजी सवारीसधान जोर–बिजोर प्रणालीबाट चलाउँदा आवागमनमा पर्ने समस्यालाई ध्यान दिएर परीक्षणका रूपमा राखिएको एक घण्टा हटाइएको बताए  । उनले महामारीको स्थिति र कारोबार कसरी अगाडि बढ्छ भन्ने कुरालाई हेरेर मात्रै परीक्षणका रुपमा राखिएको समयलाई जारी गर्ने या नगर्ने निर्णय हुने बताए । 

उनले दोस्रो बजार अब कुनै पनि अवस्थामा बन्द नहुने दाबीसमेत गरे । दोस्रो बजारमा प्लेटफर्म उपलब्ध नभएर बजार बन्द हुने अवस्था नआउने उनको भनाइ छ ।

नेपाल स्टक एक्सचेन्जले प्लेटफर्म उपलब्ध गराउने र लगानीकर्ताले सेयर कारोबार पछिको रकम अनलाइनमार्फत सजिलै भुक्तानी गर्न र बैंक खातामा भुक्तानी पाउन सक्ने व्यवस्था भएकाले समस्या नहुने साउदले बताए । 

प्रकाशित: १५ असार २०७७ १५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App