१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोरोना कहरमा किसान : कतै धान रोप्दै, कतै गोड्दै

आज असार १५ अर्थात धान दिवस

आज असार १५ अर्थात धान दिवस।  

वर्षेनी  रोपाइँ गरेर धान दिवस मनाउने चलन छ। यो वर्ष भने देशका अधिकाशं स्थानका किसानले असार १५ गते अगाडि नै रोपाइँ सकेका छन्।  भक्तपुर, ललितपुर लगायत देशका अधिकाशं किसानले रोपाइँ सकेका छन्। समयमै पानी परेकाले रोपाइँ सकिएको किसानहरूको भनाई छ।  

यतिबेला भक्तपुरका खेतमा किसानहरू धान गोड्न र मल हाल्न व्यस्त छन्। ‘धान गोड्ने बेला भइसक्यो’, साँगा, नर्लिङका किसान दिपक थापा भन्छन्, ‘पोहोरपरार त असार १५ पछि मात्र रोपाइँ सुरु हुन्थ्यो। तर यो वर्ष पानी परेकाले बेलैमा रोपाइँ सकियो।’  

बन्दाबन्दीका कारण मानिस घरमै थुनिएर फुर्सदिलो बनेका बेला पानी परेकाले समयमै रोपाइँ सकिएको उनले सुनाए।  

भक्तपुरका किसान खेतमा मलमा हाल्न र गोडमेलमा व्यस्त छन्। असार पहिलो साताबाट पानी पर्न सुरु गरेपछि मात्र रोपाइँको सुरसार हुन्थ्यो।  

‘यो वर्ष भगनावनले साथ दिए। धानमा मल हाल्ने बेला भइसक्यो’, भक्तपुरका मंगलबहदुर खोँजु भन्छन्, ‘कोरोना कहरबीच सबैको रोपाइँ सकिएको छ।’  

उनले गत वर्ष २५ रोपनीमा धान रोपेका थिए। यो वर्ष भने १७ रोपनीमा मात्र खेती गरेका छन्। आइतबार धानमा मल हाल्न व्यस्त थिए भक्तपुरका रुपक खत्री पनि। उनले पनि जेठ पहिलो सातामै रोपाइँ सके।  

‘यो वर्ष भग्वानले साथ दिए। समयमै पानी पारिदिए’, उनले भने, ‘कोरोना भन्दा पनि रोपाइँको चिन्ता थियो। अब ढुक्क भयौं।’

लकडाउनका कारण किसानले निकै सास्ती बेहोर्नु प¥यो। धानको मल र बीउ बजारमा पर्याप्त नहुँदा पनि समयमा ब्याड राख्न नपाएको किसानको गुनासो छ।  

‘सरकारले लकडाउन सुरु गर्याे। तर किसानका लागि बीउबिजनका लागि सोचेन। घण्टौं लगाएर बीउ र मल लिन जानु प¥यो’, अर्का किसान डोरबहादुर खत्री भन्छन्, ‘खेतमा धान हरियो भइसक्यो। अब यसलाई गोडमेल ग¥यो भने पुग्छ।’  

उनको दैनिकी खेतमा मल हाल्नमै वित्छ। उनलाई रोपाइँ गर्न निकै कठिन भयो। उचित सिंचाईको व्यवस्था नहुँदा आकाशको पानीको भरमा रोपाइँ गर्नु प¥यो।  

‘हामी किसान जहिले पनि दुःख पाउँछौं। कहिले धानको बीउ  पाइँदैन। कहिले मल पाइदैन। सधैं सास्ती बेर्होनु पर्छ’, उनले भने।  

सरकारले बेलैमा मल र विउको व्यवस्था समयमै मिलाई दिनुपर्ने किसानको माग छ।  

किसानहरू गाँजिदै गएको रोपो हेरेर दंग पर्छन्।  

‘धान रोपेपछि नकाटुञ्जेलसम्म एकछिन खेत छाड्न मिल्दैन’,भक्तपुरका अर्जुन थापा  भन्छन्, ‘अहिले आशलाग्दो विरुवा भएको छ। मौसमले साथ दियो भने राम्रो उत्पादन हुन्छ।’  

उनले आकाशे पानीको भरमा करिब १५ रोपनीमा रोपाइँ गरेका छन्। ‘खोइ कहिले आउने हो सिँचाइ’, उनले भने, ‘किसानलाई सधैं पानीकै चिन्ता हुन्छ। मल र बीउको चिन्ता हुन्छ।’  

नेपालमा मुख्यबाली धान भए पनि सिँचाइको पर्याप्त सुविधा नभएपछि अधिकांश किसानले आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । ललितपुर भक्तपुरका केहि सीमित जग्गामा मात्रै बोरिङको पानी र सतह सिँचाइमार्फत रोपाइँ हुने गरेको छ।

प्रकाशित: १५ असार २०७७ ०८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App