१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

काठमाडौं महानगरको बजेट आकार बढ्यो, १६ अर्ब बजेट विनियोजन

करमा भारी छुट

काठमाडौं महानगरपालिकाले कोभिड १९ को संकटको बावजुत पनि आगामी आर्थिक वर्ष २०७७–०७८ को बजेटको आकार वृद्धि गर्दै १६ अर्ब ४२ करोडको बजेट विनियोजन गरेको छ । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले नगरसभाको सातौं अधिवेशनमा आगामी आवको बजेटमा चालु आर्थिक वर्षको भन्दा ९० करोड रुपैयाँ बढाएर बजेट विनियोजन गरेकी छन् । महानगरले चालु आर्थिक वर्षमा १५ अर्ब ५० करोडको बजेट विनियोजन गरेको थियो ।  

उपमेयर खड्गीले आगामी आवको लागि बजेट प्रस्तुत गर्दै महानगरले सवैभन्दा धेरै बजेट पूर्वाधार क्षेत्रमा विनियोजन गरेको बताइन । महानगरपालिकाले पूर्वाधार बिकास क्षेत्रका लागि ८ अर्ब  ४३ करोड ४३ लाख ७१ हजारको बजेट बिनियोजन गरेको छ । कुल बजेटको ५१.३४ प्रतिशत पूर्वाधार विकासमा विनियोजन गरेको छ ।  

महानगरले चालु आर्थिक वर्षमा भने पूर्वाधार विकासको लागि ६ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि एक  अर्ब ७८ करोड २७ लाख ५० हजार बिनियोजन गरेको छ । सामाजिक बिकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख बजेट छुटाएको छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि  ९६ करोड ३० लाख  बजेट छुटाएको छ । शसर्त अनुदान तर्फ २ अर्ब ५७ करोड ५१ लाख ५ हजार विकनियोजन गरेको छ ।  

महानगरले आगामी आवमा १६ अर्ब  ४२ करोड ७३ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ ।  जसमध्ये अन्तरिक श्रोतबाट कुल ६ अर्ब  ७६ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरेको छ । त्यसैगरी बाह्य श्रोततर्फ निशर्त अनुदानबाट एक अर्ब  ४२ करोड ४८ लाख ९५ हजार, शसर्त अनुदान बाट दुई अर्ब  ५७ करोड ५१ लाख ५ हजार, सामाजिक सुरक्षा भत्ता बापत  १ अर्ब २० करोड, जग्गा एकीकरण बाट ९६ करोड ८ लाख २६ हजार गरी कुल  ६ अर्ब  १६ करोड ८ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ । कुल आम्दानीमा नपुग हुने रकम  ३ अरब ५० करोड बैंक मौज्दातबाट व्यहोर्ने महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ ।  

महानगरले आन्तरिक स्रोतबाट महानगरपालिकाले ६ अर्ब ७६ करोड ६५ लाख आन्दानी गर्ने लक्ष्य लिएको छ ।  जस अन्तर्रगत प्रमुख स्रोतका रुपमा रहेको बहाल करबाट १ अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ । त्यसैगरी सम्पत्ति करबाट ८० करोड उठाउने लक्ष्य लिएको छ । त्यसैगरी  व्यवसाय करबाट ४० करोड, विज्ञापन करबाट ६ करोड असुली गर्ने लक्ष्य पनि महानगरपालिकाले लिएको छ  । 

शुल्क आयबाट १ अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ । कवाडी करलगायतबाट पनि महानगरपालिकाले आम्दानी गर्ने लक्ष्य लिएको छ । महानगरले कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंग भवन निर्माण, पर्यटन पदमार्ग बिकास, कोटेश्वर तीनकुनेमा बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, सार्बजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, शहरी यातायात ब्यबस्थापन जस्ता कार्यक्रमहरूलाई बजेटमा प्राथमिकतामा राखिएको छ ।  

कर बक्यौतामा लाग्ने जरिवानामा पूर्ण छुट  

महानगरले कोभिड–१९ को प्रभावका कारण करदाताहरूबाट असुल हुन बांकी रहेको आर्थिक वर्ष २०७६–०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पुरै छुट दिने घोषणा गरेको छ । आगामी आवको पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक वर्षमा लाग्ने सम्पत्ति करमा दश प्रतिशत छुट दिने जनाएको छ । 

‘घर जग्गा कर वा सम्पत्ति करको बक्यौताको हकमा त्यस्तो छुट दिइने छैन,’ आज प्रस्तुत आर्थिक विधेयकमा भनिएको छ, ‘सर्वसाधारणहरूको सवारी साधन पार्किङ प्रयोजनका लागि व्यवसायिक रुपमा निर्माण गरिने भवनको हकमा भवन निर्माण सम्पन्न भएको मितिले ५ वर्षसम्म सम्पत्ति कर छुट हुनेछ ।’

होटल तथा पर्यटन क्षेत्रलाई सम्पति करमा भारी छुट  

महानगरपालिकाले कोभिड–१९को प्रभावलाई ध्यानदिदैं होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गरी होटल, रिसोर्टका नाममा घर जग्गा भई वा लिजमा लिई होटेल, रिसोर्ट निर्माण गरी सञ्चालन भएको करदाताको हकमा आर्थिक वर्ष २०७६/७७ सम्मको घरजग्गा कर÷सम्पत्ति कर चुक्ता गरेमा आर्थिक वर्ष २०७७/७८ को सम्पत्ति करमा थप ७५ प्रतिशत छुट दिने घोषणा गरेको छ । २०७७ पुस मसान्तभित्र सम्पती कर बुझाएमा हुने दश प्रतिशत छुट समेत जोड्ने हो भने होटल, रिसोर्ट क्षेत्रलाई ८५ प्रतिशत सम्पति करमा छुट हुन आउँछ ।  

वार्षीक बहाल करमा १० प्रतिशत

महानगरले घरभाडामा बस्ने नगरबासीलाई परेको प्रभावलाई मूल्यांकन गर्दै कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक वर्ष २०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएको खण्डमा वार्षीक बहाल करमा दश प्रतिशत छुट गर्ने भएको छ ।

‘तर, आर्थिक वर्ष २०७६/७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाए बापतकोबहाल कर छुट नलिई चुक्ता गरिसकेका करदाताहका हकमा कोभिड–१९ का कारण कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरेमा आर्थिक वर्ष २०७७÷७८ मा बुझाउनुपर्ने वार्षीक बहाल करमा दश प्रतिशत छुट दिई बहाल कर मिलान गरिनेछ,’ आर्थिक विधेयकमा उल्लेख गरिएको छ ।   .

व्यवसाय करमा ५० प्रतिसतसम्म छुट

काठमाडौँ महनगरपालिकाले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१ रा लागि नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीका कारणले काठमाडौं महानगरपालिका क्षेत्रमा ब्यापार व्यवसाय गरी बस्ने करदाताहरूलाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा लाग्ने ब्यवसाय करमा होटल, पर्यटन तथा मनोरन्जन क्षेत्रसंग सम्बन्धित व्यवसायीहरूले तिर्ने व्यवसाय करमा पचास प्रतिशत र अन्य सबै ब्यवसायीहरूले तिर्ने ब्यवसाय करमा बीस प्रतिशत छुटको व्यवस्था गरेको छ ।

प्रकाशित: १० असार २०७७ १५:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App