९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटन व्यावसायः ‘निल्नु न ओकल्नु’

लेकसाइडका सटरको महँगो भाडादर

पोखरा लेकसाइडको बाराहीचोकमा घरका सटर। तस्बिरः सन्तोष पोखरेल/नागरिक

कोरोना भाइरस संक्रमणको कारण पर्यटन व्यावसायी समस्या खेप्न थालेको झन्डै ६ महिना लागेको छ। चीनमा संक्रमण सुरु भएपछि यहाँका व्यावसायीले मार खेप्न थालेका थिए। कोरोनाका कारण नेपालमा ढिलागरि लकडाउन सुरु भए पनि विदेशी पाहुँनाको आगमन घट्न थालेको चीनमा संक्रमण सुरु भएदेखि नै थियो। विश्वका अन्य मुलुकमा संक्रमण फैलँदै गर्दा यहाँ पर्यटक आगमन निकै नै खस्किसकेको थियो।

कोरोना भाइरसका कारण सबैखाले व्यावसायीले मार खेपेका छन्। त्यसमा पर्यटन क्षेत्रले खेपेको मार अझै बढी छ। कोरोनाका कारण पर्यटनका ठूला व्यावसायी पनि मारमा छन्। त्यसमा अझ बढी मार सानालाई परेको व्यावसायीले बताएका छन्। लेकसाइडमा महँगो भाडा तिरेर व्यावसाय गरेका साना व्यावसायी अहिले के र कसो गरांै भन्ने अवस्थामा पुगेका छन्। अझै कम्तिमा दुईवर्ष पर्यटक आगमन नहुने आँकलन गरेका व्यावसायी लेकसाइडको ब्यापारलाई निरन्तरता दिन कठिन रहेको बताउँछन्।  

मासिक भाडा तिर्न सक्ने अवस्था समेत नहुँदा झनै अन्योल थपिएको उनीहरुको भनाइ छ। कतिपय व्यावसायीले मासिक खर्च बेहोर्न सक्ने अवस्था नहुँदा व्यावसाय नै बन्द गर्ने सोँचमा पुगिसकेको बताएका छन्। महंगो भाडा तिरेर सटरमा व्यावसाय संचालन गरेका साना व्यावसायीलाई अहिले व्यावसाय नै ‘निल्नु न ओकल्नु’ भएको छ। अझै लामो समय व्यावसाय संचालन नहुने पक्का जस्तै देखेका साना व्यावसायी के र कसो गर्ने भन्ने दोधारमा छन्। ‘मासिक ५० हजार रुपैयाँमा एउटा सटर भाडामा लिएर व्यावसाय गरेको छु। 

तर, लकडाउनपछि पुरै व्यावसाय बन्द छ,’ एकजना व्यावसायीले भने, ‘अब भाडा नै कसरि तिर्ने भन्ने अन्योल छ। अहिले त त्यही व्यापार नै निल्नु न ओकल्नु भइसक्यो।’ ती व्यावसायीका अनुसार चीनमा संक्रमण सुरु भएपछि नेपाल आउने चिनियाँ पर्यटक घट्न थालेका थिए। त्यसले गर्दा चिनियाँ पर्यटक लक्षित व्यावसाय खस्कन थालेको थियो। भाइरस संक्रमण विश्वभर फैलिँदै गर्दा अरु मुलुकका पर्यटकको आउजाउ पनि रोकियो र आन्तरिक लकडाउन सुरु हुँदासम्म व्यावसायीले नोक्सान खेपेको लामो समय भसकेको उनले बताए।  

‘अझै दुईवर्ष लेकसाइडको व्यापार हुने छाँटकाँट छैन,’ उनले भने, ‘मासिक ५० हजार रुपैयाँको दरले चैतपछिको भाडा मात्र दुईलाख रुपैयाँ पुग्यो। आम्दानी भने शून्य छ। अब ब्यापार नै बन्द गर्नुको विकल्प भएन। भाडा तिर्न सक्ने अवस्था छैन।’ अझै एकमहिना पर्ख र हेरको अवस्थामा बसेको बताउँदै उनले भने, ‘एक महिनापछि पनि व्यापार गर्ने अवस्था देखिएर भने पसल नै बन्द गर्नुको विकल्प छैन। किनकी महँगो भाडा तिरेर लेकसाइडको सटर लिएर बस्ने अवस्था भएन,’ उनले भने।

व्यावसायीका अनुसार लेकसाइडका अग्रभागका भवनका सटरको मासिक भाडा कम्तिमा ५० हजार रुपैयाँ छ। लामो समयदेखि व्यापार गर्नेले केही कम भाडा तिरेपनि पछिल्लो एक–दुईवर्षदेखि व्यापार थालेका व्यावसायीले महँगो भाडा तिरेका थिए। मासिक भाडा मात्र नभई लाखौं रकम बिना ब्याजको अग्रिम डिपोजिट राख्नुपर्दा व्यावसायी झनै बढी मारमा रहेको व्यावसायीले बताए। ‘व्यक्तिगत सहमतिमा लाखौं रुपैयाँ घरधनीले अग्रिम डिपोजिट लिएका हुन्छन्। मासिक घरभाडा निकै नै महँगो छ,’ पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष समेत रहेका पर्यटन व्यावसायी सोमबहादुर थापा भन्छन, ‘अहिले मासिक भाडा तिर्न सक्ने अवस्था साना व्यावसायीलाई छैन। एकदुई महिनाको कुरा मात्र भएन।’  

थापाका अनुसार पर्यटनमा आकर्षण बढ्दै जाँदा पछिल्लो समय लेकसाइडका भवनका सटरको भाडा निकै नै महंगो बनेको थियो। पर्यटनमा आम्दानी देखेर व्यावसायीले महंगो भाडा तिरेर सटरमा व्यावसाय गरेका थिए। ‘पहिल्यै कमाएका व्यावसायीलाई त केही समय सहज होला। नयाँ व्यावसायीलाई भने व्यापार नै निल्नु न ओकल्नु भएको छ’ थापाले भने, ‘अहिले त १० प्रतिशत भाडा तिर्न सक्ने अवस्था छैन।’ महिनौं नोक्सान खेप्नुपरेपछि अहिले कतिपय घरधनिले भने साना व्यावसायीको सटरको भाडा छुट गरेका छन् भने केहीले गरेका छैनन्।  

‘पर्यटन बाहिरबाट आएका पाहुनाबाट हुने व्यावसाय हो। बाहिरबाट हेर्दा धेरैले कमाएजस्तो देखिन्छ। तर, सानो व्यावसाय गर्नेले त्यो आकारमा कमाइ गरेका छैनन्,’ थापाले भने, ‘महंगो भाडादर, ठूलो आकारको अग्रिम डिपोजिट, लगानी गर्दा व्यावसायीले छोटो समयमा नाफा कमाइहाल्ने अवस्था रहन्न। त्यसैले लेकसाइडका सबै व्यावसायीले नाफा लिएका छन् भन्न मिल्दैन।’ थापाका अनुसार एक–दुईवटा सटर भाडामा लिएर व्यावसाय गरेका व्यावसायी बढी मारमा छन्। लेकसाइडका घरका ९५ प्रतिशत सटर अरु व्यावसायीले भाडामा लिएर संचालन गरेका छन्।  

महिनौं नोक्सान खेपेको व्यावसायमा मासिक भाडा छुट गराउन व्यावसायीले अपिल पनि गरेका हुन्। तर, बैंकले सहुलियत ब्याजदरमा ऋण दिने र ऋणको किस्ता तिर्ने समय बढाइदिने हो भने घरमुलीलाई पनि भाडामा छुट दिन सहज हुने उनले बताए। ‘कतिपयले महँगो ब्याजदरमा ऋण लिएर घर बनाएका हुन्। घरमुलिले सहुलियत पाएमा भाडामा व्यावसाय गर्नेलाई पनि छुट दिन सक्छन, नत्र समस्या छ,’ थापाले भने।  

अर्का पर्यटन व्यावसायी केदारनाथ शर्मा साना व्यावसायी जोखिममा रहेको बताउँछन्। उनका अनुसार लेकसाइडका सटरको महँगो भाडादर बाहेक अग्रिम डिपोजिट बापत ठुलो रकम तिनुपर्छ। डिपोजिट राखिएको रकमको ब्याज समेत व्यावसायीले पाउँदैनन। सबैभन्दा थोरै, एउटै सटरको मासिक भाडा ५० हजार रुपैयाँ रहेको उनले बताए। लेकसाइडका गौरिघाट देखि हल्लनचोकसम्म भवनका सटरको अधिक महंगो छ। मासिक ५०–५५ हजार रुपैयाँ भाडा भएपनि कर तिर्नुपर्ने हुँदा कम भाडादर देखाउने गरिएको शर्माले बताए। लेकसाइडका अधिक सटरमा कस्मिरि व्यावसायीले व्यवसाय संचालन गरेको र उनीहरुले मागेजति भाडा तिर्ने हुँदा त्यसको मार अरुले खेपेको शर्माले बताए। ‘कस्मिरि व्यावसायी महँगो भाडा तिर्न तयार हुन्छन्, त्यसैले सटर भाडामा दिँदा पहिलो प्राथमिकता उनीहरुलाई दिइन्छ,’ उनले भने, ‘त्यसको मार अरु व्यावसायीले खेपेका छन्।’ साना र मध्यम वर्गले पर्यटन मात्र भनेर बस्दा अब थेग्न सक्ने अवस्था नरहेको उनले बताए।  

हाल चल्तीमा रहेको भाडादरमा कम्तिमा ५० प्रतिशत छुट हुनुपर्ने व्यावसायीको माग छ। घरभाडा नघट्ने हो भने व्यावसायी नै पलायन हुने र नयाँ व्यावसायी तत्काल आउने अवस्था नहुँदा घरमुलि समेत मारमा पर्ने उनले बताए। व्यावसायीले पोखरा पर्यटन परिषद् र प्रदेश सरकारलाई घरभाडा छुटमा लविङ गरिदिन आग्रह गरेको शर्माले बताए।  

पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष चिरञ्जीवी पोखरेलले सहज रुपमा व्यावसाय संचालन गर्दा घरधनी र व्यावसायीबीच व्यक्तिगत सहमतिमा कारोबार भए पनि अहिलेको अवस्था फरक रहेको बताए। ‘घरधनी र व्यावसायीबीच समझदारी कायम हुन सकेन र घरधनीले मेरो गोरुको बाह्रै टक्का भनेर भाडा छुट नदिने हो भने पर्यटन क्षेत्र झनै ओरालो लाग्नेछ,’ पोखरेलले भने, ‘हिजोजस्तो महँगो भाडा तिरेर व्यावसायी बस्ने अवस्था रहन्न। नयाँ र अनुभव नै नभएका व्यवासायी आएर पनि यहाँ व्यावसाय गर्ने छैनन्।’ पर्यटन क्षेत्रलाई छिटो गरि उकास्ने हो भने सबैको मेहनत चाहिने उनले बताए।  

व्यावसायीलाई पलायन हुन नदिन कम्तिमा लकडाउन अवधिको आपसी समझदारिमा र लकडाउनपछि घरभाडामा कम्तिमा ५० प्रतिशत छुट दिनुपर्ने माग राखेको उनले बताए। ‘सरकारले घरधनीलाई दिनुपर्ने सहुलियत दिनुपर्छ। व्यावसायीले पनि छुट पाउनुपर्छ,’ उनले भने, ‘नत्र व्यावसायी पलायन हुनेछन्। व्यावसायी पलायन भए भने त्यसको मार घरधनीले पनि खेप्नुपर्नेछ।’ 

प्रकाशित: ७ असार २०७७ ०७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App