७ वैशाख २०८१ शुक्रबार
अर्थ

४७ वर्ष पुरानो धान रोप्दै किसान

विज्ञ भने नयाँ उन्नत जातको बीउ प्रयोग गरे १५ देखि २० प्रतिशत उत्पादन बढ्ने बताउँछन्।

फाइल तस्बिर

सरकारले उन्नत जातको बीउ प्रयोग गरेर कृषि उत्पादन वृद्धि गर्ने बताइरहँदा किसानले भने अहिले पनि ४७ वर्ष पुरानो धानको बीउ प्रयोग गरिरहेका छन्। तराईका अधिकांश जिल्लाका लगाइने मन्सुली जातको धान ४७ वर्ष पुरानो हो। यो धान कृषि अनुसन्धान परिषद् (नार्क) ले २०३० सालमा उन्मोचन गरेर सिफारिस गरेको थियो।  

धान धेरै फल्ने तराईमा अहिले पनि मन्सुली लगाइरहेको नार्कका वरिष्ठ वैज्ञानिक मनोज ठाकुरले बताए। ‘नयाँ उन्नत जातका धान सिफारिस भए पनि किसानसम्म पुग्न सकेको छैन,’ ठाकुरले भने, ‘किसानले ४७ वर्षपहिले सिफारिस गरिएको धान लगाइरहेका छन्।’

नयाँ उन्नत जातको बीउ प्रयोग गरे १५ देखि २० प्रतिशत धान उत्पादन बढ्ने विज्ञहरू बताउँछन्। तर पुरानो बीउ प्रतिस्थापन हुन सकेको छैन। धान उत्पादन वृद्धि हुन नसक्दा वार्षिक करिब ३० अर्ब रुपैयाँको चामल विदेशबाट आयात भइरहेको छ।  

तराईलाई मात्र नभएर मध्यपहाडी क्षेत्रलाई लक्षित गरी २०४४ सालमा नार्कले सिफारिस गरेको खुमल–४ जातको धान पनि अहिले प्रयोगमा छ। सीमित ठाउँमा नयाँ हाइब्रिड जातका धान लगाउन थालिएको छ। अधिकांश किसानले धानको पुरानो बीउ नै प्रयोग गरिरहेका छन्। मन्सुली, खुमलटारमात्र नभएर सावित्री धान पनि धेरै जिल्लामा लगाउने गरिएको छ। यो करिब ३५ वर्षपहिले सिफारिस गरिएको धानको जात हो।

किसानले नयाँ धानको बीउ नपाएका कारण पुराना जातका धान लगाउँदै आएका हुन्। धान विज्ञ भोलामान सिंह बस्नेत मुलुकको करिब ८५ प्रतिशत धान खेतीमा पुराना जातका बीउ प्रयोग भइरहेको छ। ‘१५ प्रतिशत मात्र नयाँ उन्नत जातको धान लगाइएको छ,’ उनले नागरिकसँग भने, ‘अधिकांश किसानले पुरानो बीउ लगाएका छन्।’ उन्नत बीउ प्रयोग गर्न सके १५÷२० प्रतिशत उत्पादन बढ्ने धान विज्ञ बस्नेत बताउँछन्। ‘पुराना बीउ प्रतिस्थापन गर्न नसक्दा धान उत्पादन बढ्न सकेको छैन,’ उनले भने, ‘नेपालको हावापानीसँग सुहाउने धेरै जातका नयाँ धान आए पनि सरकारले किसानसम्म पु¥याउन सकेन।’  

नार्कले नयाँ बीउ तयार गरे पनि किसानसम्म पु-याउन कृषि विभाग, बीउबिजन कम्पनी र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ। मुलुक संघीय संरचनामा गएपछि स्थानीय सरकारले यो काम गर्नुपर्ने नार्कका वैज्ञानिक ठाकुर बताउँछन्। ‘हाम्रो काम उन्नत जातको नयाँ बीउ तयार गर्ने हो,’ उनले भने, ‘उन्नत बीउले १५÷२० प्रतिशत उत्पादन बढ्छ। किसान पनि जागरुक हुनुप-यो।’

नार्कले पछिल्लोपटक कालो धान रजिस्टर गरेको छ। त्यसले दुई/तीन वर्षअघि राधा–१४, राधा–१३, हर्दिनाथ जातका उन्नत बीउ सिफारिस गरेको थियो। अहिले मन्सुली, खुमल–४, सावित्रीसहित लोकतन्त्र, राधा–४, राधा–१३, राधा–१०, मिथिला, तरहरा–१, चैते–२, चैते–४, चैते–५, चैते–६, स्वर्ण सब–१, हर्दिनाथ–१, हर्दिनाथ–२, हर्दिनाथ–३, सुक्खा–१, रामधान, लेकाली, माछापुच्छ«ेलगायत धानका जात धेरै प्रयोगमा छन्। नार्कले ३५ वटाभन्दा जातका धान सिफारिस गरेको छ। विगतमा चीन, भारतबाट धानको बीउ ल्याउने गरिएकोमा अहिले हाइब्रिडसमेत यहाँ तयार भएको छ।

उन्नत जातका धान बीउ प्रयोगमा ल्याउन नसकिएको कृषिका अधिकारी पनि स्वीकार गर्छन्। उत्पादन बढाउन उन्नत जातका धानको बीउ प्रयोगलाई बढावा दिन पहल भइरहेको कृषि विभागका निमित्त महानिर्देशक कञ्चनराज पाण्डेले बताए। ‘आगामी आवबाट संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा धानको स्रोत बीउ र उन्नत बीउ उत्पादनमा प्रोत्साहनमा अनुदान दिने नीति लिएकोे छ,’ पाण्डेले भने।  

पाण्डेका अनुसार तराई, मध्य पहाड र उच्च पहाडका लागि सूचित गरिएका खुला सिञ्चित र हाइब्रिड धानका जात लगाउन पहल भइरहेको छ। सुक्खा तथा अर्धसिञ्चित अवस्थालाई मध्यनजर राखी डुबान तथा सुक्खा सहन गर्न सक्ने केही धानका जात लगाउन विभागले अनुरोध गरेको छ। मौसमअनुसार बर्खे धान, चैते धान, भदैया धान, घैया धान र हिउँदे धान (बोरो) धान खेती गरिन्छ।

यो वर्ष ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित सोमबार सत्रौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ। धान उत्पादनमा वृद्धि गर्न बर्खे धानको उत्पादकत्व वृद्धि, चैते धानको क्षेत्र विस्तार तथा हिउँदे सिजनमा बाँझो क्षेत्रमा धान रोप्नुपर्ने विज्ञहरू बताउँछन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट धान बालीको विशिष्टीकृत उत्पादन क्षेत्र निर्धारण गरे उत्पादन बढाउने सरकारी तयारी छ।

सरकारले यो वर्ष पहिलोपटक धान लगाउनुअघि नै धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। मोटा धानको मूल्य प्रतिक्विन्टल दुई हजार सात सय ३५ रुपैयाँ, मध्यम धानको मूल्य दुई हजार आठ सय ८५ रुपैयाँ तोकिएको छ। सरकारले उत्पादन लागतका आधारमा मूल्य तोकेको हो। विगतमा धान काटेपछि मूल्य तोक्ने प्रचलन थियो।

चालु आव २०७६÷७७ मा १४ लाख ५८ हजार हेक्टर क्षेत्रफलबाट ५५ लाख ५० हजार मेट्रिक टन धान फलेको थियो। पोहोरका तुलनामा यो वर्ष धानको क्षेत्रफल र उत्पादनमा क्रमशः २.२० प्रतिशत र १.०५ प्रतिशत गिरावट आए पनि उत्पादकत्व १.२ प्रतिशतले बढेको छ। धान नेपालको प्रमुख खाद्यबाली हो। समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थान जुम्लाको छुमचौरमा तीन हजार ५० मिटर उचाइसम्म धानको खेती गरिन्छ। मुलुकमा खेती गरिने कुल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती हुन्छ। कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान २६.५० प्रतिशत छ। त्यसमा धानको योगदान १५.३५ प्रतिशत छ।

प्रकाशित: १४ असार २०७७ ०१:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App