२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भ्रमण वर्ष लक्षित लगानी, बालुवामा पानी !

‘नेपाल भ्रमण वर्ष २०२०’ लक्षित लगानीले पूर्णता नपाउँदै खेर जाने अवस्थामा

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड । फाइल तस्बिरः सन्तोष/नागरिक

२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित सरकारले सन् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ मनाउने निर्णय तीनवर्ष अघि गरेको थियो । वर्षमा मुस्किलले १० लाख विदेशी पर्यटक भित्रिरहेको बेला सरकारले दोब्बर संख्यामा पाहुना भित्र्याउने घोषणा गर्दा व्यवसायी खुसीले हौसिए । पर्यटन व्यवसायीहरू नेपाल भ्रमण वर्षमा प्रयाप्त पर्यटक आउने भनेर खुसी मात्र भएनन् की सरकारले आव्हान गरे बमोजिम व्यवसायमा लगानी थप्न तयार पनि भए ।  

सरकारको आव्हानसँगै व्यवसायीले पर्यटनका पूर्वाधारमा लगानी थप्ने क्रम चलिरहेको थियो । कतिपयले ठुलो लगानी गरेर व्यवसायलाई संचालन योग्य पनि बनाईसकेका थिए । केहीले धमाधम लगानी भित्र्याउने योजना बुनिसकेका थिए । तर, त्यहीबेला विश्वमै महामारी निम्त्याउने गरि कोरोना भाईरसको संक्रमण सुरु भयो । संक्रमण फैलिन थालेसँगै पर्यटन क्षेत्र ठप्प हुन पुग्यो । कोरोनाकै कारण झन्डै ६ महिनादेखि पर्यटन क्षेत्र ठप्प छ ।

सरकारको आव्हानलाई मानेर नेपाल भ्रमण वर्ष २०२० लक्षित गर्दै व्यवसायीले होटल, रेस्टुरेन्ट, ट्राभल, प्याराग्लाइडिङ, साहसिक गतिविधि, होमस्टे, केवलकार, हेलिकप्टरमा लगायतमा अर्बौ रकम लगानी गरेका थिए । तर, आम्दानी त के लगानी समेत पुरा गर्न नपाउँदै कोरोनाको मारमा थिचिएको व्यवसायी बताउँछन् । भ्रमण वर्ष लक्षित लगानी बालुवामा पानी हाले सरह हुने जोखिम बढेको व्यवसायीको भनाई छ ।  

प्रयाप्त विदेशी पर्यटक आउने र कमाई गर्ने आशाका साथ लगानी गरी बसेका पर्यटन व्यवसायी अहिले के र कसो गरौं भन्ने दोधारमा परेका छन् । ‘सरकारले भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने भनेर तयार गर्न भनेपछि लगानी गर्यांै । तर, विश्व नै ठप्प हुनेगरि भाईरसको संक्रमण फैलियो,’ पर्यटन व्यवसायी सोमबहादुर थापाले भने, ‘संक्रमण फैलनुमा सरकारको दोष त होईन । तर मारमा हामी व्यवसायी पर्यौं ।’ वर्षमा मुस्किलले १० लाख विदेशी पर्यटक भित्रिएको बेला सरकारले आव्हान गर्दै दोब्बर संख्यामा पाहुना आउने भनेपछि व्यवसायी हौसिएर लगानीमा उत्रिएको उनले बताए । ‘व्यवसायी निकै नै हौसिएका थियौं । तर, एकाएक लगानी नै डुब्ने गरि जोखिमपूर्ण अवस्था आइप¥यो,’ उनले भने, ‘नेपाल भ्रमण वर्ष २०२० लक्षित लगानीले पूर्णता नपाउँदै खेर जाने अवस्थामा पुगेको छ ।’

थापा अध्यक्ष रहेको यात्री बस प्रालिले पछिल्लो डेढवर्षमा नयाँ र सुविधासम्पन्न गाडि भित्र्याउन थालेको थियो । दुईठुला आकारका सुविधासम्पन्न बस त कोरोनाका कारण आन्तरिक लकडाउन सुरु हुनु केहीदिन अघिमात्र भित्र्याइएको थापाले बताए । ‘नेपाल भ्रमण वर्षमा प्रयाप्त पाहुना आउने भनेरै हामीले करिब तीन करोड रुपैयाँ लगानी गरेर कम्पनि संचालनमा ल्याएका थियौं,’ थापाले भने, ‘दुईवटा बस त लकडाउन सुरु हुनुभन्दा केहीदिन अघि मात्र भित्रिएका थिए । ती बसलाई एकपटक पनि व्यावसायिक रुपमा चलाउन पाएका छैनौं ।’

‘नेपाल भ्रमण वर्ष २०२० लक्षित व्यवसायीक लगानी त गर्यौं । संघीय र प्रदेश सरकारले २० लाख पर्यटक भित्र्याउने आश्वासन दिँदा हामी सबै हौसियांै,’ उनले भने, ‘तर, सरकारले योजना बनाए बमोजिम हुन सकेन । यसमा सरकारको दोष भन्न मिल्दैन । सरकार, व्यवसायी र सबैले आंकलन गरेभन्दा फरक अवस्था आइपर्यो । यसको बढी मार व्यवसायीले भोग्नुपर्यो ।’  

सरकारले लगानीका लागि आव्हान गरेको बेला लगानी गरेकाहरू अब त्यो डुब्ने अवस्थामा पुगेको उनले बताए । ‘हिजो आव्हान गरेको बेला लगानी गरेकाले अब नोक्सानमा पुगेको त्यस्ता व्यवसायीलाई बचाउने पनि सरकारको दायित्व हो । व्यवसायीलाई बचाउने हो भने सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्छ,’ थापाले भने, ‘तर सरकारले त्यस्तो संकेत देखाएको छैन ।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष समेत रहेका थापाका अनुसार भ्रमण वर्ष २०२० लक्षित गरेर व्यवसायीले टुर र ट्राभलका लागि सुविधासम्पन्न गाडी भित्र्याउने, होटल र रेस्टुरेन्ट सजाउनेदेखि क्षमता विस्तार गर्ने काम गरेपनि अहिले अप्ठेरोमा परेको उनले बताए । ‘कसैंले आंकलन नै नगरेको अवस्था आइपर्यो । कोरोनाले हामीलाई मात्र नभई विश्वलाई नै झुक्यायो । तर, यसको पीडित व्यवसायी भयौं,’ उनले भने, ‘व्यवसायी बचाउने र पूँजी पलायन हुन नदिने हो भने सरकारले सघाउनुपर्छ । अहिले पूँजी पलायन भयो भने भविष्यमा लगानी भित्रिन सक्दैन ।’  

सरकारले आव्हान गरे बमोजिम ठुलो लगानी थपेको ल्याण्डमार्क होटलका संचालक ओमप्रकाश पाण्डेले पनि कोरोनाका कारण अप्ठेरो अवस्था आईपरेको बताए । ७३ कोठाको ल्याण्डमार्क होटल नेपाल भ्रमण वर्ष लक्षित लगानी गरेर १०१ कोठाको पु¥याइएको थियो । क्षमता विस्तार गर्ने मात्र नभई पुराना भवन भत्काएर पुरै नयाँ स्वरुपमा होटल अपग्रेड गर्दा झन्डै ४५ करोड रुपैयाँ लगानी थप गरेको पाण्डेले बताए । ‘सरकारले लगानीका लागि व्यवसायीलाई हौस्यायो । कम संख्यामा पाहुना आइरहेको बेला भ्रमण वर्षले प्रयाप्त पाहुना आउने भन्दा हामी सबैले विश्वास गर्यौं,’ पाण्डेले भने, ‘तर, सरकारी लक्ष्य र योजना अनुसार हुन सकेन । हामी त मारमा पर्यौं नै सरकारी योजना पनि असफल भयो । कोरोनाको कहरमा विश्व नै पर्यो ।’  

नेपाल भ्रमण वर्षमा सरकारी लक्ष्य अनुसार २० लाख पाहुना नआइहाले पनि अघिल्ला वर्षको आगमन बढ्नेमा व्यवसायी आशावादी थिए । तर, एकाएक कोरोनाको मारमा परेको उनले बताए । ‘पर्यटक आउलान भनेर नै ४५ करोड रुपैयाँ लगानी बढायौं,’ उनले भने, ‘तर, तयार भएको होटल संचालन गर्न बेलामा एकाएक मारमा परियो । अब सरकारले व्यवसायीलाई साथ दिएन भने समस्या पर्नेछ । लगानी नै जोखिममा पर्ने अवस्था छ ।’

सराङकोटमा केही समय अघि सुविधासम्पन्न सराङकोट माउन्टेन लज तयार भएको छ । यो लजमा होटल बाराही समुह अन्तर्गतको लगानी छ । बाराहीले लगानी गरेको यो लजमा २८ डिलक्स र २ सुइट सहित ३० कोठा छन् । लजमा ३५ करोड रुपैयाँ बढी लगानी छ । ‘२०२० कै २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा साथ दिने क्रममा हामीले पुर्वाधार तयार पारिसकेका थियौ,’ बाराहीका महाप्रबन्धक राजकुमार केसीले भने, ‘तर, लज सुरु गर्न थालेका मात्र के थियौ, एकाएक कोरोनाको मारमा थिचियौं ।’  

सरकारले आव्हान गरे बमोजिम लगानी गरेका व्यवसायी अब त्यो लगानी कसरी बचाउने भन्नेमा चिन्तित रहेको केसीले बताए । ‘व्यवसायीको ठुलो लगानि नेपाल भ्रमण वर्ष लक्षित थियो । तर, एकाएक मारमा परेका छन,’ केसीले भने, ‘सस्तो ब्याजदरमा ऋण दिलाउने हो भने मात्र व्यवसाय जोगिन्छन । नत्र व्यवसायी पनि धरापमा पर्नेछन् ।’ सरकार र व्यवसायी बसेर पर्यटन क्षेत्रको लगानी सुरक्षित गर्ने उपायबारे छलफल गर्नुपर्ने उनले बताए ।  

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा पनि भ्रमण वर्ष लक्षित ठुलो आकारको लगानी अहिले जोखिममा परेको बताउँछन् । संघीय सरकारले नेपाल भ्रमण वर्ष, प्रदेश सरकारले आन्तरिक, छिमेक र अन्तर्राट्रिय भ्रमण वर्ष मनाउने र त्यसले प्रयाप्त पर्यटक भित्रिने भनेपछि व्यवसायी लगानीका लागि हौसिएपनि कोरोनाको मारमा परेको उनले बताए । ‘पर्यटन क्षेत्र व्यापक हुने भनेर सबैतिर चर्चा भयो । पुराना पुर्वाधारले नपुग्ने भनेर मन्त्रीहरूले नै लगानी थप्न हौसाए । स्थानीय देखि संघीय सरकारले लगानीका लागि व्यवसायीलाई उक्सायो, व्यवसायी पनि त्यसैमा हौसिए,’ सापकोटाले भने, ‘तर, एकाएक लगानी नै जोखिममा पर्नेगरि कोरोना मार भित्रियो ।’  

कोरोनाको मारमा परेको पर्यटन छिटै रिकभर भएन भने यो लगानी पछि डुब्ने जोखिममा पुगेको सापकोटाले बताए । ‘पुरानो लगानीले धेरैथोर कमाई गरे होला तर, नयाँ लगानी त पुरै जोखिममा छ,’ सापकोटाले भने । सरकारको आव्हानलाई व्यवसायीले पत्याएकोले अब सरकारले व्यवसायी बचाउनका लागि ध्यान दिनुपर्ने उनले बताए । ‘भ्रमण वर्ष लक्षित अर्बाै लगानी पर्यटनमा भएको छ । यो लगानी निकै नै जोखिममा छ,’सापकोटाले भने, ‘अब बचाउने जिम्मा सरकारको हो । व्यवसायी जोगिन सकेनन भने पलायन हुँदा झनै अप्ठेरो अवस्था आउनेछ ।’ 

प्रकाशित: ८ असार २०७७ ०९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App