१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

होटल क्वारेन्टिनमा साढे तीन सय मात्र

विदेशबाट हालसालै फर्केका नेपालीलाई १४ दिने क्वारेन्टिनमा राख्न करिब पाँच दर्जन होटल तयार रहे पनि बस्नेको संख्या भने ज्यादै न्यून देखिएको छ। कोभिड १९ पछि घाटामा गएको व्यवसायमा केही राहत हुन्छ कि भनेर जोखिम मोलेरै क्वारेन्टिनको लागि होटल दिन तयार भएका व्यवसायीहरु उल्लेख्य संख्यामा ग्राहक नआएपछि अनिच्छुक देखिन थालेका छन्।  

होटल संघ नेपाल (हान) का महासचिव साधन शाक्यका अनुसार उपत्यकाका करिब पाँच दर्जन होटलहरु क्वारेन्टिनका लागि तयार रहेकामा चार हजारभन्दा बढी नेपाली विदेशबाट फर्किंदासम्म तीन सय ५० जना जति मात्रै होटल क्वारेन्टिनमा बसेका छन्, त्यो पनि थोरै दिन।  

घर जान डराउनेहरु मात्रै होटलमा बस्ने गरेको भन्दै महासचिव शाक्यले आवासीय क्षेत्रमा रहेका त्यस्ता होटललाई स्थानीयले समेत विदेशबाट फर्केका व्यक्ति नराख्न दबाब दिने गरेको बताए।

होटल क्वारेन्टिनमा बसेकाहरु परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर जाने गरेका छन्। सरकारले भने होटल क्वारेन्टिनमा १४ दिन अनिवार्य बस्नुपर्ने मापदण्ड तोकेको छ। भने जति व्यवसाय नपाउने कारणले पनि होटल व्यवसायीहरु जोखिम मोलेर विदेशबाट आएकालाई राख्न अनिच्छुक देखिएका हुन्।  

सरकारले अनुमति दिएयता सोमबारसम्म विभिन्न मुलुकबाट ६१ सयभन्दा बढी नेपाली फर्केका छन्। सरकार तथा विमान कम्पनीहरुले विदेशबाट आउनेलाई पिसिआर परीक्षणपछि मात्रै विमानमा प्रवेश गराउने भने पनि धेरैजसो आरडिटी समेत नगरी आइरहेका छन्।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विदेशबाट आउन चाहने नेपालीले पाँच दिनपहिले गरिएको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य ल्याउनुपर्छ। तर वाग्मती प्रदेशको लागि तोकिएको होल्डिङ क्षेत्रमा उडानयोग्य भनेर सामान्य परीक्षणको भरमा पठाइएका नेपाली राखिएको पाइएको छ। यस्ता होल्डिङ सेन्टरमा केही घन्टा राखेर उनीहरुलाई होटल क्वारेन्टिन वा सम्बन्धित प्रदेश पठाउने गरिएको छ।

विदेशमा अलपत्र नेपालीलाई पिसिआर परीक्षणबिनै दूतावासको सिफारिसमा पठाइएको होलिङ सेन्टरको अवस्था बुझ्न गएका होटल संघका प्रतिनिधिले फेला पारेका छन्।  

परीक्षण रिपोर्टबिनै आएका व्यक्तिलाई सेवा दिन होटलहरु अनिच्छुक रहेको संघको भनाइ छ। वाग्मती प्रदेशका लागि तोकिएको बसुन्धारास्थित यति पार्टी प्यालेसको अवस्था बुझेर फर्केका होटल संघका एक अधिकारीले भने, ‘पिसिआर परीक्षण नगरी आएर होटलमा बस्न खोज्ने पनि छन् तर हाम्रा सदस्यहरु त्यस्ता व्यक्तिलाई राख्न तयार छैनन्।’

पिपिआर नेगेटिभ भएकाहरु होटलमा नबसेको भन्दै ती प्रतिनिधिले परीक्षण रिपोर्ट नआउन्जेलमात्र होटलमा बस्ने गरेकाले रोग सार्न मात्रै आए जस्तो देखिएको बताए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतम कुनै जहाजले परीक्षण नगरेको व्यक्ति बोकेर आए त्यसमा भएका सबै यात्रुलाई क्वारेन्टिनमा राख्नुपर्ने मापदण्ड रहेको बताउँछन््। ‘त्यस्ता व्यक्तिलाई पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आए होम क्वारेन्टिनमा र पोजेटिभ आए आइसोलेसनमा राख्ने सरकारी मापदण्ड छ,’ उनले भने।

सरकारले विदेशी वायुसेवासहित स्वदेशी हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सबाट आउन अनुमति दिएको छ। नेपाल एयरलाइन्स र हिमालयले भने परीक्षण भएकालाई मात्रै ल्याएको बताएका छन्।

सरकारले विदेशबाट आउने नेपालीले हवाई भाडा र होटलको क्वारेन्टिन खर्चसमेत आफैंले बेहोर्नुपर्ने नियम लगाएपछि हानले पर्यटकदेखि चारतारे होटलसम्मको खाना र बासको खर्च सार्वजनिक गरेको थियो।

हानले चारतारेमा प्रतिदिन व्यक्ति र दम्पतीका लागि क्रमशः आठ र ११ हजार, तीनतारेमा ६ र १० हजार, दुईतारेमा पाँच र ७ हजार, एकतारेमा चार र ५ हजार रुपैयाँ खर्च तोकेको थियो। पर्यटक स्तरका होटलमा बस्ने व्यक्तिका लागि दैनिक दुई हजार र दम्पतीका लागि ३५ सय रुपैयाँ शुल्क तोकेको थियो।

प्रकाशित: १० असार २०७७ ०३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App